२०७८ असोज २० गते १५:५४ विकासन्युज
काठमाडौं । दशैंका लागि काठमाडौंबाट बाहिरिने यात्रुहरुले टिकट नपाएको गुनासो गरेका छन् । सरकारले दशैंका लागि भन्दै असोज ११ गतेदेखि अग्रिम टिकट बुकिङ खुला गरेपनि यातायात व्यवसायीले भने टिकटको कृतिम अभाव सिर्जना गरेको बुझिएको छ ।
अहिले काठमाडौंबाट गाउँ फर्किनेहरुले टिकट नै नपाएको गुनासो गरिहरेका छन् । टिकट लिनका लागि नयाँ बसपार्क गोंगबुमा गएपनि काउन्टरका मानिसहरुले भने टिकट छैन भनेर फर्काउने गरेको गुनासो बढिरहेको हो ।
अहिले विशेष गरेर टाढाका रुटहरुमा टिकटका अभाव रहेको व्यवसायीहरुले बताइरहेका छन् । अहिले लामो रुटमा काम गर्ने यातायात व्यवसायीहरुको दुईटा छाता संगठन छन् । सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपाल र यातायात व्यवसायी राष्ट्रिय महासंघले काम गरिरहेका छन् ।
यी दुवै संस्थाले अहिले एकअर्कालाई कार्टेलिङ गरेको आरोप लगाइरहेका छन् । सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका एक प्रतिनिधिले योगेन्द्रनाथ कर्माचार्य अध्यक्ष र सरोज सिटौला महासचिव रहेको यातायात व्यवसायी राष्ट्रिय महासंघमा आवद्ध रहेका व्यवसायीहरुले टिकटमा कार्टेलिङ गरिरहेको बताए ।
ती व्यवसायीका अनुसार अहिले सो महासंघका प्रतिनिधिहरुको संलग्नतामा नै टिकटमा कार्टेलिङ भइरहेको हो । तर, सार्वजनिक यातायात केन्द्रिय महासंघ नेपालका महासचिव भरत नेपालले पर्याप्त मात्रामा टिकट रहेको बताउँछन् ।
‘गत वर्षको तुलनामा यस वर्ष न्यून संख्याले मात्र टिकट काटेका छन्, गत वर्षको तुलनामा यस वर्ष केही संख्यामा सिट बढ्छ, अभाव हुँदैन’, उनले भने, ।
व्यवसायीकै पहलमा दशैंका लागि अभाव नहोस् भनेर नै अग्रिम टिकटदेखि देशभर निर्वाध रुपमा जान पाउने व्यवस्था मिलाएको उनको भनाई छ ।
उनले काउन्टरका मान्छेले नै टिकट होल्ड गरेर अभाव फैलाएको हुन सक्ने आरोप पनि लगाए । ‘गाडी नै नभएका र राजनितीक पहुँचका भरमा सिमित व्यक्तिहरुले टिकटमा सिन्डीकेट गर्ने गरेका छन्, यो अहिले मात्र भएको हैन, पूरानै रोग हो, हामीले जति कुरा राख्दा पनि प्रहरी र प्रशासनबाट सुनुवाई भएन,’ उनले भने ।
उनले काउन्टरमा टिकट काट्ने मान्छेहरुको मिलोमोतोमा टिकट अभाव देखाउँदै महङ्गो मूल्यमा बिक्री गर्ने गरिएको बताए । कञ्चनपुर, धनगढी, गुल्मी, अर्घाखाँची, रोल्पा, प्युठान, सल्यान लगायतका जिल्लामा जानका लागि यात्रुले टिकट पाएका छैनन् । यातायात व्यवसायीले यात्रुको चाप हेरेर बसको संख्या बढाउने आश्वासन दिए पनि टिकट बुकिङ गर्न मानेका छैनन् ।
१७ हजारले काटे टिकट
काठमाडौंको गोङ्गबुस्थित नयाँ बसपार्कबाट दशैँका लागि घर जान १७ हजार यात्रुले अग्रिम बस टिकट बुकिङ गरेका छन् । नयाँ बसपार्क सञ्चालन गरेको लोत्से बहुउद्देश्यीय प्रालिको तथ्यांक अनुसार यात्रुले घटस्थापनादेखि अष्टमीसम्मका लागि अग्रिम टिकट काटेका हुन ।
गत वर्ष घटस्थापनाको अघिसम्म ६० देखि ७० हजार यात्रुले अग्रिम बस टिकट लिने गरे पनि यस वर्ष भने यात्रुको संख्यामा कमी आएको हो ।
लोत्सेका महाप्रबन्धक सुनिल कुँवरले यस वर्ष अघिल्ला वर्षहरुको जस्तो अग्रिम बस टिकट लिने यात्रुको चाप नभएको बताए । ‘कोरोना महामारी र बाटोको दुरावस्थाका कारण अग्रिम टिकट लिने यात्रु सोचेजस्तो छैनन्,’ उनले भने ।
काठमाडौंको नयाँ बसपार्कबाहेक चावहिल, गौशाला, माछापोखरी, कोटेश्वर र कलंकीमा पनि अग्रिम टिकट बुकिङ खुला गरिएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले नयाँ बसपार्क मात्र नभएर उपत्यकाका अन्य टिकट काउन्टरमा पनि अग्रिम बस टिकट बुकिङ गर्ने यात्रुको संख्या न्यून रहेको बताए ।
सरकारले यात्रुलाई सहज रुपमा गन्तव्य स्थलसम्म लैजानका लागि घटस्थापनादेखि देशभर रुट परमिट खुला गरेको छ । रुट परमिट खुला गरेसँगै यात्रुलाई दशैँको समयमा आवतजावतमा सहज हुने विश्वास लिइएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.