२०७८ कार्तिक ११ गते १३:३० विकासन्युज
सधैं पपुलर अनुहारले प्रमुख जिम्मेवारी पाउँछ भन्ने हुन्न । दृष्यमा नदेखिएका व्यक्ति महत्वपूर्ण जिम्मेवारीमा आइरहेका हुन्छन् । यस्तै भयो गुराँस लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा विपिन कुमार लालको नियुक्ती ।
महोत्तरीको मदरासीसभा वडा नं ९ मा जन्मिएका लालले सर्लाहीबाट आफ्नो स्कूलिङ सकेका हुन् । बीमा समितिले ‘सीईओ बन्नको लागि मास्टर डिग्री नै चाहिन्छ’ भन्ने मापदण्ड बनाएपछि लालले एस इन्स्टिस्यिूट अफ म्यानेजमेन्टबाट एमबीए गरे । उनले जे चाहेर स्नातकोत्तर गरेको थिए त्यहि प्राप्ति गरेका छन्, यहि कात्तिक ३ गतेदेखि ।
लालले नेपाल ब्याट्रीबाट आफ्नो जागिर शुरु गरेका हुन् । पछि उनी छोटो समय चार्टर्ड एकाउन्ट फर्ममा आवद्ध भई अडिटको काम गरे । १८ वर्षअघि उनले लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी)मा जुनियर अफिसरबाट बीमा करियर शुरु गरेका थिए । सोही कम्पनीका उनी प्रदेश प्रमुख (प्रदेश १ र प्रदेश २) को जिम्मेवारीमा थिए । त्यहाँबाट उनले गुराँस लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा फड्को मारे ।
कम्पनीले कात्तिक एक गतेदेखि लागू हुने गरी सीईओको जिम्मेवारी दिएको थियो । तर उनले ३ गते पदभार समाले । ‘३ गते पूर्णिमाको दिन थियो । आमाले पटक पटक पूर्णिमाको दिनबाट नयाँ अफिसमा नयाँ जिम्मेवारी थाल्न सुझाव दिनुभयो । आमाको आर्शिवाद मानेर ३ गतेदेखि जिम्मेवारी समालेको छु’ उनले विकासन्युजसँगको विकास वहसमा भने । प्रस्तुत छ उनीसँगकाे विकास वहस ।
एलआईसीबाट गुराँस लाईफको प्रमुख कार्यकारी अधिकृतमा फड्को मार्ने अवसर कसरी जुट्यो ?
एलआईसीमा १८ वर्ष काम गरेर भखर्रै प्रदेश १ र प्रदेश २ को प्रदेश प्रमुखको जिम्मा पाएको थिएँ । त्यहाँ आफ्नो जिम्मेवारी सम्हाल्दै थिएँ, सोही गुराँस लाइफको सीईओ पद खाली भयो । कुरा चल्यो । सहमति भयो । मैले यसलाई नियमित प्रक्रियाको रुपमा लिएको छु ।
गुराँस लाइफमा आउनुपूर्व सोसल साइटमा तपाई एलआईसीको असिस्टेन्ट म्यानेजर भनेर हामीले देख्यौ । असिस्टेन्ट म्यानेजरबाट एकै पटक सीईओ बन्नु भएको हो ?
पछिल्लाे समय म एलआईसीमा म प्रोभिन्स चिफ थिए । प्रदेश नम्बर १ र २ को प्रमुखको हैसियतमा म काम गर्दै थिए । एलआईसीमा प्रदेश प्रमुख भएको व्यक्ति डीसीओ वा सीईओ बन्नु स्वाभाविक हो ।
पछिल्लो समय इन्स्योरेन्समा काम गर्नु निकै चुनौतिपूर्ण छ । उच्च व्यवस्थापनमा रहेर काम गर्दा धेरै दवावको सामना गर्नुपर्छ भनिन्छ । तपाईले कस्तो अनुभव गरिरहनु भएको छ ?
इन्स्योरेन्स प्रोफेसन राम्रो प्रोफेसन हो । म यसमा इन्जोइ गरिरहेको छु । त्यसैले त मैले यस क्षेत्रमा १८ वर्षको लामो समय बिताइसकेको छु । तर पछिल्लो समय विस्तारै विकृतिहरु बढिरहेका छन् । नियामकले पनि यसलाई समय समयमा चेक एण्ड ब्यालेन्स गरिरहनु भएको छ ।
प्रोफेसनको हिसाबले त यो धेरै राम्रो प्रोफेसन हो । बीमा क्षेत्र भनेको आफैमा समाज सेवा गर्ने क्षेत्र हो । यो क्षेत्रभित्र पनि विभिन्न पदमा इन्जोइ गरिन्छ । व्यक्तिगत रुपमा मैले मार्केटिङ्गमा सबैभन्दा बढी इन्जोइ गरे । जहाँ विभिन्न खालका व्यक्तिसँग भेटघाट सँगसँगै अन्तरक्रिया हुन्छ र विभिन्न खालका विचारहरु सेयर हुने गर्छ ।
कुन बिन्दुमा आउँदा कम्पनीको सीईओ बन्छु भन्ने लागेको थियो ?
मलाई मात्रै होइन कर्मचारी सबैलाई कम्पनीको टप लेभलमा पुगौं भन्ने रहर हुन्छ । जब जो कोहीले कहीँ अवसर पाउँछ, तब उसले त्यसको लागि आफू सक्षम छु की छैन भन्ने बारेमा निर्णय गर्नुपर्ने हुन्छ । त्यसैले, मैले यो अफर पाइसकेपछि मलाई लाग्यो, म यसको लागि सक्षम छु । मैले यो गर्न सक्छु भन्ने लाग्यो । र, यो अवसर र चुनौति दुबैलाई स्वीकारेँ ।
कस्तो अनुभूति भइरहेको छ ?
खासै फरक छैन । जस्तो म पहिला फिल गर्थें, त्यस्तै फिल गरिरहेको छु । यस कम्पनीमा भखर्रै आएको छु, फ्रेस छु । अहिले त म कम्पनीलाई अध्ययन गर्दै छु । कम्पनीमा आएर जब मैले कुनै उपलब्धि हासिल गर्छु, तब मात्र मलाई अर्कै फिल होला ।
सीईओको जिम्मेवारी पाउँदैमा एक्साइटमेन्ट भइँदैन । पहिला काम गर्नुपर्यो । जब मैले काम गरेर कम्पनीमा सक्सेस हुन्छु, तब मलाई फिल हुन्छ मैले यो गरेँ भन्ने । केही नै नगरी सीईओ पोष्ट आउँदैमा एक्साइटमेन्ट भैहाल्ने होइन । यो मेरो एउटा जब नै हो । त्यसैले पहिला जब गर्दा जस्तो फिल गर्थे अहिले पनि त्यस्तै भइरहेको छ ।
नयाँ कम्पनीमा नयाँ योजना के छ ?
अहिले कम्पनी अध्ययनको क्रममै भएकोले प्लानिङ् गरिसकेको छैन । पहिला कम्पनीको बारेमा अध्ययन गरौं, व्यापार व्यवसाय के कस्तो छ, सबै बुझौं । त्यसपछि मात्रै के गर्ने, कसो गर्ने भन्ने प्लान गर्नुपर्छ ।
सीईओ भएपछि कम्पनीलाई राम्रो सँगसँगै बलियो बनाउने चाहना हुन्छ । स्थापना भएको १३/१४ वर्षको भईसकेको कम्पनी किन माथि आउन सकेन । यसको बारेमा बुझ्न पर्यो । कम्पनीको प्रडक्टहरुको बारेमा पनि थाहाँ हुन पर्यो । किन माथि उठ्न सकेन त ? प्रडक्टमा केही कमी भयो या प्लानिङ्गमै केही कमी भयो ।
तपाईंको व्यवसायिक योजनामा के के गर्ने प्रतिवद्धता गर्नु भएको छ ?
म आएपछि बोर्डसँग छलफल भएको छ । बिजनेस प्लान बनेको छ तर म अहिले यसलाई डिस्कोल्ज गर्ने अवस्थामा छैन । मलाई मात्रै होइन कुनै पनि कम्पनीको सीईओ नियुक्ती हुँदा बोर्डसँग बिजनेस प्लानको बारेमा छलफल हुन्छ । डकुमेन्ट पनि बन्छ । तर त्यो नियुक्ति भएको ४/५ दिनमै बाहिर ल्याउन मिल्दैन ।
तपाईले भन्नु भयो कि विगत १३ वर्षको दौरानमा यो कम्पनी जुन पोजिसनमा पुग्नु पर्ने थियो, त्यो पोजिसनमा कम्पनी रहेन, पुगेन । यसको अर्थ अरु कम्पनी जुन स्पीडमा दौडिरहेका छन्, त्योभन्दा बढी स्पीडमा हामी दौडिनु पर्छ भन्ने यहाँको आसय हो ?
होइन । मैले त्यो भन्न खोजेको होइन । हामी कहाँ पछाडि छौं भन्ने विषयमा अध्ययन गरेर त्यसलाई सुधार्दै लानुपर्छ भन्ने मेरो भनाई हो ।
कम्पनीको एउटा गोल त हुन्छ । अबको चार वर्षको दौरानमा यो बिन्दुमा पुग्छौं भनेर भन्न त सकिन्छ नि ?
सकिन्छ । मैले अघि नै भने हरेक कर्मचारीको चाहना हुन्छ कि म टप लेभलमा पुगौं । कम्पनीलाई लिड गरौं । सीईओ भएपछि पनि कम्पनीलाई अगाडि बढाऔं, माथि लैजाऔं भन्ने नै हो । अब ४ वर्षको दौरानमा धेरै परिवर्तन ल्याउनु पर्छ भन्ने चाहन्छौं । चाहे त्यो सीईओबाट होस्, सञ्चालक समितिबाट होस् । रेगुलेशनबाट पनि धेरै चेञ्जेजहरु आउन सक्छन् । वास्तवमै हामी के चाहन्छौं भने हामी एउटा लेभलमा पुगौं । जति पुराना कम्पनीहरु छन्, ती कम्पनीमध्ये शीर्ष ५औं स्थानमा जाऔं भन्ने चाहना सबैको छ । हाम्रो मात्रै होइन अन्य कम्पनीहरुको चाहना पनि यही नै हो । त्यसैले हाम्रो गोल भनेकै राम्रो व्यवस्थापन गरेर बीमा क्षेत्रमै लिड गर्न सकौं भन्ने हो ।
यसमा केही इन्डिकेटरहरु सेयर गर्न मिल्छ ?
अहिले त मिल्दैन । किनभने मसँग अहिले पर्याप्त डाटाहरु छैन । विभिन्न डिपार्टमेन्टसँग डाटाहरु लिएर स्टडी गर्दै छु ।
यहाँले कम्पनीमा नियुक्ति लिनुभन्दा पहिलै कम्पनीको बारेमा बुझ्नु भएको छ । तपाईंको नोटिसमा आजसम्ममा यो कम्पनीको सबल पक्षहरु के के हुन् ?
सबल पक्षको कुरा गर्नु पर्दा यो कम्पनीको संस्थापकहरु सबै बजारमा चिरपरिचित हुनुहुन्छ । यहाँको प्रडक्टहरु पनि बजारमा प्रतिस्पर्धी नै छन् । मलाई लाग्छ कम्पनी जति व्यवस्थित हुनुपर्थ्यो, त्यो नभएको हो की । सञ्चालक समिति पनि सर्पोटिभ नै छ । अध्यक्ष पनि एकदम सर्पोटिभ हुनुहुन्छ । कुनै विषयमा छलफल गर्नु पर्यो भने उहाँहरु जुनसुकै समयमा तयार हुनुहुन्छ । यही नै हो कम्पनीको सबल पक्ष ।
कम्पनीलाई ड्राइभ गर्न अथवा सर्वसाधारणलाई इन्स्योर्ड गराउनको लागि बाहिरी परिवेश तथा वातावरण कस्तो छ ?
भित्री वातावरण जस्तै बाहिरी वातावरण पनि इन्स्योरेन्स कम्पनी आफैले बनाउने हो । नियामकको सहयोगमा सबै इन्स्योरेन्सको प्रयास हुन्छ बाहिरी वातावरण बनाउन । नियामकले पनि इन्स्योरेन्सको महत्व बुझाउन गाउँपालिका तथा नगरपालिकाहरुमा विभिन्न कार्यक्रमहरु गरिरहनु भएको छ । त्यस्तै, बजारमा जनचेतना कार्यक्रम फैलाउन इन्स्योरेन्स कम्पनीका एजेन्ट, मार्केटिङका कर्मचारीका दायित्व हुन्छ ।
अर्को, वातावरण बनाउने दौरानमा केही न केही विकृतिहरु आइसकेका छन् । कस्तो विकृति आयो भने ठूलो पोलिसी जारी गर्ने र सरेन्डर गराउने । बीमा समितिले सरेन्डरको लागि नयाँ सर्कुलर जारी गरी कम्तिमा ३ वर्षसम्म राख्नुपर्छ भन्ने निर्देशन दिनुभएको छ । यसले विकृतिलाई हटाउने कोशिस गर्छ ।
अहिले मार्केट पुराका पुरा विकास भइसकेको छैन । सर्वसाधारणमा पनि जनचेतना फैलिसकेको छैन । तर, रेगुलेटरको पार्टबाट एकदम तीव्र गतिमा काम भइरहेको छ । र, कम्पनीहरुले पनि आफ्नो तर्फबाट जतिसक्दो प्रयास गरिरहेका छन् जस्तो लाग्छ ।
बजारलाई सव्य र भव्य बनाउन सामूहिक रुपमा कुनै कार्यक्रम अघि बढाउन पाए हुन्थ्यो भन्ने छ ?
यसमा मेरो व्यक्तिगत बुझाई छ । सबैभन्दा पहिला एउटा एजेन्टले एउटै कम्पनी समाउनु पर्छ जस्तो लाग्छ । त्यहाँबाट धेरै समस्याहरु समाधान हुँदै जान्छन् । किनकी एजेन्टलाई नै यताबाट उता तान्ने, अर्काको एजेन्टलाई ल्याउने जस्ता कृयाकलापले ठूलो विकृति ल्याइरहेको छ । एजेन्टहरुलाई हामीले यसरी खुला छोडेका छौं, की उनीहरु जुनसुकै बेला जता पनि जान सक्छन् । यसलाई रोक्नु पर्छ ।
हुन त यो कम्पनीले गर्न सक्दैन । बीमा समितिले पनि डाइरेक्ट रेगुलेट गरेर गर्न सक्ने अवस्था सायदै कम छ । यो ऐनमा भएको व्यवस्था हो, त्यसैले ऐनलाई नै संशोधन गर्नुपर्ने हुन्छ ।
यसको अर्को साइड के भयो भने बिजेनसको खोसाखोस तानातान यति हदसम्म गयो, जसले पोलिसी गरेर सरेन्डर गराउने बाध्य बनायो । यो सब बीमा क्षेत्रका गलत गतिविधिमध्ये केही हुन् । यो क्षेत्रमा जति पनि फोहोर फैलिएको छ, सबै यी दुई कारणले नै हो । यदि यो दुई विषयमा कडाई गरियो भने बीमा क्षेत्रका ९० प्रतिशत समस्या त्यत्तिकै समाधान हुन्छ । यहाँ कम्पनी बलियो हुनुभन्दा अभिकर्ताहरु बलियो भइसकेका छन् ।
अभिकर्ताको भूमिका कम गराउन अनलाइनबाटै इन्स्योरेन्स पोलिसी बिक्री गर्दा हुन्न ?
टर्म इन्स्योरेन्सहरु हुन्छ । त्यसमा रिक्स कभरेज मात्रै हुन्छ । जस्तो भारतमा टर्म इन्स्योरेन्सहरु अनलाइनबाट लिन सकिन्छ । जहाँ फिजिकल रिक्वायरमेन्टहरु हुँदैन ।
तर, इन्स्योरेन्समा हुने मेडिकलका कुराहरु लगायतका बाँकी कामहरु हुन्छन् । जुन अनलाइनबाटै भेरिफाई गर्ने व्यवस्था नहुन सक्छ । टर्म इन्स्योरेन्सको लागि भने सोच्न सकिन्छ ।
व्यक्तिगत अभिकर्ताको विकल्प खोज्ने बेला भयो कि भएन ?
खोज्न त खोजी सकेका छौं । संस्थागत अभिकर्ता अहिले पनि छन् । बैंकास्योरेन्स पनि भएकै थियो । त्यसमा केही कमजोरी भएका कारणले त्यो बन्द भए । तर अभिकर्ताको अल्टरनेटमा बैंकास्योरेन्स नभएपछि संस्थापक अभिकर्ता अहिले पनि छन् । जुन कम्पनीमा संस्थापक अभिकर्ता छन्, त्यो कम्पनीको बिजनेस अर्कै हुन्छ । साइडमा एडिस्नल रेभिन्यू जेनरेट गर्न कम्पनीहरुले संस्थापक अभिकर्ता राखेका हुन्छन् । यसमा व्यक्तिगत अभिकर्ताहरुले पनि सहयोग गरेका हुन्छन् । त्यसैले, मेरो बुझाईमा हाम्रा जति पनि अभिकर्ता छन्, उनीहरुलाई नै पशिक्षण गरेर, कानुनमा व्यवस्था गरेर प्रोफेसनल तथा बढी उत्तरदायित्व बनाउनु पर्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.