२०७८ कार्तिक १५ गते ११:२० विकासन्युज
ताँजाकोट गाउँपालिका कर्णाली प्रदेश हुम्ला जिल्लाको दक्षिण पश्चिम दिशामा अवस्थित छ । यो गाउँपालिका मुगु र बाजुरा जिल्लाको सिमाक्षेत्र र हुम्लाको सदरमुकाम सिमिकोटबाट ४८ कोष टाढा छ । प्राकृतिक रूपमा सुन्दर रहेको यस गाउँपालिकामा ५ ओटा वडा छन् । यस गाउँपालिका अध्यक्ष हुन् बाग्दाल मल्ल । स्वास्थ्य, शिक्षा, सडक र कानुन निर्माण लगायतका क्षेत्रलाई प्राथमिकता दिएर गाउँपालिकाले काम गरेको अध्यक्ष मल्ल बताउँछन् । उनै अध्यक्ष मल्लसँग गाउँपालिकाले हालसम्म गरेका उपलब्धि, विकास निर्माणको काम र भावी योजनाबारे विकासन्युजका लागि राजिब न्यौपानेले कुराकानी गरेका छन् :
अब कार्यकाल सकिन केही महिना मात्र बाँकी छ, सोचेको जस्तो काम पालिकामा गर्न सक्नु भयो कि भएन ?
हामी निर्वाचित भएपछि पालिकामा जति विकास निर्माणको काम गर्छौं भनेका थियौं त्यो अनुसार काम हुन सकेन । स्थानीय तहको नयाँ संरचना, कर्मचारीको व्यवस्थापन, ऐन कानुन बनाउन केही समय लाग्यो । यस पश्चात हामीले पालिकामा विकास निर्माणको कामलाई तीव्रता दियौं । हामीले गरेका कामबाट नागरिकहरू पनि सन्तुष्ट भएको पाएको छु । निर्वाचित भएर आएपछि पालिकामा शून्य अवस्थाबाट विकास काम सुरु गरेका थियौं । कर्णाली प्रदेशको हुम्ला जिल्ला सबैभन्दा दुर्गम मानिन्छ । सोचेको लक्ष्य अनुसार काम नभएका कारण असफल भइयोकि भन्ने महसुश हुन्छ ।
तपाईंहरू निर्वाचित भएर आएको ४ वर्षभन्दा बढी भएको छ, यसबिचमा ताँजाकोट जनताले विकासमा कस्तो अनुभूति गरे ?
संघियता आइसकेपछि मुलुकमा विकास निर्माणको कामले असाध्यै तीव्रता लिन्छ भन्ने हामी सबैको आशा तथा अपेक्षा थियो । र, लामो समयसम्म जनप्रतिनिधिको अभावले कर्मचारी तन्त्रबाट र राज्य सत्ताबाट चलिरहेको थियो । स्वाभाविक ढंगले स्थानीय तहमा जनप्रतिनिधि आइसकेपछि विकासले एउटा गति लिएको छ । र, जनताको अपेक्षा पनि धेरै बढेको छ । जनताहरू पनि खुसी नै हुनुहुन्छ तर पनि मान्छे तृप्त भन्ने हुँदैन । जनताको आवश्यकता गुनासोलाई संवोदन गर्दै अगाडि बढेका छौं । क्रमिक रूपमा पालिकामा हिजो भन्दा आज परिवर्तन र विकास हुँदै गएको छ ।
तपाईं निर्वाचित भएपछि गाउँपालिकाले हासिल गरेका उपलब्धि के–के हुन् नी ?
हामीले पूर्वाधार विकासमा धेरै राम्रो काम गरेका छौं । पालिकाको प्रत्येक वडामा स्वास्थ्य संस्थाको स्थापना गरी नागरिकहरूलाई सहज रूपमा स्वास्थ्यको पहुँच पुर्याएका छौं । यहाँका धेरै युवाहरू रोजगारीको लागि अन्य मुलुक गएका छन् । विकास निर्माणको काम तिव्र गतिमा पालिकामा नै हुन थालेपछि पलायन हुने क्रम पनि धेरै रोकिएको छ ।
कामको धेरै प्रतिफल नआए पनि कृषि क्षेत्रमा धेरै काम गरेका छौं । बिजुली विस्तार काम भएको छ र जनताको घरमा खानेपानीको पुर्याउने काम भएको छ । हामीले पालिकाको प्रत्येक वडामा सडकको सञ्जाल पुर्याएका छौं । बिजुली नपुगेको नागरिकको घरमा पालिकाले सोलर खरिद गरी अनुदान स्वरुप वितरण गरेको छ । हाम्रो कार्यकालको अन्तिमसम्ममा पालिकाको प्रत्येक नागरिकहको घरमा बिजुली पुर्याउने लक्ष्य राखेका छौं । आउँदो निर्वाचनमा नागरिकको घरमा बिजुली नपुर्याई भोट माग्न आउँदिन भनेको छु ।
तपाईंको पालिका पर्यटकीयस्थल भनेर चर्चित छ, आफ्नो गाउँपालिका भित्रका पर्यटकीय क्षेत्रको प्रचारप्रसार कसरी गरिरहनुभएको छ ?
हाम्रो गाउँपालिका पर्यटन क्षेत्रको लागि प्रचुर सम्भावना बोकेको ठाउँ हो । पर्यटन विकासको लागि हामीले विशेष जोड दिइरहेका छौं । धार्मिक र पर्यटकीय हिसाबले हाम्रो गाउँपालिका महत्वपूर्ण मानिन्छ । पालिकामा रहेको मठमन्दिरको संरक्षण गरी मन्दिरको निर्माण गरिरहेका छौं । पालिकामा पर्यटन मार्गको सुरुवात गरेका छौं । सबै ठाउँमा सडक नपुगेको कारण पर्यटकिय क्षेत्रमा पनि केही समस्या देखिएको छ । यस क्षेत्रतर्फ राम्रो कामको सुरुवात गरेका छौं ।
हालसम्म कति ऐन–कानुन बनाउनुभयो ?
पालिकाको आवश्यकता अनुसार ऐन–कानुनको निर्माण गरेका छौं । हालसम्म पालिकामा २० ओटा ऐनको निर्माण भएको छ । गाउँपालिकालाई आवश्यक पर्ने सबै ऐन, कानुन बनाएका छौं । कार्यविधि बनाएर अगाडि बढिरहेका छौं । कार्यविधि त आवश्यकताअनुसार बनाउँदै जाने कुरा पनि हो ।
प्रदेश र संघ सरकारसँगको सहकार्य कस्तो रह्यो ?
संघी सरकारसँगको समन्वय राम्रो छ । संघबाट आएको बजेटले पालिकाको विकासको गतिलाई तिव्रता दिएका छौं । प्रदेश सरकारसँग पालिकाको धेरै राम्रो समन्वय हुन सकेन ।
गत आर्थिक वर्षमा कति योजना तर्जुमा गर्नु भएको थियो, कति योजनाहरू सम्पन्न गर्नुभयो ?
गत आर्थिक वर्षमा हामीले करिव ९७ ओटा योजनाको तर्जुमा गरेका थियौं । उक्त योजनामध्ये धेरै काम पुरा भएका छन् भने केही पुरा हुने क्रममा छन् । टेन्डरका कामहरू चलिरहेका छन् भने धेरैजसो योजनाहरू सम्पन्न भइसकेको अवस्था छ ।
कोरोनाको पहिलो र दोस्रो लहरमा गाउँपालिकाले कति बजेट खर्च गर्याे ?
कोभिड हाम्रो पालिकामा पनि भयावह रूपमा फैलिएको छ । कोरोनाबाट धेरै नागरिकहरू संक्रमत पनि भएका छन् । पहिलो वर्ष ७५ लाख रुपैयाँ खर्च भएको छ । संक्रमितको उपचार खाने, बस्ने, औषधी, राहत, क्वारेन्टिन तथा आइसोलेसन व्यवस्थापनको लागि दोस्रो लहरमा ९० लाख रुपैयाँ जति खर्च भएको छ ।
स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नको लागि कस्ता प्रयासहरू भएका छन् ?
स्थानीयस्तरका युवाहरूलाई रोजगारी सृजना गर्नेतर्फ पनि हाम्रो ध्यान केन्द्रित छ । पालिकामा युवा लक्ष्ति गर्दै प्रधानमन्त्री र मुख्यमन्त्री रोजगार कार्यक्रम लागु भएको छ । उक्त रोजगार कार्यक्रम अन्तर्गत यहाँका धेरै युवाहरुले रोजगार पाएका छन् । युवा उद्यमशीलता वृद्धि गर्ने पशु र कृषिमा आकर्षण वृद्धि गर्ने लक्ष्यका साथ गाउँपालिका अगाडी बढेको छ । पालिकामा विस्तरै साना तथा मझौला उद्योग स्थापना हुँदै छन् । उक्त उद्योग मार्फत पनि धेरै युवाहरुले रोजगारी पाउने आशा छ । पालिकाले विभिन्न स्वरोजगारका कार्यक्रमहरू पनि सञ्चालन गर्दै आएको छ । स्वरोजगार बन चाहने युवाहरूलाई हामीले ऋणको पनि व्यवस्थापन मिलाएका छौं । व्यवसायकीक बन्न चाहने युवाहरूको लागि सुलब ब्याजदरमा ६ लाख रुपैयाँसम्म रकम उपलब्ध गराउन सक्छौं ।
अन्त्यमा, पालिकावासीलाई के भन्न चाहनुहुन्छ ?
स्थानीय सरकार सञ्चालन भइसकेपछि हामीले पारदर्शीको कुरालाई एकदमै ख्याल गरेका छौं । गाउँवासीहरूले हरेक दुःख तथा अप्ठ्यारोमा हामीलाई साथ दिएकोमा आभार व्यक्त गर्न चाहन्छु । हामी नागरिकका जनप्रतिनिधि हौं, त्यसैले सरसल्लाह सुझाव पनि दिन अनुरोध गर्छु । हामीले गरेको काममा कमी कमजोरी छन् भने त्यसलाई औंल्याइदिएर हामीलाई सच्चिने अवसर प्रदान गर्नुहुन पनि अनुरोध गर्छु ।
अनि नेपालीहरूको महान् चाड वडा दशैं, शुभ–दीपावली तथा छठ पर्व २०७८ को पावन अवसरमा देशविदेशमा बसोबास गर्नुहुने सम्पूर्ण गाउँबासी दाजुभाई तथा दिदी बहिनीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.