कनेक्ट आईपीएसको कारोबार शुल्क घट्यो, अब २ रुपैयाँमै भुक्तानी गर्न सकिने

  २०७८ मंसिर १४ गते १९:२४     विकासन्युज

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस (एनसीएचएल) ले कनेक्ट आईपीएस प्रणालीको कारोबार शुल्क घटाएको छ । एनसीएचएलले गत मंसिर ७ गतेबाट लागू हुने गरी उक्त प्रणालीको कारोबार शुल्कमा परिवर्तन गरी घटाएको हो ।

नेशनल पेमेन्ट स्वीच अन्तर्गत रिटेल पेमेन्ट स्वीचको कार्यान्वयनलाई थप सहज गर्न नेपाल क्लियरिङ्ग हाउसले सो शुल्कमा परिवर्तन गरेको हो । यससँगै अब बैंक तथा वित्तीय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले न्यूनतम २ देखि अधिकतम ८ रुपैयाँसम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् ।

नयाँ कारोबार शुल्क अनुरुप बैंक/वित्तिय संस्था तथा भुक्तानी सेवा प्रदायकहरुका ग्राहकले अब कारोबार रकम बमोजिम ने.रु.२ देखि ८ सम्मको प्रति कारोबार शुल्कमा भुक्तानी गर्न सक्नेछन् ।

एनसीएचएलका अनुसार ५०० रुपैयाँसम्मको भुक्तानीमा प्रतिकारोबार शुल्क रु.२, ५०० रुपैयाँभन्दा माथि ५ हजार रुपैयाँसम्म प्रतिकारोबार शुल्क ४ रुपैयाँ र ५ हजार रुपैयाँभन्दा माथिको भुक्तानी रकममा कारोबार शुल्क ८ रुपैयाँ लाग्ने भएको छ ।

यसले ग्राहकलाई एनसीएचएलका कनेक्टआईपीएस वेब÷मोबाईल एप, बैंक÷वित्तिय संस्थाका मोबाईल÷इन्टरनेट बैंकिङ्ग वालेटमा फण्ड लोड÷विड्र लगायतका विभिन्न भुक्तानी गर्न थप सहज हुने विश्वास गरिएको छ । कनेक्टआईपीएसबाट सरकारी राजस्व भुक्तानीमा भने पहिले नै प्रति कारोबार शुल्क २ देखि ५ रुपैयाँ कायम रहेको छ ।

नेपाल राष्ट्र बैंकको मार्गनिर्देशन बमोजिम डिजिटल भुक्तानीको थप प्रवद्र्घनका निम्ती एनसीएचएलले समय-समयमा यथोचित रुपमा कारोबार शुल्क परिवर्तन गर्दै आएको छ । हालै नेपाल राष्ट्र बैंकबाट बैंक/वित्तीय संस्थाको मोबाईल बैंकिङ्गमा कारोबार शुल्क १० रुपैयाँदेखि अधिकतम ३० रुपैयाँसम्म तोकिएको थियो ।

चालु आर्थिक वर्षको पहिलो चार महिनामा नै कनेक्टआईपिएसमा कारोबार संख्या तथा कारोबार रकमको आधारमा २२५ प्रतिशत वृद्धी भएको छ । त्यसैगरी, उक्त प्रणालीमा हाल दैनिक औसत कारोबार संख्या १ लाख १७ हजार १२ तथा रकमको आधारमा दैनिक औसत ८ अर्ब तीन करोड रुपैयाँ बराबरको रहेको छ । कारोबार शुल्कमा गरिएको यस परिवर्तनले वैकल्पिक च्यानलहरु मार्फत गरिने रियल टाइम भुक्तानीलाई थप टेवा पुग्ने एनसीएचएलले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.