२०७८ मंसिर २८ गते १७:१५ विकासन्युज
काठमाडौं । नेपाल टेलिकमको ‘ब्राण्ड एम्बेसडर’मा महजोडी कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य नियुक्त भएका छन् । टेलिकमले मंसिर २८ गते एक कार्यक्रम आयोजना गर्दै महजोडीलाई कम्पनीको ब्राण्ड एम्बेसडरमा नियुक्त गर्ने सम्झौता पत्रमा हस्ताक्षर गरेको हो ।
सम्झौता पत्रमा नेपाल टेलिकमको तर्फबाट प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी तथा कलाकारद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्य र कलाकारद्वयको मिडिया संयोजक शुभ मिडिया होम प्रा.लि. का अध्यक्ष सरोज वलीले हस्ताक्षर गरेका हुन् ।
सो अवसरमा नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले कला र हास्यव्यंग्य क्षेत्रका दुई नक्षत्रलाई नेपाल टेलिकमको “ब्राण्ड एम्बेसडर” नियुक्त गर्न पाउँदा गौरवान्वित महशुस गरेको बताए । उनले कम समयमै थप आकर्षणसहित उपलब्ध भइरहने कम्पनीका विभिन्न सेवा सुविधाहरुका बारेमा आम जनतालाई समयमै सुसूचित गराउन ब्राण्ड एम्बेसडरहरुको भूमिका सहयोगी हुने विश्वास लिएको पनि उल्लेख गरे ।
कार्यक्रममा कम्पनीका ब्राण्ड एम्बेसडरद्वय मदनकृष्ण श्रेष्ठ र हरिबंश आचार्यले स्वदेशको लगानी भएको, मुलुककै सबैभन्दा ठूलो दूरसञ्चार सेवा प्रदायक नेपाल टेलिकम जस्तो संस्थाको ‘ब्राण्ड एम्बेसडर’ हुन पाएकोमा आफूहरुले गौरवान्वित महशुस गरिरहेको बताए ।
यस सम्झौतापछि ब्राण्ड एम्बेसडरद्वयले नेपाल टेलिकमका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रबद्र्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरु गर्ने छन् । हाल एक वर्षको लागि सम्झौता सम्पन्न भएको र भविष्यमा सम्झौता अवधि थप गर्न सकिने व्यवस्था रहेको छ ।
साथै, ‘ब्राण्ड एम्बेसडर’द्वयको संलग्नताबाट कम्पनीका ग्राहकले कम्पनीका सेवा सुविधासम्बन्धी जानकारी थप सहजरुपमा प्राप्त गर्न सम्भव हुने कम्पनीको अपेक्षा रहेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.