२०७८ माघ २१ गते १४:१० विकासन्युज
काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) कृष्णबहादुर कार्कीले आगामी सोमबार अर्थात माघ २४ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् । सरकारले नेप्सेको प्रमुखको जिम्मेवारी दिएको करिब एक सातापछि कार्कीले आफ्नो पदभार सम्हाल्ने तयारी गरिरहेका हुन् ।
माघ १७ गते बसेको मन्त्रिपरिषदको बैठकले कार्कीलाई ६ महिना अघिदेखि नेतृत्वविहीन भएको नेप्सेमा प्रमुखको जिम्मेवारी दिने निर्णय गरेको हो । यससँगै कार्कीले माघ २४ गतेदेखि चार वर्षसम्म नेप्सेको नेतृत्व सम्हाल्ने भएका छन् ।
४ वर्षको लागि नियुक्त भएका नवनियुक्त सीईओ कार्कीले हाल आवद्ध रहेको संस्थाको राजिनामा स्वीकृत भएपछि नेप्सेमा कार्यभार सम्हाल्ने बताएका छन् । ‘अन्य संस्थाको राजिनामा स्वीकृत गराएर नेप्सेमा जाने हो, सायद आइतबार सबै काम सकिन्छ अनि सोमबारदेखि जान्छु होला,’ कार्कीले विकासन्युजसँग भने ।
अर्थशास्त्र र सार्वजनिक प्रशासनमा मास्टर गरेका कार्कीले विगत ५ वर्ष अघिदेखि बुढीगण्डकी आयोजनाको संयोजक अर्थात सहसचिव सरहको पदमा रहेर काम गरिरहेका छन् । पहिलादेखि नै पुँजीबजार प्रति रुची राख्ने कार्कीले अब पुँजीबजारको नेतृत्वमा रहेर सबैको साथ सहयोगका साथ बजारको विकास तथा विस्तारलाई विशेष जोड दिने बताएका छन् ।
‘पुँजीबजारलाई स्वच्छ, प्रतिस्पर्धी, पारदर्शी, समय सापेक्ष प्रविधिमैत्री बनाउनेमा नै जोड दिने हो, विसंगतिहरुलाई पनि हटाउँदै लगानीकर्ताको मनोबल बढाउने खालको काम कारवाही अघि बढाउने नै मेरो मुख्य प्राथमिकता हो,’ सीईओ कार्कीले भने ।
साथै, कार्यभार सम्हालिसकेपछि थप अध्ययन गरेर मात्रै कार्ययोजना तयार पार्ने उनी बताउँछन् ।
‘पहिला कार्यभार सम्हालौं, त्यसपछि संस्थाका व्यवस्थापकीय टीमहरुसँग बसेर थप अध्ययन अनुसन्धान गरेर अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना बनाएर अघि बढ्ने उद्देश्य छ,’ विकासन्युजसँग बोल्दै उनले भने- ‘अब कार्यभार सम्हालेको २/३ हप्ताभित्र आफ्नो योजना सार्वजनिक गर्ने छु ।’
अहिले बाहिरी दृष्टिकोणले हेर्दा नेप्सेमा केही नीतिगत स्वार्थ, केही संरचनागत संस्थाका कुराहरु छन्, कार्यक्षेत्र विकास लगायत ब्रोकरको पूर्वाधार विकासमा केही सुधार गर्नुपर्ने देखिएको उनको भनाई छ । जसलाई सुधार गर्न आफ्नो प्रयास जारी रहने र त्यसमा सबैको साथ सहयोग पाइनेमा उनी विश्वस्त छन् ।
सम्बन्धित समाचारः नेप्सेको सीईओ बने कृष्णबहादुर कार्की, को हुन् उनी ?
Copyright © 2024 Bikash Media Pvt. Ltd.