२०७३ साउन २० गते ८:२९ विकासन्युज
काठमाडौं, २० साउन । खानेपानी तथा सरसफाइ मन्त्रालयले चालु आर्थिक वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौं उपत्यकामा वितरण गर्ने भएको छ । उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी सङ्घको चौधौँ वार्षिक अधिवेशनमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा सञ्जय शर्माले मेलम्ची आयोजना सम्पन्न गर्न तीव्रगतिमा कार्य भइरहेको र उक्त आयोजनापछि काठमाडौं उपत्यकामा १७ करोड लिटर खानेपानी प्रतिदिन आपूर्ति गर्न सकिने जानकारी दिए ।
सरसफाइका क्षेत्रमा देशव्यापी रुपमा विभिन्न कार्यक्रम भइरहेको र विभिन्न गाविस तथा नगरपालिकाले खुला दिसामुक्त क्षेत्र घोषणा गर्ने लहरसमेत चलेको उल्लेख गर्दै उनले स्थानीयवासीको सहयोगबिना सरकारका कुनै पनि कार्यक्रम सफल नहुने बताए । कार्यक्रममा सङ्घका अध्यक्ष विष्णु दाहालले ‘काठमाडौं उपत्यकामा ट्याङ्करबाट खानेपानी आपूर्तिको अवस्था’ बारे कार्यपत्र प्रस्तुत गर्दै खानेपानीको गुणस्तरअनुसार ट्याङ्करमा स्पष्टसँग ‘खानेपानी ट्याङ्कर’ भनी उल्लेख गरिनुपर्ने सुझाव दिए ।
उनले अहिलेको खानेपानी ऐन, उद्योग ऐनलगायतका ऐनलाई समयानुकूल नियमन गर्ने किसिमले संशोधन गर्नुपर्ने र खानेपानी विकास बोर्डको छुट्टै निर्देशिका बनाउन बताए । काठमाडौं उपत्यकामा दैनिक १७ करोड लिटर माग हुँदै आएकामा अहिले काठमाडौं उपत्यका खानेपानी लिमिटेडले सुक्खायाममा नौ करोड लिटर र वर्षायाममा ११ करोड लिटर पानी मात्र आपूर्ति गर्न सकेको छ ।
हाल मन्त्रालयले देशभर ८५ प्रतिशत जनसङ्ख्यालाई स्वच्छ खानेपानी पु¥याएको जनाएको छ । सन् २०३० सम्ममा सबै नेपालीलाई खानेपानी र सरसफाइमा पहुँच पु¥याउने सरकारको लक्ष्य रहेको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.