२०७९ वैशाख २४ गते १०:४० विकासन्युज
काठमाडौं । आर्थिक संकटको सामना गरिरहेको श्रीलंकामा पुनः संकटकाल घोषणा गरिएको छ । चौतर्फी विरोधका बाबजुद श्रीलंकाका गोताबाय राजापाक्षेले पाँच सातापछि दोस्रोपटक आज फेरि संकटकाल घोषणा गरेका हुन् ।
अहिले श्रीलंका सबैभन्दा ठूलो आर्थिक संकटबाट गुज्रिरहेको छ । श्रीलंकामा विदेशी मुद्राको अभावमा खाद्यान्न र इन्धनको चरम अभाव भएको छ ।
कोरोना महामारीका कारण श्रीलंकाको अर्थतन्त्र धराशयी भएको बताइन्छ । कोरोनासँगै श्रीलंकाली अर्थतन्त्रको बलियो आधारका रूपमा रहेको पर्यटन उद्योग ठप्प भएको थियो । केही अर्थशास्त्रीले भने लगातार वैदेशिक ऋण लिने र अव्यवस्थापनका कारण अर्थतन्त्र धर्मराएको बताएका छन् । श्रीलंकाले सन् २०२० को मार्चमा विदेशी मु्द्रा बचाउन भन्दै आयातमा प्रतिबन्ध लगाएको थियो ।
राजापाक्षको राजीनामा माग्दै विभिन्न ट्रेड युनियनले देशव्यापी हड्ताल गरिरहेका छन् । राष्ट्रपतिले भने सार्वजनिक व्यवस्था सुनिश्चित गर्न राष्ट्रपतिले थप कडा कानुनको आह्वान गरेका छन् ।
श्रीलंकासँग अब पेट्रोलियम पदार्थ खरिदका लागि समेत पर्याप्त रकम नभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । पछिल्लो समय देखिएको संकटका कारण श्रीलंकामा उद्योग क्षेत्र‚ शिक्षा क्षेत्रसमेत धराशायी बन्दै गएका छन् । पेट्रोल पम्पमा पेट्रोलियम पदार्थका लागि र ग्यास पसलका अगाडि ग्यास सिलिन्डरका लागि मानिसहरूको लामो लाइन देख्नु श्रीलंकाको दिनचर्याजस्तै भइसकेको छ ।
त्यस्तै दैनिक उपभोग्य वस्तुको भाउ अकासिएको छ । बिहीबार राष्ट्रपति राजपक्षेको राजीनामा माग गर्दै उनको निवासबाहिर प्रदर्शन गरिएको थियो ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.
SOME TIME LATER WE WILL HAVE SAME WAY ON LINE.