२०७३ भदौ १ गते ५:०५ विकासन्युज
काठमाडौं, १ भदौ । बैंक तथा वित्तीय संस्थाले प्रदान गर्ने नगद लाभांश सम्बन्धित सेयरधनीको बैंक खातामा नै जम्मा पार्नुपर्ने भएको छ । सार्वजनिक सेयर निस्कासनमा सेयर बाडफाड पछि बाँकी रहेको रकम पनि बैंक खातामा नै जम्मा पारिदिनु पर्ने भएको छ ।
नेपाल राष्ट्र बैंकले सवै बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिदै यस्तो ब्यवस्था मिलाउन भनेको हो । धितोपत्र वोर्डले यसअघि नै नगद लाभांश सम्बन्धित ब्यक्तिको बैंक खातामा नै जम्मा पारिदिने ब्यवस्था मिलाउन सुचिकृत कम्पनीहरुलाई निर्देशन दिइसकेको छ ।
‘बैंक तथा वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई प्रदान गर्ने गद लाभांश सेयरधनीको खातमा जम्मा हुने ब्यवस्था मिलाउनु पर्नेछ,’ राष्ट्र बैंकले जारी गरेको निर्देशनमा भनिएको छ ।
सार्वजनिक निस्कासन (आइपिओ र एफपिओ) जारी गर्दा बाँकी रहेको रकम पनि सेयर फर्म भर्दा उल्लेख गरेको बैंक खातामा नै जम्मा गरिदिन राष्ट्र बैंकले निर्देशन दिएको छ ।
‘सार्वजनिक निस्कासन (आइपिओ र एफपिओ) को क्रममा धितोपत्र बाँडफाँट पश्चात् लगानीकर्ताले माग गरे बमोजिम सेयर प्राप्त गर्न नसकेको अवस्थामा त्यस्तो रकम फिर्ता गर्दा समेत निजले दरखास्त फाराममा उल्लेख गरेको खातामा जम्मा हुने ब्यवस्था मिलाउनु पर्नेछ,’ निर्देशनमा भनिएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.