२०७९ जेठ ११ गते १२:५७ विकासन्युज
काठमाडौं । भारत सरकारले चिनी निर्यातमा पनि रोक लगाउने निर्णय गरेकाे छ । यसअघि गहुँ निर्यातमा रोक लगाएको भारतले आगामी जुन १ बाट चिनी निर्यातमा प्रतिबन्ध लगाउने भएको हो ।
भारतीय सञ्चार माध्यम रोयटर्सका अनुसार मोदी सरकारले चिनी निर्यातमा पूर्ण रोक नलगाए पनि निर्यात सीमा एक करोड टन राखेको हो । चीन निर्यातमा भारत विश्वको दोस्रो ठूलो देश हो । विश्वमा ब्राजिलले सबैभन्दा धेरै चिनी निर्यात गर्छ ।
भारतबाट सबैभन्दा धेरै चिनी इन्डोनेसिया, अफगानिस्तान, श्रीलंका, बंगलादेश, संयुक्त अरब इमिरेट्स, मलेसिया र अफ्रिकी देशले खरिद गर्दै आएका छन् । नेपालमा हाल वार्षिक दुई लाख ५० हजार मेट्रिक टन चिनी खपत हुँदै आएको छ । जसमा १ लाख ३० हजार स्वदेशी उत्पादनले माग धानिरहेको छ भने बाँकी चिनी भारत लगायतका देशबाट आयात हुँदै आएको छ ।
भारतमा उपभोक्ता मुद्रास्फिती बढेर ७.७९ प्रतिशत पुगेपछि सरकारले गहुँ र चिनी निर्यातमा अल्पकालीन रोक लगाएको हो । भारत सरकारले मुलुकभित्र बढ्दो खाद्य सुरक्षा र महँगीलाई ध्यानमा राख्दै निर्यातमा रोक लगाउने निर्णय गरेको हो ।
पछिल्लो समय विभिन्न देशमा रुस र युक्रेनबीचको युद्धका कारण विभिन्न वस्तुको मूल्य बढेको छ । हालसालै सार्वजनिक तथ्यांकका अनुसार भारतमा इन्धन र खाद्यान्नको उच्च मूल्यका कारण अप्रिलमा उपभोक्ता मुद्रास्फीति ८ वर्षकै उच्चमा पुगेको देखाएको छ ।
नेपालले चालु आर्थिक वर्षको दश महिनाको अवधिमा भारतबाट मात्रै साढे २५ करोड रुपैयाँ बढीको चिनी आयात गरेको छ । भन्सार विभागले सार्वजनिक गरेको दश महिनाको तथ्यांक अनुसार नेपालले २५ करोड ६५ लाख ३६ हजार रुपैयाँ बराबरको ७६ लाख ९ हजार किलो चिनीको आयात गरेको हो ।
सम्बन्धित सामग्री :
Copyright © 2024 Bikash Media Pvt. Ltd.
MR MODI PM STOP ALL YOUR PRODUCTS.