प्रभु क्यापिटलको एप संचालन, सेयर सम्बन्धी सबै सेवा अब मोबाइलबाटै

  २०७९ असार २४ गते १०:११     विकासन्युज

काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले डिजिटल एप निर्माण गरी संचालनमा ल्याएको छ ।ग्राहकलाई छिटो र सहज तरिकाबाट सेवा प्रदान गर्न उद्देश्यले क्यापिटलले बिहीबारबाट एप संचालनमा  ल्याएको जनाएको छ ।

यस मोबाइल एपबाट ग्राहकहरुले अनलाइनबाटै हितग्राही खाता तथा मेरो शेयर अनलाइन सेवाका लागि आवेदन दिन, भिडियो केवाइसी गर्न, हितग्राही खाताको विवरणहरु परिवर्तनका लागि निवेदन दिन, हितग्राही खाता तथा मेरो सेयरको नविकरण शुल्क भुक्तानी तथा पासवर्ड परिवर्तन गर्न निवेदनका साथै हितग्राही खाताको स्टेटमेन्ट माग गर्न सक्नेछन् ।

यस्तै मोबाइल एपबाट लगानी व्यवस्थापन सेवामा जोडिनको लागि उपलब्ध योजनामा आवेदन दिन सकिने छ । यस मोबाइल एपबाट ग्राहकहरुले नेपाल स्टक एक्सचेन्जमा कारोबार हुने कम्पनीहरुको कारोबारको विवरण तथा विभिन्न परिसुचकको अवस्थाको बारेमा हेर्न पाउने सुविधा रहेको क्यापिटलले जनाएको छ ।

क्यापिटलको अनुसार ओम्निच्यानल प्रविधि प्रयोग गरेर बनाइएको यस एपबाट ग्राहकहरुले प्रभु क्यापिटलमा अनलाइनबाटै डिम्याट खाता खोल्नुका साथै आफूलाई पायक पर्ने समयमा भिडियो केवाइसिको लागि समय लिई सो समयमा भिडियो केवाइसि सम्पन्न गर्न सक्नेछन् । यसका साथै आफ्नो डिम्याट खातालाई लिंक गरेर डिम्याट खाता तथा मेरो शेयर सम्बन्धी सम्पूर्ण सेवा मोबाइलबाटै लिन सक्नेछन् ।

प्रभु क्यापिटलले नेपाली पूँजीबजारको क्षेत्रमा सदैव नयाँ नयाँ प्रविधिको विकास गरी नवप्रवर्तन तथा ग्राहकहरुलाई सहजीकरण गर्दै आएको छ । यो प्रविधिको प्रयोगबाट प्रभु क्यापिटलका ग्राहकहरुले प्रभु क्यापिटलबाट प्राप्त गर्ने अन्य विभिन्न सेवाहरुको बारेमा जानकारी प्राप्त गर्नुका साथै विभिन्न सेवाहरु प्राप्त गर्न सक्नेछन् ।

यो मोबाइल एपलाई क्यापिटलले आफ्नै कार्यालयमा स्थापना गरिएको सर्भरमा होस्टिङ्ग गरिएको र यसलाई विभिन्न चरणमा यसको सुरक्षा जाँच तथा सुरक्षाको जोखिम परिक्षण पश्चात मात्रै सञ्चालनमा ल्याइएको हुँदा सुरक्षाको दृष्टिकोणबाट एकदमै सुरक्षित रहेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.