२०७३ भदौ १३ गते १:५२ विकासन्युज
काठमाडौं, १३ भदौ । नेपालमा लगानीको वातावरण विस्तारै विकास भएसंगै चालु आर्थिक वर्षको पहिलो महिनामै ठूलो मात्रामा लगानीको प्रतिवद्धता आएको छ । चालु आर्थिक वर्ष २०७३/०७४ को पहिलो महिना साउनमा ४७ अर्ब ३८ करोडको लगानी गर्ने प्रतिवद्धता सहित ४७ वटा साना ठूला उद्योग दर्ता भएका छन्।
गत वर्षको यहि अवधिमा हेर्ने हो भने जम्मा जम्मा ५ अर्ब ८७ करोड रुपैँया बराबरको स्वदेशी लगानीको प्रतिबद्धता आएको थियो। उद्योग विभागका अनुसार साउनमा आएको लगानी गत आर्थिक वर्षको भन्दा झन्डै आधा हो ।
गत आर्थिक वर्षभरी १ खर्ब २२ अर्ब कुल लगानीको प्रतिवद्धता आएको थियो ।
विभागका अनुसार साउन महिनामा निर्माण क्षेत्रमा १ अर्बको लगानीसहित निर्माण कम्पनी दर्ता भएको छ ।
उत्पादनमूलक क्षेत्रमा सात वटा कम्पनीले १ अर्ब ६६ करोड लगानी गर्ने प्रतिवद्धता जनाएका छन् । सेवा र पर्यटन क्षेत्रमा दुर्इ/ दुर्इवटा कम्पनीले क्रमश १ अर्ब २० करोड र ३२ करोड ९० लाख लगानी गर्ने प्रतिवद्धतासहित उद्योग विभागमा दर्ता भएका छन् ।
उद्योग विभागले गत वर्ष करिब सवा १५ अर्ब वैदेशिक लगानी प्रतिबद्धता भएका ३ सय ४१ वटा विदेशी संयुक्त लगानीका परियोजनालाई स्वीकृति दिएको छ । अघिल्लो वर्ष करिब साढे ६७ अर्बका वैदेशिक लगानी प्रतिबद्धता भएका ३ सय ६८ वटा परियोजनाले स्वीकृति पाएका थिए । अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा सेवासम्बन्धी परियोजनाको संख्यामा वृद्धि भएको छ । तर, उत्पादन, पर्यटन र ऊर्जासम्बन्धी परियोजनाको संख्यामा कमी आएको उद्योग विभागका महानिर्देशक महेश्वर न्यौपानेले बताए।
गत वर्ष भूकम्प, नाकाबन्दी र तराई अान्दोलनका कारण लगानी कम भएको न्यौपानेको ठहर छ । गत वर्ष नाकाबन्दीका कारण लगानीकर्ता हत्तोसाहित भएर लगानी कम भएको र यो बर्ष मुलुकमा ठूलो केहि घटना नघटे लगानी बढ्ने उनले बताए।
यो वर्षको पहिलो महिनामा विदेशी लगानीको प्रतिबद्धता भने ७९ करोड मात्रै भएको छ । अघिल्लो वर्षको पहिलो महिनामा पनि ७९ करोड नै विदेशी लगानीको प्रतिबद्धता आएको थियो ।यो वर्षको पहिलो महिनामा मात्रै स्वदेशी लगानी तर्फ २ हजार ८ सय ७८ जनाले रोजगारीको अवसर पाउने अनुमान गरिएको छ भने विदेशी लगानी तर्फ १ हजार ४ सय ४ जनाले रोजगारीको अवसर पाउने अनुमान गरिएको छ ।
दर्ता भएका उद्योग र रोजगारी प्रतिवद्धता
संस्थापक लगानी कर्ता | २०७३ साउन महिनाको लगानी | दर्ता भएका उद्योगको संख्या | २०७३ साउनको रोजगारी संख्या |
नेपाली लगानी कर्ता | ४७ अर्ब ३८ करोड | ४७ (साना ३३ मध्यम ११ ठुला १३ ) | २,८७८ जना |
विदेशी लगानी कर्ता | ७९ करोड २ लाख | ४६ (साना ४२ मध्यम ४ ) | १,४०४ जना |
यो तथ्यांक उद्योग विभागको मात्र हो । लगानी बोर्ड मार्फत भएका विदेशी लगानी प्रतिबद्धता भने यस तथ्यांकमा समावेश गरिएको छैन।
Copyright © 2024 Bikash Media Pvt. Ltd.