चुनावका लागि प्रचार सामग्री बनाउन व्यापारीलाई भ्याइनभ्याई, दैनिक सयौंको अर्डर

  २०७९ असोज २८ गते १७:२२     राजिव न्यौपाने

काठमाडौं । अहिले बागबजारका छापाखानाका व्यवसायीहरू राजनीतिक दलका प्रचार सामाग्री बनाउनमा व्यस्त छन् । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारीहरूको चुनाव चिन्हसहितका प्रचार प्रसार सामाग्री बनाउनका लागि व्यापारीहरुलाई भ्याइनभ्याई छ । बागबजारका छापाखाना पसल बाहिर राजनीतिक दलका झण्डा झुन्डिएका छन् भने भित्र टेबुल र र्याक-क्यापमा लोगोसहितका ब्याच, टिसर्ट, टोपी लगायतका कपडाहरु देखिन्छन् ।

चुनाव नजिकिएसँगै व्यवसायीहरूलाई राजनीतिक दलका प्रचार सामाग्री बनाउन चटारो हुन्छ । निर्वाचन आयोगले स्वतन्त्र उम्मेदवारी्हरुको चुनाव चिन्ह तोकेसँगै प्रचार सामाग्री बनाउका लागि अर्डर दिनेहरुको संख्या बढेका छन् । काठमाडौंको बागबजारमा रहेको मिथिला प्रिन्टिङ एण्ड सप्लायरका सञ्चालक दिनेश सेन्चुरी चुनाव नजिकिएसँगै प्रचार सामाग्री छाप्ने अर्डर लिन भ्याईनभ्याई हुन थाले बताउँछन् । उनका अनुसार दशैं अगाडि देखिनै प्रचार सामाग्रीको अर्डर बढ्न थालेको छ ।

नेपाली काँग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, एकिकृत समाजवादी लगायतका स्वतन्त्र उम्मेदवारहरुका प्रचार सामग्री छाप्नका लागि अर्डर बढेको छ । आयोगले चुनाव प्रचार प्रसारमा पनि आचारसंहिताका लागू गरेको छ । आयोगले पार्टीको झण्डा बनाउँदा पनि साइज तोकिदिएको छ । आयोगले तोकेको साइजअनुसार नै प्रचार सामाग्री बनाइरहेको व्यवसायीहरु बताउँछन् ।

‘निर्वाचनको प्रचार–प्रसारका लागि आवश्यक पर्ने सामाग्रीहरूको माग धमाधम बढेकाले प्रिन्ट सेन्टरहरूमा यति बेला पार्टीका झण्डा छाप्ने व्यस्त छौं, कतिपय व्यापारीहरूले निर्वाचनका लागि आवश्यक झण्डा, टोपी, ब्याचहरू बनाएर पढाइसकेका छौं, यस्ता सामानहरूको माग उच्च आउन थालेको छ,’ उनले भने ।

साइज आकार र डिजाइनअनुसारका प्रचार सामाग्रीको मूल्य निर्धारण हुने उनले बताए । अहिले ४ फिटसम्मका ब्यानरहरूको माग पसल आइहरेको उनको भनाइ छ । यस्तै, अर्का पसल व्यापारी राजेन्द्र कार्कीलाई कामको चटारोका कारण बोल्न पनि फुर्सद नभएको बताउँछन् । अहिले छापाखानामा कर्मचारीहरुलाई काम गर्न भ्याइनभ्याई भएको उनी बताउँछन् ।

‘अझै हामीले सोचेको जस्तो अर्डर आएको छैन, चुनाव आउन पनि केही महिना बाँकी छ, कात्तिकबाट झनबढी अर्डर हुन्छ, त्यसपछि झन भ्याइनभ्याई हुन्छ,’ उनले भने ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन नजिकिएसँगै कमला आर्ट पसलमा दैनिक ३ हजार सम्म झण्डका बनाउने अर्डर आएको सो पसलका सञ्चालक मुकुन्द निरौलाले बताए । न्यूनतम ३ हजार अर्डर दैनिक आउन थालेको उनको भनाइ छ ।

सो पसलमा बिहीबार मात्रै १० हजार लौरो चुनाव चिन्हको झण्डा छाप्ने अर्डर आएको उनी बताउँछन् । समयमा नै अर्डर अनुसारको झण्डा प्रिन्ट गरी ग्राहकसम्म पुर्याउनेको योजनाका थाल निरौला झण्ड छाप्ने काममा व्यस्त छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.