प्रधानमन्त्रीको भारत भ्रमण पेण्डिङ प्रोजेक्टमा केन्द्रित हुनुपर्छः विज्ञ

  २०७३ भदौ २८ गते ११:१२     विकासन्युज

फाइल तस्बिर

काठमाडौं, २८ भदौ । आर्थिक कुटनीतिज्ञहरुले प्रधानमन्त्रीको भारत भ्रमण पेण्डिङ प्रोजेक्टमा केन्द्रित हुनुपर्ने बताएका छन् । राजधानीमा आयोजीत एक कार्यक्रममा आर्थिक कुटनितिज्ञहरुले प्रधानमन्त्रीको भारत भ्रमणमा पहिले नै सम्झौता गरिएका तर पेण्डिङ भएका प्रोजेक्टहरुमा केन्द्रित हुनुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा प्रधानमन्त्रीका आर्थिक सल्लाहकार श्रीराम पौडेलले नेपाल–भारत सम्बन्धमा राजनीतिक–आर्थिक सम्बन्ध गाँसिएकोले राजनीतिक सम्बन्ध सुदृढ भए आर्थिक सम्बन्ध आँफै सुदृढ हुने स्पष्ट पारे । उनले प्रधानमन्त्री दाहालको आसन्न भारत भ्रमण सद्भावको भ्रमण हुने जनाए ।

पूर्वराजदुत एवम् पराष्ट्रविद डा. शंकर शर्माले प्रधानमन्त्रीको भारत भ्रमणमा पेन्डिंग प्रोजेक्टहरुलाई कार्यान्वयन गर्नेबारेमा भ्रमणको एजेण्डा केन्द्रित हुनुपर्नेमा जोड दिए । शर्माले भने,‘परियोजनाहरुको कार्यान्वयनमा ढिलाई भैरहेको छ, हामीले त्यसतर्फ ध्यान दिनुपर्छ ।’ भारतीय लगानी भित्र्याउनको लागि पनि नेपालले होमवर्क गर्नुपर्नेमा जोड दिँदै शर्माले भने,‘लगानी र व्यापारको विशेष सम्बन्ध हुन्छ, त्यसैले हामीले लगानी भित्र्याउनेबारेमा पनि ध्यान दिनुपर्छ ।’ उनले आयात र निर्यातमा पनि नेपालले ध्यान दिनुपर्ने सुझाव दिए ।

आर्थिक कुटनीतिज्ञ डा. विश्वम्भर प्याकुरेलले प्रधानमन्त्रीको भारत भ्रमणमा पेण्डिँग प्राजेक्टहरुलाई अघि बढाउनुपर्नेमा जोड दिए । उनले दुईपक्षीय सम्बन्धलाई आर्थिक विकासको साझेदारीमार्फत अघि बढाउनुपर्ने धारणा राखे ।
भारतका लागि पूर्वराजदुत डा. दुर्गेशमान सिंहले प्रधानमन्त्रीको भारत भ्रमणमा आर्थिक साझेदारी, कनेक्टिभीटी, हाईड्रोपावर लगायतका विषयलाई जोड दिनुपर्ने बताए । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको भ्रमण गरेसँगै दुईदेशवीचको सम्बन्ध राजनीतिक तहबाट अघि बढेको समेत उल्लेख गर्दै थपे,‘हामीले यसबाट फाईदा उठाउनुपर्छ ।’

अर्का पराष्ट्रविद डा. निश्चलनाथ पाण्डेले प्रधानमन्त्रीको भारत भ्रमण अघिल्लो वर्ष बिग्रिएको नेपाल–भारत सम्बन्ध सुधार गर्ने अवसरको रुपमा रहेको चित्रण गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.