२०७९ कार्तिक ४ गते १६:२९ विकासन्युज
बागलुङ । मुलुक चाडबाड र निर्वाचनको माहोलमा रमाइरहेको समयमा बागलुङका किसान भने अलैँची टिप्न व्यस्त छन् । व्यस्तताका बीच पनि किसानहरुलाई दुःख गरी उब्जाएको अलैँचीले बजारमा उचित मूल्य नपाउने हो कि भन्ने चिन्ताले समेत पिरोलेको छ ।
अलैँचीको मूल्य घट्न थालेपछि बागलुङका किसान मर्कामा परेको गलकोट नगरपालिका–१ का ‘अलैँची ब्लक’ सञ्चालक समितिका संयोजक जीवन भण्डारीले बताए । ‘यो वर्ष अलैँचीको मूल्य गत वर्षको तुलनामा घटेको छ’, उनले भने, ‘एकातिर रोग, किराको प्रकोपले उत्पादन घटेको छ भने अर्कोतिर उचित मूल्य नपाउने स्थिति बनेको छ ।’
किसानहरुले २०७८ सालमा प्रतिकेजी १ हजार २ सयमा अलैँची बिक्री गरेका थिए भने २०७७ सालमा भने वर्ष प्रतिकेजी छ सयमा अलैँची बिक्री गरेका थिए ।
गलकोट–१ दुदिलाभाटीमा एक सयभन्दा बढी किसान अलैँची खेतीमा आबद्ध छन् । उनीहरुले करिब पाँच सय रोपनी क्षेत्रफलमा अलैँची खेती गर्दै आएका छन् ।
गत वर्ष अलैँची बिक्री गरी २३ लाख रुपैयाँ आम्दानी गरेका बरेङ गाउँपालिका–२ हुग्दिशिरका किसान यसवर्ष मूल्य घटेको सुनेर बेखुस छन् । अलैँची टिप्ने चटारोबीच उनीहरुलाई पनि मूल्यको पिरलो थपिएको छ ।
बरेङस्थित नमूना अलैँची उत्पादक कृषक समूहका अध्यक्ष बिमल पौडेलले खरिदकर्ताहरु भने अझै आइनपुगेको बताए । ‘तिहारअघि अलैँची टिपेर सकिन्छ, कतिपय किसानले सुकाइसकेर पनि बेच्न ठिक्क पारेका छन्’, उनले भने, ‘अहिलेसम्म व्यापारी आइपुगेका छैनन्, त्यसमाथि मूल्य पनि घटेको सुन्नमा आएको छ ।’
अलैँची व्यापारीबीचको अस्वस्थ प्रतिस्पर्धा बढ्दा मूल्य अस्थिर हुने गरेको अध्यक्ष पौडेलको भनाइ छ ।
बरेङमा १९ जना किसानले दुई सय रोपनीमा अलैँची खेती गर्दै आएका छन् । किसानहरुले प्रत्येक वर्ष झण्डै २० क्विन्टल जति अलैँची उत्पादन गर्छन् । जसबाट राम्रो मूल्य पाएको वर्षमा किसानले ५ लाख रुपैयाँ सम्म आम्दानी गरेको किसान तुलसीराम पौडेलले बताए ।
ताराखोला गाउँपालिका–१ स्थित राष्ट्रिय अलैँची कृषि उपज केन्द्रका अध्यक्ष इन्द्रध्वज भण्डारीले अलैँचीको बजारमा बिचौलिया हावी भएको आरोप लगाए । ‘मूल्य बढ्ला र बेचौँला भनि बस्यो तर अन्तिममा जिल्ल पर्ने अवस्था आउँछ, रोग, किरा र जीवजन्तु लागेर पनि हामीलाई हैरान छ’, उनले भने ।
केन्द्रका अध्यक्ष भण्डारीले दुम्सी, भार्से जस्ता जन्तुले समेत अलैँची खेतीमा असर गरेको बताए । ‘दुम्सीले सँधै बाली नोक्सान गरी दुःख दिन्छ, दुम्सीले खाएर बचेको अलैँची मात्रै हामीले टिप्ने हो’, उनले भने, ‘वन्यजन्तु र रोगबाट बचाउन सके अलैँची उत्पादन बढाउन सकिन्छ ।’
भण्डारी नौ वर्षदेखि अलैँचीको व्यावसायिक खेतीमा संलग्न छन् । केन्द्रले सय रोपनी क्षेत्रफलमा अलैँची उत्पादन गर्दै आएको छ । अलैँची बेचेर वार्षिक आठ लाख रुपैयाँसम्म कमाइ हुने गरेको अध्यक्ष भण्डारीको भनाइ छ । ताराखोलामा पनि अलैँचीको ‘ब्लक’ कार्यक्रम सञ्चालित छ । कृषि ज्ञान केन्द्रका प्रमुख भानुभक्त भट्टराईले अन्तर्राष्ट्रिय बजारमा माग बढ्दा नेपाली अलैँचीले उचित मूल्य पाउने र माग घट्दा मूल्य पनि ओरालो लाग्ने गरेको बताए ।
‘राम्रो मूल्य पाएपछि किसानले उत्पादन बढाउनतिर लाग्छन्, व्यापारीले पछि फेरि मूल्य घटाउँछन् जसले गर्दा किसानलाई मर्का पर्ने गरेको छ’, केन्द्रका प्रमुख भट्टराईले भने ।
उनका अनुसार बागलुङमा अलैँचीको व्यावसायिक उत्पादनका लागि ११ ‘पकेट’ र दुई ‘ब्लक’ क्षेत्र घोषणा गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत सञ्चालित ती कार्यक्रममार्फत् किसानले अलैँची खेतीमा अनुदान र तालीम पाएका थिए । जिल्लामा अहिले १२ सय हेक्टरमा अलैँची खेती भइरहेको जनाइएको छ ।
अलैँची रोप्नेदेखि, गोडमेल, स्याहारसुसार, टिप्ने, सुकाउने काममा किसानको धेरै समय, श्रम र लगानी हुन्छ । बजारको अनिश्चिततासँगै लगानी अनुसारको प्रतिफल नपाए अलैँची खेतीबाट पलायन हुने स्थिति आउने किसान बताउँछन् ।
नेपाली अलैँची काठमाडौँ हुँदै भारत, बङ्गलादेशलगायतका ठाउँमा निर्यात हुन्छ । कतिपयले सिधै पूर्वी नाका काँकडभिट्टा पुर्याएर भारतीय व्यापारीलाई अलैँची बेच्छन् । नेपाली अलैँची मसला, सौन्दर्य सामग्री, आयुर्वेदिक औषधिलगायतमा प्रयोग हुन्छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.