२०७९ कार्तिक १४ गते १२:१५ विकासन्युज
२७ वर्षकै उमेरमा खल्ती डिजिटल वालेटको प्रमुख कार्यकारी अधिकृत (सीईओ) बनेका व्यक्ति हुन् विनय खड्का । गत वर्षको कात्तिकमा कम्पनीको सीईओका रुपमा नियुक्त भएका उनी खल्तीमा प्रवेश गरेको पनि एक वर्ष बितिसकेको छ । यसअघि एनआइसी एसिया बैंक र ईसेवामा काम गरेर अनुभव बटुलिसकेका खड्का आफ्नो ब्याचका चार्टर्ड एकाउन्टेन्ट टप पनि हुन् । नुवाकोटको शिवपुरी घर भएका उनको प्रगति देखेर जो कोही पनि प्रभावित हुन्छन् । उनै सीईओ खड्कासँग विकासन्युजका लागि सन्तोष रोकाया र राजिव न्यौपानेले खल्ती डिजिटल वालेटको समग्र विजनेसको विषयमा कुराकानी गरेका छन् ।
तपार्ईं प्रमुख कार्यकारी अधिकृत (सीईओ) रूपमा नियुक्त हुन भएको एक वर्ष पुरा भयो, यो अवधिसम्म खल्तीमा काम गर्दाको अनुभव र कम्पनीको बिजनेस कस्तो रह्यो ?
नेपालमा फिनटेक उद्योग स्थापना भएको धेरै भएको छैन । अहिले भुक्तानी सेवाको लाइसेन्स २७ वटाले पाइसकेका छन् । तर, आजका दिनमा प्रत्यक्ष काम गर्ने संस्थाहरू नाम मात्रका छन् । फिनटेकको यति धेरै र्यापिड ग्रोथ छ कि म आउने बेलाको बजारको साइज र आजको बजारको साइजको विस्तार धेरै भइसकेको छ । म सीईओको रूपमा नियुक्त भइसकेपछि कर्मचारीको आकार, व्यापार, पाटर्नर थप्ने, नयाँ विशेषता लगायतको विषयमा धेरै प्रगति भएको छ । धेरै विषयमा सुधार पनि भएको छ ।
हामीले फोनपेसँग पनि अन्तरक्रियाशीलता गर्यौं । खल्तीको राम्रो कामलाई मध्यनजर गर्दै विभिन्न ठुला संस्थाहरूले सम्मानित गर्नुका साथै उत्कृष्ट अवार्ड पनि प्रदान गरेका छ । हामीले गत वर्ष नै सफल स्टार्टअप पुरस्कार पायौं । ग्लोबल लेभलको नै उच्च अवार्ड पनि पाएका छौं । हामीले चलचित्र प्लेटफर्महरू लन्च गरेका छौं । सो प्लेटफर्महरू लन्च गरिसके पश्चात क्यूएफएक्स र आइयनआईमा चल्ने सिनेमाको टिकट काट्न सकिन्छ । उक्त सिनेमा हालमा चल्ने सिनेमा खल्ती एपबाट टिकट काटेर सिट बुकिङ गर्न सक्ने व्यवस्था मिलाएका छौं ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) जस्ता विभिन्न बैंक, बीमा, सरकारी सेवा, स्थानीय तह लगायतका संघ संस्थाहरूको भुक्तानी खल्तीमा उपलब्ध गराएका छौं । त्यो लगायत खल्तीमा विभिन्न फिचरहरू थपेर कसरी मानिसको जीवनशैली ब्राण्ड बनाएर अगाडि लिएर जाने भन्न हिसाबले नयाँ–नयाँ फिचर ल्याइरहेका छौं । खल्ती र वालेट व्यापार थिम मार्जिनमा सञ्चालन भए पनि दीगो बनाउने कामलाई जोड दिएका छौं । वालेट भनेको उद्योग हो । जसरी बैंक तथा बीमालाई एउटा उद्योग भनिन्छ । एउटा पेमेन्ट अथवा फिनटेक उद्योग अपरेट हुन सक्छ । त्यो सम्भावना नेपालमा छ भनेर त्यसलाई नै अन्वेषण गरेर अगाडि बढिरहेका छौं । गत एक वर्षमा धेरै राम्रा कामहरू भएको मैले महसुस गरेको छु ।
तपाईं आइसकेपछि खल्तीको विजनेस ग्रोथ कस्तो रह्यो ?
हामीले गत एक वर्षमा धेरै विषयमा वृद्धि हासिल गरेका छौं । कुनै विषयमा २ देखि ४ गुणासम्मको पनि वृद्धि भएको छ । समग्र व्यापारमा ८० प्रतिशतसम्मको वृद्धि हासिल गरेका छौं । त्यो भनेको व्यापार, रेभिन्यु पाटर्नरसिप लगायतका विषयहरुमा हो । हाम्रो लागि गत एक वर्ष उपलब्धिमुलक नै रह्यो । कोभिड पनि सकिएको र अर्थतन्त्र पनि चलायमान भएको अवस्थामा हामीले विभिन्न नयाँ सेक्टरमा काम सुरु गर्यौं ।
खल्तीको स्थापना भई सञ्चालनमा आएको लगभग ५/६ वर्षको समय भइसकेको छ । अब हामी कुद्ने बेला आएको छ । आन्तरिक रूपमा धेरै काम गरेका छौं । टिमको व्यवस्थापन गरेका छौं । बजेटको व्यवस्थापन गर्ने, अन्तर्राष्ट्रिय मापदण्डको रिपोर्टिङ स्ट्याण्डर्ड ‘इन्टरड्युस’ गर्ने काम गरेका छौं । कतिपय कामहरू पाइपलाइनमा नै छन् । फिनकेट उद्योगको वृद्धि भन्दा हामी धेरै नै माथि छौं ।
बैंक तथा वित्तीय संस्था लगायतका क्षेत्रहरुले डिजिटल बैंकिङलाई प्रमोट गरिरहेका छन्, राष्ट्र बैंक पनि डिजिटल करेन्सीको अध्ययन गरिरहेको छ । नेपालमा समग्र फिनटेक उद्योगको भविष्य कस्तो छ ?
आजको दिनमा फिनटेक, डिजिटल बैंकिङ जे भन्छौं, त्यो सबै पेमेन्टलाई भनिरहेको छौं । हामीले मोबाइल बैंकिङको प्रयोग गर्छाैं । मोबाइल बैंकिङ लोन लिन, क्रेडिट कार्ड, बैंक सर्भिस पनि लिन पाइँदैन । पैसा निकाल्न जम्मा गर्न बैंक नै धाइ राख्नु परेको छ । टपअप गरेर बिजुलीको बिल तिरेर मात्र मोबाइल बैंकिङ हुँदैन । पहिला त्योबाट बाहिर निस्कनु पर्याे । हामी जस्तो फिन्टेक कम्पनीले पनि अलिक इनोभेटिभ प्रडक्ट लाइनहरू ल्याउनु पर्यो । जस्तो वित्तीय इकोसिस्टम भनौं । त्यो भयो भने डिजिटल बैंकिङको भविष्य राम्रो छ ।
कुल ग्राहस्थ उत्पादनको ६/७ प्रतिशत मात्रै डिजिटल पेमेन्ट हुन्छ । ४५/४८ खर्ब रुपैयाँको जिडीपीमा आजको दिनमा ३ खर्ब जति डिजिटल प्रोसेसिङ भइरहेको छ । स्कोप धेरै छन् । तर, कसले कसरी आउने भन्ने हो । खल्ती लगायतका अन्य केही वालेट पनि राम्रो नै पोजिसनमा छन् । जो नयाँ आउनु हुन्छ, उहाँहरूले पनि नयाँ धारणा बोकेर आउनु पर्याे । खल्ती चलाउँदा अन्य वालेटमा सिफ्ट गर्नु पर्याे भने आजको दिनमा गाह्रो छैन । सामाजिक स्तर अर्थात् वित्तीय साक्षरतालाई आर्थिक रूपमा कसरी लिएर आउने विषय एउटा होला । आजका दिनमा भाइबरबाट कल गरे जस्तै पैसा पनि डिजिटल माध्यमबाट पैसाको लेनदेन हुनु पर्यो ।
मानिसहरुलाई स्मार्ट फोन चलाउने बानी परिसक्यो । उत्पादकत्व वृद्धिका लागि लाग्नु पर्छ । हामीले अब त्यो लाइन बाट पनि सोची रहेका छौं । आजको दिनमा नेपाल सरकारको पनि अधिकांश पेमेन्ट डिजिटल हुन सकेको छैन । अहिले हामी विद्युतिय महसुल खल्ती लगायत डिजिटल माध्यमबाट तिर्छौं । तर, त्यो पनि प्रभावकारी हुन सकिरहेका छैन । किनभने विद्युतीय महसुल तिर्न पनि अफिस खुल्ने समय नै कुर्नु पर्छ । डिजिटल भएपछि रातको बाह्र बजे पनि पैसाको लेनदेन हुनु पर्याे । त्यो लाइनको डिजिटल पूर्वाधारको विकास विस्तारै हुँदै गएको देखिन्छ । यो सबै भइसकेपछि डिजिटलको भविष्य उज्वल छ ।
फिनटेक उद्योगलाई हेर्ने आम सर्वसाधारणको हेर्ने दृष्टिकोण कस्तो पाउनु भएको छ ?
अझै पनि डिजिटल माध्यमको जानकारी गाउँ–गाउँमा पुग्न सकेको छैन । खल्ती लगायतका कम्पनीहरूले मुख्य काम के हो अथवा के सेवा दिन्छ भन्ने कुरा आम नागरिकमा अझै पुगिसकेको छैन । त्यसमा धेरै काम गर्नुपर्ने छ । प्रायः युवाहरूलाई थाहा छ, उहाँहरूले यसको प्रयोग पनि गरिराख्नु भएको छ । तर, फिनटेक कम्पनी प्रतिको धारणा जसले बुझेको छ, उहाँहरूले भोलिका दिनमा ओभरल बैंक, बीमा जस्ता आर्थिक वित्तीय सेवाका क्षेत्र लगायतमा फिनटेक चाहिन्छ भन्ने बुझेको पाइन्छ ।
कतिपय मानिसहरू २ दिन हिँडेर सदरमुकाम गएर एउटा सानो पेमेन्ट गर्नु पर्ने बाध्यता छ । यो सरकारको कारणले भएको हो । तर विस्तारै कम भने भएको छ । कुनै मान्छेको हामीले २ दिनको समय बचाउन सक्छौं भने त्यो व्यक्तिले त्यो दुई दिनको समय प्रोडक्टिभमा लगाउन सक्छ । हामीसँग ३० लाख ग्राहक छन् । उनीहरूको महिनामा ३ घण्टा समयको बचत गर्न सक्यौं भने पनि ठूलो कुरा हो । डिजिटल तर्फ जानुपर्छ यसको विकल्प छैन ।
बजारमा खल्ती डिजिटल वालेटको प्रतिस्पर्धी को हो ? फिनटेक उद्योगमा तपाईंहरुको पोजिसन के हो ?
यो कुरा मार्केटलाई थाहा नै छ । हामी आजको दिनमा दोस्रो स्थानमा छौं । अहिले ई–सेवा नम्बर वान पोजिसनमा छ । उहाँहरूले हामीभन्दा अगाडिबाट नै सेवा दिन सुरु गर्नु भएको थियो । पहिलो र दोस्रोको ग्याप पनि धरै छ भने दोस्रो र तेस्रो पनि ग्याप धेरै छ । गत वर्ष हामीले जुन हिसाबले ग्रोथ गरेका छौं, त्यो ग्रोथ आजका दिनमा खल्तीको नै छ । वार्षिक ग्रोथ हाम्रो राम्रो छ ।
खल्ती नम्बर वान डिजिटल वालेटको भएको कहिले सुनिन्छ ?
हामीले नम्बर वान भन्दा पनि खल्तीलाई ठूलो कम्पनीको रूपमा विकास गर्ने हो । त्यो नम्बर वान पनि हुन सक्छ या दोस्रो । अल्टिमेट भिजन भनेको वित्तीय समावेशीकरण हो । वित्तीय समावेशीकरणको लागि जेजे प्रडक्टको आवश्यकता हुन्छ, त्यसलाई हामीले ‘क्याटलक’ गर्दै जाने हो । त्यसलाई दीगो बनाएर जाने हो । आउने एक वर्षमा नम्बर वान हुन्छ भन्ने भन्दा पनि बजारको कसरी वृद्धि हुन्छ । त्यसलाई सबैभन्दा ठूलो मध्ये एक कम्पनीलाई कसरी गर्ने भन्ने सोच हो ।
फिनटेक उद्योगले मान्छेको जीवनशैली चाहिँ परिवर्तन गर्न सक्छ भन्ने कुरा स्थापित गर्नेु हो । किनभने ४८ खर्बको लेनदेनमा ५० प्रतिशतमा डिजिटलमार्फत् कारोबार भयो भने नम्बर ३ ले पनि राम्रो नै रेभिन्यु बनाउन सक्छ । हामी नम्बर वान हुँदैनौं भन्ने पनि हैन । कुन कुरामा नम्बर वान हुने भन्ने विषय हो । ब्राण्ड भ्यालु वाइज नम्बर वान, धेरै प्यारामिटरमा हामी नम्बर वान पनि छौं ।
गाउँघरमा अझै पनि डिजिटल कारोबार हुन सकेको छैन, यो खालको अन्तरलाई न्यूनीकरण गर्न खल्तीले के काम गरिरहेको छ ?
अहिले हामीसँग प्रत्यक्ष ३० लाखभन्दा बढी ग्राहकहरू छन् । तर, अप्रत्यक्ष ग्राहक जोसँग स्मार्टफोन र इन्टरनेट पनि छैन, त्यस्ता ठाउँमा हामीले हाम्रा एजेन्टमार्फत् काम गरिरहेका छौं । खल्तीको ६० हजारभन्दा बढी एजेन्ट दार्चुला, जुम्लादेखि लिएर पूर्व ताप्लेजुङ लगायतका विभिन्न ठाउँमा छन् । त्यो ६० हजार एजेन्टले जुन सर्भिस खल्तीले दिन्छ सोही सेवा उनीहरूले उपभोक्तालाई उपलब्ध गराउँछन् ।
जस्तै, विदेशबाट रेमिट्यान्स आयो भने त्यही घर छेउको पसलबाट रकम निकाल्न सक्ने व्यवस्था हामीले मिलाएका छौं । बैंक दौडनु परेन । अहिले गाँउगाउँमा टेलिभिजन पुगेको छ, कति ठाउँमा इन्टरनेट पुगेको छ । कतिपय ठाउँमा पुग्न बाँकी छ । तर, डिशहोम त धेरै दुर्गम ठाउँमा पनि पुगेको छ । स्मार्ट फोन नभए पनि साधा फोनको लागी एनटीसीको सिम लिएका छन् । त्यसलाई रिर्चाज गर्नु पर्ला । त्यस्ता ठाउँको आवश्यकतालाई मध्यनजर गरेर विस्तारका कामहरू गरिहरेका छौं । खल्तीमा आबद्ध हुनेले हामीसँग आजको दिनमा खल्ती एप भित्रै ५ सय भन्दा बढी भिडियोहरू छन् । जुन कोहीसँग पनि छैन । भिडियो मार्फत सबै विषयहरु खल्ती एप भित्रका विशेषताको बारेमा जानकारी दिएका छौं ।
हामीले समय–समयमा क्याम्पियन पनि चलाइरहेका हुन्छौं । खल्तीले केही समय अगाडि स्मार्ट छोरी क्याम्पियन गरेको थियो । स्मार्ट छोरी क्याम्यिन अन्तर्गत सेभिङ के हो, क्यापिटल, बीमा लगायतको विषयमा हामीले प्रशिक्षण दिएका थियौं । अहिले खोटाङका स्थानीय तहमा डिजिटलसम्बन्धी काम गर्ने तयारी गरेका छौं ।
डिजिटल वालेटहरूमा विभिन्न समयमा विभिन्न खालका समस्या आइरहने तर ती समस्याको समाधान समयमै नहुने गुनासो पनि सुनिन्छ, यस विषयमा डिजिटल वालेटहरु किन जिम्मेवार बोध गर्दैनन् ?
आजको दिनमा फिनटेक उद्योगको बैंक, युजर र रेमिट्यान्स लगायतसँग सम्बन्ध हुन्छ । कुनै मान्छेले खल्तीबाट अन्य बैंकमा पैसा पठाउन खोज्यो । हाम्रो यी दुवैसँगको कनेक्सन अन हुनु पर्याे । आफ्नो क्षेत्रमा मात्र नेटवर्क म्यानेजमेन्ट गरेर पर्याप्त छैन । कहिले काहिँ खल्तीबाट पैसा पठाएको तर रकम पुगेन भन्ने गुनासो पनि आउँछ । बैंकमा किन पुग्दैन भन्ने गुनासो आउँछ । बैंकको सिस्टम कहिले काहिँ अन नहुन सक्छ । त्यो बेला आतिएर काम हुँदैन । तपाईंको डिजिटल टा«नजेक्सन कहीँ पनि जाँदैन । हामी नेपाल राष्ट्र बैंकबाट लाइसेन्स प्राप्त संस्था हो । एउटा निश्चित नियम भित्र रहेर सञ्चालन गरेको हुन्छ ।
हाम्रो सातै दिन बिहान ७ बजेदेखि राति १२ बजेसम्म साहयता कक्षा सञ्चालन हुन्छ । ३० जना साथीहरुले साहयता कक्षामा बसेर १८ घण्टा ग्राहकको समस्याको सुनुवाइ र समस्याको तत्काल समाधान गर्नु हुन्छ । खल्तीबाट गरेका काम तत्काल भइ हाल्छ । हाम्रोमा दैनिक ३ लाखभन्दा बढीको संख्यामा ट्रान्जेक्सन हुन्छ । आएका समस्यालाई छिटो समाधान गर्न तर्फ हाम्रो ध्यान केन्द्रित छ ।
फिनटेक उद्योगमा अहिले पनि धेरै प्रतिस्पर्धा छ, यो क्षेत्रमा थप डिजिटल वालेटहरुको आवश्यकता छ कि छैन ?
एउटा फर्म मात्रै भएर उद्योग बन्दैन । नेपालमा आज एउटा मात्र बैंक भएको भए बैंकिङ उद्योग भनेर भनिँदैन थियो होला । अहिले पेमेन्ट उद्योग भन्न सुरु भइसकेको छ । किनभने हामीसँग खल्ती, ई–सेवा, आइएमई–पे लगायत कम्पनी छन् । जीडीपीको ६ प्रतिशत मात्र डिजिटाइज भएको छ । १०/१५ वटा जति नयाँ कम्पनीहरु आए भने एउटा नयाँ भिजन लिएर आउनु हुन्छ । तर, बजारलाई बदनाम चाहिँ गर्नु भएन । यस्तो कुराहरू सदैब आवश्यकता हुन्छ । हिजोसम्म यी कुरा आवश्यकता थिएन । आज एक दिन सर्भर डाउन भयो भने लाखौं मानिसलाई समस्या हुन्छ । धेरै क्षेत्रलाई डिजिटल पेमेन्टमा ल्याउन बाँकी नै छ । पुरानाले पनि नयाँ ढाँचामा काम गर्नु पर्ने आवश्यकता छ ।
ग्राहकहरूलाई खल्तीले के–कस्ता सेवा सुविधा दिइरहेको छ ?
डिजिटल सम्बन्धी धेरै सेवा सुविधाहरू खल्तीमा उपलब्ध छन् । रेमिट्यान्स तथा फन्ड ट्रान्सर्फरको सुविधा त भइ हाल्यो । खल्तीबाट अबको दिनमा डिजिटल पेमेन्ट उपलब्ध गर्ने, क्यापिटल मार्केटमा हामी विस्तारै आइरहेका छौं । त्यो वाहेक क्यूआर पेमेन्ट गर्नेदेखि लिएर टिभीको रिचार्ज गर्नेसम्मका काम गरिरहेका छौं । फिजिकलबाट डिजिटलमा कसरी लिएर आउने त्यसका लागि थोरै भएर पनि रिवार्ड, रोयल्टी स्किम पनि छ ।
आजको दिनमा क्यास ब्याकहरू राम्रो नै लेबलमा लगानी गरी रहेका छौं । फिजिकल गरिरहेका डिजिटल आउँदा केही सेवा सुविधा थप हुन पर्याे । अन्य विभिन्न स्कीमहरू पनि ल्याइरहेका छन् । अहिले हाम्रो प्लेटफर्म मार्फत् दैनिक २ लाखभन्दा बढीले ‘कुइज’ खलिरहेका छन् । अब यो संख्या १०/१५ लाखसम्म पुग्छ । एउटा एपबाट १०/१५ लाखले आफ्नो ज्ञान बढाइ रहेको छन् । त्यो एउटा गर्वको कुरा पनि हो । यसमा फरक–फरक सेग्मेन्ट लिएर आउँछौं । अरूले नदिएको सेवालाई खल्तीमा ल्याएर जोड्ने काम गरिरहेको छौं ।
लगानीकर्तालाई खल्तीले के कस्तो प्रतिफल दिइरहेको छ ?
कुनै पनि व्यापारको तिन वटा फेज हुन्छ । अधिग्रहण, सक्रियता र मनिटाइजेसन । यसमा सबैको आ–आफ्नो सिद्धान्त हुन्छ । अधिग्रहण भनेको सकेसम्म बढीभन्दा बढी मान्छे यो सेवा चलाओस् भन्ने हुन्छ । आएपछि त्यतै बसोस् र चलाओस् भन्ने हुन्छ । त्यसपछि मात्र रेभिन्यु बनाउन थाल्ने हो । हामीले आजको दिनमा हेर्ने हो भने जति बजारको आवश्यकता छ त्यो अझै छ । अगाडि नै लाभांश नै बाड्छु भन्ने पनि हुँदैन ।
मैले ५० करोड कमाए भने आज एक करोड रुपैयाँ लगानी गर्नुपर्ने आवश्यकता छ । अझै पनि यो २÷३ वर्ष निरन्तर चलिरहन्छ । त्यसपछि मात्र लगानीयोग्य बन्छ । पैसा नकमाउने हैन । दैनिक १८ करोड रुपैयाँको कारोबार गरिरहेका छौं भने त्यहाँ केही पैसा छ । त्यसमा पनि पहिलो प्राथमिकता भनेको हाम्रो बोर्ड अथवा म्यानेजमेन्ट के कुरामा विश्वस्त छ भने अझै ३ वर्ष कमाएको र थप आइडी सर्भिस यडिस्नल पैसा बजारमा लगानी गर्नु पर्याे । हामीले यो लाइनमा काम गरिरहेका छौं ।
खल्तीले बजारमा सेवा गर्न थालेको ६ वर्ष भइ सकेको छ, कतिपय कम्पनीले पब्लिकमा जाने पनि इच्छा देखाउँछन्, यस विषयमा केही सोच्नु भएको छ ?
हामीलाई राष्ट्र बैंकले पब्लिकमा जानुपर्छ भन्ने कुरा गरेको छ । पब्लिकमा गएको ३ वर्षपछि आईपीओमा जानै पर्छ । प्राइभेट लिमिटेड कम्पनीबाट सुरु भए पनि पब्लिकको लगानी भएको कम्पनी खल्ती हो । यो भनेको यहाँ पब्लिकको पैसा छ । खल्ती पब्लिकलाई सेवा दिने कम्पनी हो । हामी ५/६ वटा संस्थालाई सिस्टम बनाएर बेच्ने संस्था हैन । आईपीओ पनि निकाल्छौं । तर, त्यसको लागि समय लाग्न सक्छ । त्यसमा जानु भन्दा अगाडि गर्नुपर्ने धेरै कामहरू छन् ।
आगामी दिनमा खल्ती कसरी अगाडि बढ्छ, भावी योजनाहरू के–के छन् ?
हामीले सर्वसाधारणलाई बढीभन्दा बढी सेवा दिने हो । खल्तीले बनाएका प्रडक्ट र सर्भिस राम्रो होस् भन्ने हिसाबले काम गरिरहेका छौं । गत वर्ष गरेको कामको आधार बनाएर थप नयाँ काम गर्दै जाने हो । ३/४ वर्ष पछि खल्ती सबैभन्दा ठूलो कर्पोरेट हाउस रूपमा विकास गरेर अगाडि बढ्ने सोच्मा छौं । अहिले हामीसँग २ सय जान कर्मचारीहरू हुनुहुन्छ । हामीले सोल्टी मोडमा एउटा हब खोलेका छौं । केही समयपछि पोखरा र चितवनमा नयाँ शाखा खोल्दैछौं । डिजिटल काम भएको कारणले शाखाको धेरै आवश्यकता थिएन । तर, पनि नयाँ शाखा खोल्ने सोच बनाएका छौं । हामीले ७ वटै प्रदेशमा एक/एक वटा शाखा खोल्ने सोच बनाएका छाैं ।
सम्बन्धित समाचार :
Copyright © 2024 Bikash Media Pvt. Ltd.