२०७९ कार्तिक १९ गते १५:५३ विकासन्युज
एजेन्सी । चिनियाँ दुरसञ्चार कम्पनी हुवावेले आफ्नै अपरेटिङ सिस्टम निर्माणको अन्तिम चरणमा पुगेको जनाएको छ । कम्पनीका अध्यक्ष यु चेंगडोंग ले चिनियाँ दुरसञ्चार कम्पनी हुवावेले ४ वर्षको निरन्तर प्रयासमा आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस’ निर्माणको परिपक्क चरणमा पुगेको शुक्रबार बताएका छन् । युका अनुसार अहिलेसम्म हार्मोनी प्रविधि जडित उपकरणको संख्या ३ सय २० मिलियन पुगिसकेको छ, जो पछिल्लो वर्षको तुलनामा १ सय १३ प्रतिशतले बढी हो । हार्मोनी ओएस उत्पादनहरुको ढुवानी २ सय ५० मिलियन नाघेको छ, जुन अघिल्लो वर्षको तुलनामा २ सय १२ प्रतिशत बढी हो ।
अहिले हार्मोनी प्राणालीको उत्पादन र विकासमा २ मिलियन भन्दा बढी प्राविधिकहरु संलग्न भइरहेका छन् । अध्यक्ष युका अनुसार विश्वको मोवाइल प्रणालीमा सो प्रविधि द्रुतस्तरमा जोडिदै गएको छ । हार्मोनी प्रणाली जोडिएको डिभाइस जुलाइको अन्त्यसम्ममा ३ सय मिलियन भन्दा धेरै पुगेको अध्यक्ष युले सेप्टेम्बरमा खुलासा गरेका छन् । सोही समयसम्म हार्मोनी प्रणाली जोडिएको तेस्रो पक्षको प्रविधि संख्या १ सय ७० मिलियन पुगको थियो । उनका अनुसार हार्मोनी इतिहासमा नै सबै भन्दा छिटो विकास हुने ओएस बन्न सफल भएको छ ।
सन् २०२२ मा नयाँ विकसित प्रविधिको सन्दर्भमा हुवावे डेभलपर सम्मेलन गरिएको थियो, जुन प्रकारको सम्मेलन हुवावेले हरेक वर्ष गर्ने गर्छ । यस्ता सम्मेलनमा २५ हजार भन्दा धेरै कर्मचारी, विद्यार्थी, डेभलपर र विश्लेषक सहभागी हुने गर्छन् ।
सेन्जेनका उच्च तहका टेलिकम अधिकारीहरुले सन् २०१९ अगस्टमा हार्मोनी ओएसको लन्च गरेका थिए । जसको ३ महिनापछि गुगलले हुवावेलाई अपरेटिङ सिस्टममा प्रतिवन्ध लगाएको थियो । गुगलको प्रतिवन्धपश्चात हुवावेले निकै मेहेनत गरेर हार्मोनी ओएस निर्माण गरिरहेको छ, जसले स्मार्टफोन, कम्प्युटर र अन्य इलेक्ट्रोनिक प्रविधि सञ्चालन गर्न सकिने बताइएको छ । पछिल्लो समयमा हुवावेले हार्मोनी ओएसलाई इलेक्ट्रिक कारको लागि समेत विकास गरेको छ, जसको लागि उसले चिनियाँ कार निर्माता कम्पनी सेरेससँग सहकार्य गरेको छ । ग्लोबल टाइम्सबाट ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.