पहिलो किस्ताको रकम दुरुपयोग गर्नेलाई दोस्रोमा सहभागी नगराईने- प्राधिकरण

  २०७३ असोज ५ गते १६:१२     विकासन्युज

काठमाडौं, ५ असोज । भूकम्प पीडित जनतालाई घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने अनुदान रकम वितरणका क्रममा मापदण्डमा नपरेका व्यक्तिले पनि विभिन्न जिल्लामा अनुदान लिएको जानकारी प्राप्त हुन आएकाले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको ध्यानाकर्षण भएको छ ।

punarnirman_prdhikaran

गलत विवरण पेश गरी, झुक्याई वा अन्य कुनै कारणले अनुदान प्राप्त गर्ने सूचीमा नाम परेका तर अनुदान प्राप्त गर्ने मापदण्डमा नपरेका व्यक्तिले पनि विभिन्न जिल्लामा अनुदान सम्झौता गरी आफूले पेश गरेको विवरण झुठ्ठा ठहरे कारवाहीका लागि मञ्जुर गरी सम्झौता गर्ने गरेकोमा सम्झौताको शर्तलाई उल्लघंन गरेको जानकारी प्राप्त भएका छन् ।

भूकम्प पीडित जनताले प्राप्त गर्ने रकम गलत विवरण पेश गरी अनुदान लिएमा, उजुरी परेमा र छानविनपछि दोषी देखिएमा सरकारले प्रचलित कानून बमोजिम कारवाही गरी सरकारी बाँकी सरह असूल उपर गर्ने प्रावधान रहेकोले सम्झौता बमोजिम अनुदान रकम सदुपयोग गर्न, घर बनाउने काममा मात्र उपयोग गर्न र घर बनाउने समयमा मात्रै सुविधा अनुसार बैंकबाट रकम भुक्तानी लिन अनुरोध छ । पहिलो किस्ता रकम दुरुपयोग गरेको पाइएमा दोस्रो किस्तामा सहभागी नगराउने कानूनी प्रावधान रहेको समेत सबैलाई जानकारी गराइएको छ ।

त्यसैले गलत विवरण पेश गरी अनुदान सम्झौता गरेकालाई रकम नलिन र लिइसकेको भएमा तत्काल फिर्ता गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण सम्बन्धित सबैलाई हार्दिक अनुरोध गर्दछ । भूकम्पबाट घर पूर्ण रुपमा क्षति भएका, एकै परिवारको सदस्यको नाममा अर्काे स्थानमा घर नभएका र अनुदान सम्झौता गरी अनुदान प्राप्त गर्ने सूचीमा परेकाले मात्र अनुदान सहयोग रकम प्राप्त गर्न सक्नेछन् ।

भूकम्प अतिप्रभावित ११ जिल्लामा भूकम्प पीडित जनतासँग अनुदान सम्झौता भई घर पुनर्निर्माणका लागि सरकारले उपलब्ध गराउने पहिलो किस्ता ५० हजार रुपैयाँ बैंकबाट वितरण गर्ने क्रम जारी छ ।

असोज ४ गतेसम्म ४ लाख ५० हजार ३२ घरधनीसँग अनुदान सम्झौता भई बैंक खातामार्फत रकम भुक्तानी गर्ने क्रम जारी रहेको छ । भूकम्पबाट घर भत्किएका सबै घरधनीहरुलाई अनुदान वितरण प्रक्रियामा सहभागी गराइने नीति रहेकोले अनुदान प्राप्त गरेपछि भूकम्प प्रतिरोधी घर पुनर्निर्माण गर्न प्राधिकरण सम्बन्धित सबैमा हार्दिक अनुरोध गर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.