भूकम्प पीडितलाई तीन लाख दिने अन्तिम निर्णय आइतबार हुँदै, सरकारले सीर्इअाे ज्ञवालीसँग स्पष्टीकरण लिदै

  २०७३ असोज ६ गते २१:३३     विकासन्युज

काठमाडौं, ६ असोज । २०७२ सालको भूकम्प पीडितलाई घर बनाउन प्रतिपरिवार तीन लाख रुपैयाँ अनुदान दिने विषयमा अन्तिम निर्णय आइतबार हुने भएको छ । यस विषयमा निर्णय गर्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण निर्देशक समितिको बैठक असोज ९ गते आइतबार बस्ने तयारी भईरहेको र सो बैठकमा निजी घर पुनर्निर्माणका लागि भूकम्प पीडित जनतालाई एक लाख रुपैयाँ थप गर्ने एजेण्डा तय गरिएको पुनर्निमाण प्राधिकरणले जनाएको छ ।

अघिल्ला सरकारले घर पुनर्निर्माणका लागि भूकम्प पीडित प्रति परिवारलाई दुई लाख रुपैयाँ अनुदान दिने निर्णय गरेको वर्तमान सरकारले त्यसमा एक लाख थप गरी तीन लाख रुपैयाँ दिने घोषणा गरिसकेको छ ।

यस्तै तीन लाख रुपैयाँ निव्र्याजी ऋण उपलब्ध गराउने सम्बन्धमा, भूकम्प पीडित जनतालाई पहिलो किस्ताको रकम उपलब्ध गराउने सम्बन्धी ४५ दिने कार्य योजना र कार्य प्रगति अवस्था एजेण्डा तय गरिएको छ ।

प्राधिकरणको संगठनात्मक संरचना, कार्य प्रणाली र जनशक्ति व्यवस्थापन, प्राधिकरणकोे वार्षिक नीति, कार्यक्रम तथा बजेट पनि बैठकका एजेण्डा रहेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री भएपछि पहिलो पटक प्राधिकरणको निर्देशक समितिको बैठक बस्न लागेको हो । प्राधिकरणको निर्देशक समितिको अध्यक्ष प्रधानमन्त्री रहने कानूनी प्रावधान छ ।

यसैबीच बैठकका तयारी सम्बन्धमा प्राधिकरणका प्रमुख कार्यकारी अध्यक्ष सुशील ज्ञवालीले प्रधानमन्त्री दाहालसँग भेटी छलफल गरेका छन् । सो अवसरमा कार्यकारी प्रमुख अधिकृत ज्ञवालीले भूकम्प पीडित जनतालाई पहिलो किस्ताको रकम वितरण गर्ने कार्य उत्साहजनक र दु्रत गतिमा अघि बढेको जानकारी गराएका थिए ।

प्रधानमन्त्री दाहाल भने ज्ञवालीको कार्यशैलीप्रति असन्तुष्ट रहेको बताइएको छ । सरकारले ज्ञवालीसँग स्पष्टीकरण सोध्ने तयारी गरिरहेको स्रोतले बतायो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.