डोकोमै सुन्तला बेचेर मासिक दुई लाख आम्दानी गर्दै गुल्मीकी पार्वता पाण्डे

  २०७९ माघ १८ गते १५:४४     विकासन्युज

गुल्मी । गुल्मीकी पार्वता पाण्डेले डोकोमै सुन्तला बेचेर दुई लाख आम्दानी गरेकी छिन् । जिल्लाको रेसुङ्गा नगरपालिका–४ की पाण्डेले सडक छेउमै बसेर यो समयमा मात्र दुई लाख आम्दानी गरेकी हुन् । मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्ड पश्चिम गुल्मीको मुख्य सडक हो ।

यही सडकखण्ड अन्तर्गतको राँयढुङ्गामा पुस पहिलो सातादेखि माघ दोस्रो सातासम्म डोकोमै सुन्तला बेचेर सोही रकम कमाएको उनको भनाइ छ । उनले विगत सात वर्षदेखि पुस र माघ महिनामा सुन्तला बेचेर प्रत्येक वर्ष दुई लाख रुपैयाँ आम्दानी गर्दै आएका छिन् । न्यूनतम प्रतिकिलो ८० देखि अधिकतम दुई सय सम्ममा पाण्डेले सुन्तला बिक्री गर्छिन् ।

‘सुन्तलाको बजारीकरणमा कुनै पनि समस्या छैन’, उनले भनिन्, ‘सवारीमा आवतजावत गर्नेले रोकिएर सुन्तला किनेर जान्छिन् ।’ पाण्डे सुन्तला बिक्रीको लागि घरदेखि १५ मिनेट पैदल हिँडेर राँयढुङ्गामा आउँछिन् । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सुन्तला बिक्री गर्छिन् । स्थानीय जातको रसिलो सुन्तला भन्दै किन्ने पनि सन्तुष्ट भएर जाने गरेको पाण्डेले बताइन् ।

उनले सडक छेउमा आएर सुन्तला बेच्न थालेको सात वर्ष भयो । सजिलै घरेलु उत्पादनको बजारीकरण गरेर आम्दानी गरिरहेको उनीसँग अनुभव छ । पाण्डेले सामान्य प्रकारको जीविकोपार्जनका लागि विदेशकै बाटो रोज्नु गलत भएको बताउँछिन् । उनका श्रीमान् नारायण पनि सुन्तला खेती र भैँसी फार्ममा व्यस्त छिन् । उनीहरुको फार्ममा १५ वटा भैँसी छन् । जसबाट दैनिक ३५ लिटर दूध जिल्लाको सदरमुकाम तम्घास बजारमा बेच्दै आएकी छिन् । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.