बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक चाँडै संसद्मा पेस गरिने

  २०७३ कार्तिक २ गते १४:२७     विकासन्युज

nrbकाठमाडौं, २ कात्तिक । बैंकिङ क्षेत्रको सुधारका लागि ल्याउन लागिएको बैंक तथा वित्तीय संस्थासम्बन्धी कानुनमा संशोधन र एकीकरण गर्न बनेको विधेयक चाँडै संसद्मा पेस गरिने भएको छ । व्यवस्थापिका–संसद् अर्थसमितिको मंगलबारको बैठकले उक्त विधेयकलाई व्यवस्थापिका–संसद्को बैठकमा चाँडो पेस गर्ने गरी समितिबाट अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरेको हो ।

समितिका सभापति प्रकाश ज्वालाले समितिको आगामी बैठकमा विधेयकमाथि दफाबार छलफल गरेर अन्तिम रुप दिने र त्यसका लागि अर्थमन्त्री, राष्ट्र बैंकका गभर्नर एवम् पूर्व अर्थमन्त्रीसँग अनौपचारिक छलफल गरेर निष्कर्षमा पुग्ने बताए । उपप्रधानमन्त्री तथा अर्थमन्त्री कृष्णबहादुर महराले बैठकमा लामो छलफल भई धेरै समस्याको समाधान भइसकेको अवस्थामा चाँडो विधेयकलाई अगाडि बढाउन समितिलाई आग्रह गरे ।

वर्षौंसम्म विधेयकलाई रोक्न नहुने उनको भनाइ थियो । “सबै विषय ऐनमा नै हुनुपर्छ भन्ने भन्दा पनि नियम तथा निर्देशनबाट समेत नियमनका काम गर्न सकिन्छ त्यसतर्फ ध्यान दिँदै जनताको अपेक्षालाई सम्बोधन गर्नुपर्छ,” उनले भने ।

त्यसैगरी बैठकमा सहभागी पूर्व अर्थमन्त्री एवम् सांसद डा रामशरण महतले कानुनले सबै व्यवस्थापन गर्न खोज्नेभन्दा पनि त्यसका लागि अन्य उपाय अवलम्बन गरी चाँडो विधेयकलाई अगाडि बढाउनुपर्नेमा जोड दिए । बैठकमा सांसदहरु शक्ति बस्नेत, इच्छाराज तमाङ, उदयशमशेर राणा, विमल केडिया, जगदिशनरसिंह केसी, सुवोध पोखरेल, दीपक कुइँकेल र शेरबहादुर तामाङले आ–आफ्नो धारणा राखेका थिए ।

यस्तै नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले बैंक तथा वित्तीय संस्था निजीभन्दा पनि जनताको निक्षेप सङ्कलित सार्वजनिक संस्था भएकाले बैंकको सुरक्षाका लागि नियमन निकायलाई सबल बनाउनुपर्नेमा जोड दिए । अर्थसचिव डा शान्तराज सुवेदीले बैंक तथा वित्तीय संस्था जनताको विश्वासमा चल्ने भएकाले त्यसलाई कायम राख्नका लागि व्यक्तिगत स्वार्थभन्दा माथि उठेर ऐन तयार गरिनुपर्ने बताए ।

त्यसैगरी राजस्व सचिव राजन खनालले बैंक डुब्दा जनताको लगानी जोखिममा पर्ने र बैंक तथा वित्तीय संस्थाबाट जनताको रकम नोक्सानी भएमा सरकारले व्यहोर्नुपर्ने भएकाले त्यसतर्फ सबैको ध्यान जानुपर्नेमा जोड दिए। रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.