जापान जान चाहने अधिकांश विद्यार्थीको सीओई रद्द, यस कारण पाउँदैनन् अध्ययन अनुमति

  २०७९ फागुन १५ गते १५:३७     विकासन्युज

काठमाडौं । जापानको टोकियोमा अध्ययन भिसामा जान चाहेका नेपाली विद्यार्थीहरुले पछिल्लो केही वर्ष यता अनुमति पाउन छाडेका छन् । टोकियोमा अध्ययनको लागि भिसा आवेदन प्रकृयाको प्रारम्भिक चरणमा नै नेपाली विद्यार्थीहरु अस्विकृत हुने गरेको काठमाडौंस्थित कन्सल्टेन्सी सञ्चालकहरुको भनाइ छ ।

जापान नेपाली विद्यार्थीहरुको एउटा महत्वपूर्ण रोजाइ मध्येमा पर्ने मुलुक हो । जापान जान चाहने धेरै नेपालीहरुले पहिलो रोजाई टोकियोलाई बनाउने गर्छन । तर, तीन वर्षदेखि जापानको टोकियोमा अध्ययन अनुमति प्रकृयाको प्रारम्भिक चरणमा नै नेपाली विद्यार्थी अस्विकृत हुने गरेका छन् ।

जापानिज ल्याङ्गवेज स्कुल एशोसिएसन अफ नेपालका महासचिव अरुण पाण्डेले विगत ३ वर्षदेखि जापानको टोकियोले अत्यन्तै कम नेपाली विद्यार्थीलाई मात्र अध्ययन अनुमति दिने गरेको बताए । ‘भर्खरै आउन शुरु भएको नतिजा हेर्दा टोकियो इमिग्रेसनको लगभग ५ प्रतिशत पनि छैन’, उनले भने, ‘टोकियोमा नतिजा बिग्रेको ३ वर्ष भयो, टोकियोले विद्यार्थी लिन नमानेको हामीले देखिरहेका छौं ।’

जापानमा १८ वर्ष पूरा भएको र प्लस टु पास भएको विद्यार्थीले अध्ययन अनुमतिको लागि आवेदन गर्न सक्छन् । तर कस्तो सर्टिफिकेट भएको विद्यार्थी लिने भन्ने विषयमा भने त्यहाँका स्कुलहरुले आ–आफ्नो मापदण्ड बनाएका हुन्छन् । नेपाली विद्यार्थीहरुले अध्ययन अनुमति किन पाउन सकेनन् भन्ने विषय भने आफूहरुले जान्न नसकेको महासचिव पाण्डेले विकासन्युजलाई बताए ।

कोभिड महामारीपछि जापान जाने विद्यार्थीको संख्यामा वृद्धि भएपनि टोकियोमा भने कम विद्यार्थीले अनुमति पाउने गरेको जापानिज ल्याङ्गवेज स्कुल एशोसिएसन अफ नेपालका अध्यक्ष देवकोटाको भनाइ छ ।

पछिल्लो समयमा विश्वव्यापी रुपमा नै बढ्दै गएको महंगीको प्रभाव जापानमा पनि परेको छ । जसले गर्दा जापानी परिवेशमा दैनिकी जीवन महंगो हुँदै गएको छ । पछिल्लो ३ वर्षदेखि जापान सरकारले उपभोग्य करमा वृद्धि गरेर ७ प्रतिशत पुर्याएको जालसानका महासचिव पाण्डेले बताए ।

जापानमा अध्ययन भिसामा गएका विद्यार्थीहरुले कानूनी रुपमा हप्तामा २८ घण्टामात्रै र विदाको समयमा काम गर्न पाउने उनले बताए । तर, बढेको महंगीका कारण भने जापानमा विद्यार्थीहरुलाई काम गरेर कलेजको शुल्क बुझाउने र दैनिकी खर्च उठाउन नै समस्या हुँदै गइरहेको धेरैले प्रतिक्रिया दिन थालेका छन् । महंगी र विदेशी विद्यार्थीलाई तोकिएको काम गर्ने समयको विषयमा जापानको संसदमा पनि कुरा उठेको र पारिश्रमिकको विषयमा पनि नयाँ व्यवस्था हुने सम्भावना रहेको उनले बताए ।

के छ जापानमा अध्ययन भिसा आवेदन प्रकृया ?
जापानिज ल्याङ्गवेज स्कुल एशोसिएसन अफ नेपालका महासचिव अरुण पाण्डेका अनुसार जापानमा अध्ययनको लागि कम्तिमा १८ वर्ष पूरा भएको र प्लस टु पास भएका विद्यार्थीहरुले आवदेन गर्न सक्छन् । त्यसरी विद्यार्थी भिसामा आवेदन गर्दा पहिला विद्यार्थीहरुले निश्चित समयको भाषा स्कुलमा पढ्नुपर्ने हुन्छ ।

त्यसैले उल्लेखित शर्त पूरा भएका इच्छुक विद्यार्थीहरुले जापानको कुन ठाउँमा अध्ययन गर्ने हो सो का आधारमा कन्सल्टेन्सी मार्फत स्कुल छनोट गरेर सम्बन्धित स्कुलमा आवेदन गर्छन् । ‘त्यसरी आवदेन गर्दा विद्यार्थीले आफ्नो राष्ट्रिय परिचयपत्र खुल्ने नागरिकता वा पासपोर्टको फोटोकपी र प्लस टु पास भएको सर्टिफिकेट र ट्रान्सकिप्ट पठाउनुपर्ने हुन्छ’, पाण्डेले भने ।

उनका अनुसार विद्यार्थीले छनोट गरेको स्कुलले विद्यार्थीको आवेदनलाई स्वभाविक ठानेमा योग्यताको प्रमाणपत्र (सिओई)का लागि सम्बन्धित क्षेत्रको अध्यागमन विभागमा पठाउँछ । त्यसपछि अध्यागमन विभागले विद्यार्थीलाई योग्यताको प्रमाणपत्र दिने वा नदिने निर्णय गर्छ । योग्यताको प्रमाणपत्र प्राप्त गरेका विद्यार्थीलाई मात्रै स्कुलले अध्ययनमा जानको लागि आवश्यक कागजात प्रकृया अगाडि बढाउने अनुमति दिन्छ । त्यसपछि मात्रै विद्यार्थीले कलेजले उपलब्ध गराएको कागजात र पासपोर्टका आधारमा भिसाको लागि राजदुतावासमार्फत आवेदन प्रकृया अगाडि बढाउन सक्छ ।

कोरोना महामारीको समयमा नेपाली विद्यार्थीहरु विदेश अध्ययनको लागि जान पाएका थिएनन् । त्यसपछिका समयमा भने ठूलो संख्याका नेपाली विद्यार्थीहरु अध्ययनका लागि विदेश जान थालेका छन् । अहिले शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाबाट दैनिक दुई देखि छ सय जना विद्यार्थीले एनओसी लिने गरेका छन् । उक्त शाखाका अनुसार साउन देखि मङ्सिरसम्म ३८ हजार ६१ जाना विद्यार्थीले देश बाहिर पढ्न जानका लागि वैदेशिक अध्ययन अनुमति पत्र (एनओसि) लिएका छन् । जसमध्ये जापान पनि विद्यार्थीहरुको महत्वपूर्ण रोजाइको देश बन्ने गरेको छ । तर, केही वर्ष यता जापानको टोकियोलाई केन्द्र बनाएर अध्ययन भिसाको लागि प्रयास गरेका विद्यार्थीहरुलाई निरन्तर रुपमा हातमा सुन्य लाग्दा उनीहरु निराश बन्दै गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.