२०७९ फागुन २४ गते १०:४८ सन्तोष रोकाया
काठमाडौं । हजुरबुवा सुनसरीको जमिनदार । बुबा पञ्चायतमा पटक–पटक मन्त्री भइसकेको । हुनेखाने परिवारमा जन्म । घरको कान्छो छोरी । अपुग केही थिएन । न घरका मान्छेले काम गर्नु पर्छ भनेर ‘प्रेसर’ दिएको नत कुनै बाध्यता । तर, केही गर्नु पर्छ भन्ने हुटहुटी वर्षा श्रेष्ठमा सानैदेखि थियो ।
त्यो हुटहुटी, हिम्मत र हौसलाले आफ्नो हैसियत खडा गरिन् वर्षाले । वर्षा ६१ वर्षकी भइन् । तर, त्यो उमेरको नैराश्यता उनमा कत्ति पनि छैन । ‘कामप्रतिको उनको लगाव, झुकाव र समर्पणले धेरैले उनलाई बेला–बखत सोध्ने गर्छन्, ‘तपाईंलाई ६१ वर्ष पुगेकै हो ?’
वर्षा श्रेष्ठले तीन दशक बैंकिङ क्षेत्रमा काम गरिन् । तर, यति लामो समयको अनुभव, अवसर र अभिलाषाहरुको बिट मार्दै उनी रेटिङ एजेन्सी इक्रा नेपालमा प्रवेश गरिन् । उनी हाल सो कम्पनीको बिजनेस हेड (प्रमुख कार्यकारी अधिकृत सरह) भएर काम गरिरहेकी छन् । बैंकिङ क्षेत्रबाट सम्हालेको सम्बन्ध, सहिष्णुता र सद्भावले उनी फरक क्षेत्रमा पनि एक सफल र अब्बल व्यवस्थापकका रुपमा परिचित छिन् ।
‘म कामलाई सर्वोपरी ठान्छु, अहिलेसम्म धेरै ठाउँबाट अफरहरु पनि आए, त्यसमा म अब्बल छु कि छैन थाहा छैन तर मार्केटले मलाई नियालिरहेको हुने रहेछ, मेरो कामलाई राम्रोसँग निगरानी गरेकै कारण नोटिस गरेको होकि जस्तो पनि लाग्छ, म जहाँ काम गर्छु, सन्तुष्ट र खुसी भएर गर्छु, मलाई पैसा र पोजिसन क्षणिक लाग्छन्,’ उनले सुनाइन् ।
यो सबै सन्तुष्टि र सफलताको श्रेय उनी आफ्नो मेहेनतलाई दिन्छिन् । सानैदेखि मेहेनत गर्न रुचाउने वर्षाको जन्म एक सम्पन्न परिवारमा भएपनि त्यो परिवेशको प्रतिफलमा भने उनले खासै चासो राखिनन् । आफ्नै मेहेनत, संघर्ष र स–परिवारको साथले सक्षम हुनु पर्छ भन्ने मान्यता आफुले सानैदेखि राखेको उनी बताउँछिन् ।
वर्षा श्रेष्ठको जन्म सुनसरीको इनरुवामा भयो । सानै छँदा उनी काठमाडौं आइन् । काठमाडौंको सेन्ट मेरिज स्कूलमा कक्षा २ बाट पढाइ सुरु गरिन् । एउटा गाउँबाट आएको विद्यार्थी । काठमाडौंको टप स्कूलमा पढ्न साँच्चिकै सकस थियो । तर, त्यो सकसकाबिच सफलता हासिल गरिन् उनले । स्कूलले २ कक्षाबाट अपग्रेड गरेर ४ कक्षामा राख्यो ।
‘गाउँबाट आएको, अंग्रेजी खासै आउँथेनँ, तर विस्तारै मेहेनत गर्दै गएँ, मेरो मेहेनत र राम्रो पढाइकै कारण स्कूलले २ कक्षाबाट ४ कक्षामा अपग्रेड गर्यो, त्यो क्षण म कहिल्यै बिर्सिन सक्दिनँ,’ उनले आफ्नो विगत स्मरण गर्दै भनिन् ।
सेन्ट मेरिजबाट कक्षा १० पास गरेपछि उनले इन्स्टिच्यूट अफ मेडिसिनबाट एचए पास गरिन् । त्यो पनि फष्र्ट डिभिजनमा । उनमा परिपक्वता आइसकेको थियो । हुन त घरमा काम गर्नै पर्ने बाध्यता थिएन । आर्थिक अवस्थाले सम्पन्न थियो उनको परिवार । तर, आफै कमाएर ‘सस्टेन’ गर्न सक्नु पर्छ भन्ने मानसिकता उनमा थियो ।
‘बुबा मन्त्री क्वाटरमा बस्नुहुन्थ्यो, मन्त्रीको छोरी भएपछि धेरैमा त्यो किसिमको घमण्ड हुन्छ, त्यो ‘प्राइड’को प्रतिफल धेरैले चाहन्छन्, तर मेरो बुबाले हामीलाई सम्बन्ध र संस्कार सिकाउनु भयो, इमान र इज्जत बुझाउनु भयो, संघर्ष र सहनशिलता महसुस गराइदिनु भयो, त्यसले पनि मेरो जीवनमा ठूलो टेवा पुग्यो,’ उनले भनिन् ।
डाक्टर बन्ने दौडमा बैंकर बनेपछि
वर्षा श्रेष्ठ मेडिकल क्षेत्रको विद्यार्थी हुन् । पढाइमा राम्रो भएपछि कि डाक्टर या इञ्जिनियर बन्ने लक्ष्य धेरैको हुन्छ । त्यो लक्ष्य वर्षामा पनि थियो । डाक्टर बन्नैका लागि एचए पढिन् । एचए पास गरेपछि प्रसुति गृहमा काम सुरु गरिन् । तर, त्यो कामले उनलाई खुसी बनाउन सकेन ।
‘हुन त म सेवा गर्न रुचाउँछु, तर अरुको पीडा सहन सक्दिनँ, इमर्जेन्सीमा आएका गर्भवती महिलाहरुको छटपटी, बिरामीहरुको त्यो चिच्याहट, अहँ, म त्यसमा रमाउन सकिनँ, १ वर्षमै प्रसुति गृहको काम छोडेँ,‘ उनले करिअर सुरु गर्दै गर्दाका क्षणहरु सुनाउँदै भनिन्, ‘त्यतिखेर विदेशको पनि राम्रो स्कोप थियो तर मलाई स्वदेशकै सपना बुन्नु पर्छ भन्ने लाग्यो ।’
हुन त बुवा पावरमै थिए । जागिर नपाइने भन्ने थिएन । उनलाई आफ्नै मेहेनतले जागिर गर्नु पर्छ भन्ने थियो । प्रसुति गृहमा काम छोड्ने बित्तिकै नेपालमा अरब बैंक (अहिलेको नबिल बैंक) खुल्यो । उनका साथीहरुले सो बैंकमा आवेदन दिन सल्लाह दिए । उनले आवेदन दिइन् । अन्तार्वार्ता पनि दिइन् । नाम पहिलो नम्बरमा निस्कियो ।
बैंकिङको विषयमा नबुझेकी उनको नाम पहिलो नम्बरमा नै आएपछि उनमा हिम्मत बढ्यो । इन्ट्री लेभलबाट बैंकमा काम सुरु गरेकी उनी नबिल बैंकको म्यानेजरसम्म बनिन् । ‘म टेलरमा काम गर्थें, बिहान ८ बजे अफिस गएर राति ८ बजे घर फर्किनु मेरो दैनिकी थियो, तर मैले कामलाई कहिल्यै बोझका रुपमा लिइनँ, म एक्टिभ रुपमा काम गर्ने भएकै कारण पनि हुन सक्छ सरहरुले पनि राम्रो साथ दिनु भयो, १२ सय ८० रुपैयाँ तलबमा बैंकमा काम गरेकी थिएँ, म्यानेजर हुँदा १ लाख बढी भइसकेको थियो,’ उनले बैंकमा काम गर्दै गर्दाका क्षणहरु सम्झिँदै भनिन् ।
नबिल बैंकमा उनले साढे २४ वर्ष काम गरिन् । बैंक प्रवेश गरेको ६ महिनामै प्रमोशन भएर टेलर हेडको जिम्मेवारी पाइसकेकी थिइन् । सन् १९८४ मा बैंकिङ इन्ड्रष्टीमा प्रवेश गरेकी उनी सन् २००८ मा नबिल बैंकबाट बाहिरिन् ।
पहिलो महिला जीएम
हुनत वर्षा श्रेष्ठलाई पैसा र पोजिसन क्षणिक लाग्छन् । साढे २४ वर्षको लामो समय नबिल बैंकमा काम गरेकी उनले सो बैंकमा पैसा नकमाएको होइन, पोजिसन पनि नपाएको होइन । इन्ट्री लेभलबाट प्रवेश गरेकी उनी म्यानजेर बनिसकेकी थिइन् ।
तर, अवसर बनेर आएका अफरहरुलाई कसले पो रोक्न सक्छ र । त्यस्तै अवसर उनलाई पनि आयो, क्लिन इनर्जी डेभलपमेन्ट बैंकको जनरल म्यानेजर (जीएम) बन्ने । सन् २००८ मा सो बैंकको जीम बनिन् । वर्षा नै बैंकमा जीएम बन्ने पहिलो नेपाली महिला हुन् ।
उनले आफु बैंकको जीएम बनेको कुरा आमालाई सुनाइन् । त्यतिखेर आमाले भनेको कुरा स्मरण गर्दै वर्षाले हामीसँग भनिन्, ‘तिमि कुन साइतमा जन्मेछौ छोरी, हाम्रो र हाम्रो परिवारको नाम राख्यौ ।’
त्यतिखेर क्लिन इनर्जी डेभलपमेन्ट बैंक सानो नै थियो । उर्जा क्षेत्रमा लगानी बढाउने सो बैंकको उद्धेश्य थियो । जतिबेला नेपालमा असाध्यै बढी लोडसेडिङको समस्या थियो । ‘कामसँगै देशका लागि पनि केही गर्नु पर्छ भनेर म क्लिन इनर्जी डेभलपमेन्ट बैंकमा गएकी थिएँ, सुरुवाती दिनहरु पक्कै पनि चुनौतिपूर्ण थिए, तर चुनौतिलाई अवसर ठानेर काम गरियो, एक्सपोजरको पनि अवसर मिल्यो, राष्ट्र बैंकबाट पनि साथ मिल्यो,’ उनले भनिन् ।
उनले सो बैंकमा कार्यवाहक सीईओको रुपमा पनि काम गरिन् । तर, विडम्वना उनी सीईओ बन्न भने पाइनन् । कामकै व्यस्तताले उनले स्नातक तहको पढाइ पढ्न पाइनन् । सीईओ बन्नको लागि स्नातकको पढाइ चाहिन्छ । सोही कारण आफुले सीईओ बन्ने धेरै अवसरहरु गुमाएको उनी सुनाउँछिन् । तर, नपढेकोमा भने उनलाई कत्तिको पनि हिनताबोध छैन । बेलाबखत उनलाई छोराछोरीले भनेको कुरा सम्झिन्छिन्, ‘आमा तपाईं पिएचडीभन्दा बढी ज्ञान र अनुभव हासिल गरिसक्नु भएको छ, डकुमेन्ट किन आवश्यक पर्यो ?’
पछि नेपाल राष्ट्र बैंकले मर्जरको नीति ल्यायो । क्लिन इनर्जी डेभलपमेन्ट बैंक एनएमबि बैंकसँग सन् २०१५ मा मर्ज भयो । साढे ७ वर्ष सो बैंकमा काम गरेकी वर्षा बैंक मर्ज भएसँगै बैंकबाट बाहिरिन् । तीन दशकको बैंकिङ अनुभवलाई बिट मार्दै उनी प्रवेश गरिन् इक्रा नेपालमा । तपाईं मर्जरको चेपुवामा पर्नु भएको हो ? भन्ने हाम्रो प्रश्नमा उनले जवाफ दिँदै भनिन्, ‘होइन, उनले प्रतिप्रश्न गर्दै भनिन्, ‘पैसा र पोजिसनकै लागि भए मैले नबिल बैंक किन छोड्थेँ ? मलाई काम प्रशस्त गर्नु पर्छ भन्ने लाग्छ ।
‘संस्थालाई काम गर्ने मान्छे चाहिन्छ, काम गरेपछि संस्थाले पनि चिन्छ, म नबिलमा बसेको भए अझैँ प्रमोसन पनि हुन्थ्यो, टेलरबाट म्यानेजरसम्म पुगिसकेको थिएँ, तर मेरो डकुमेन्टले साथ नदिएकोले म सीईओ बन्न सक्दिन भन्ने ढुक्क थिएँ, मैले प्रमोसनको लागि भनेर कहिल्यै काम गरिनँ, काम देखेरै त्यो लेभलसम्म प्रमोसन भएको हुँ, उनले भनिन्, ‘अहिले जुन स्थानमा छु, खुसी छु, सन्तुष्ट छु ।’
परिवारको अटुट साथ
नबिल बैंकमा काम सुरु गरेको अर्को वर्ष वर्षाले विवाह गरिन् । त्यसको अर्का वर्ष छोरी पाइन् । बिहान ८ बजेदेखि रातिको ८ बजेसम्मको ड्युटी । छोरीको कियरको लागि काम छाडौं भन्ने कुरा उनको मनमा नआएको होइन । तर, घरको मान्छे र उनको श्रीमानले काम नछोड्न सल्लाह दिए ।
ज्वाइन्ट फ्याम्ली । श्रीमान व्यवसायी । घरपरिवारले जागिरको निरन्तरता दिन ठूलो सहयोग गरे । जसले उनलाई काम गर्न थप हौसला मिल्यो । अहिले उनको एउटा छोरा र एउटी छोरी छिन् । छोरा अमेरिकामै सेटल छन् । छोरीले आफ्नै बिजनेस गरिरहेकी छन् । वर्षा इक्रा नेपालको बिजनेस हेड छिन् । त्योसँगै विभिन्न सामाजिक संस्थामा पनि आफु आवद्ध रहेको उनी बताउँछिन् ।
‘छोराछोरी आत्मनिर्भर भएपछि एक किसिमको स्वतन्त्रता मिल्दो रहेछ, इक्रामा आवद्ध भएपछि मेरो दैनिकी पनि व्यस्त छ, घरमा अहिले म र श्रीमान मात्रै छौं, जतिसम्म बाँचिन्छ, सक्रिय रुपमा काम गर्ने रहर छ,’ उनले भनिन् ।
कतिपय पलहरु वर्षालाई नमिठो पनि लागेका छन् । दुःखदायी क्षणहरु पनि उनले भोगेगी छन् । साइँली दिदीको क्यान्सरको कारण मृत्यु हुनु, आमाबुबा र सासुससुरा केही वर्षकै अन्तरालमा गुमाउनु, मुटुरुपी छोराको सर्जरी गर्नु परेका ती क्षणहरु वर्षाका लागि हृदयविदारक लाग्छन् ।
‘सफल बन्ने लक्ष्य लिऔं’
वर्षा आफुले जुनसुकै काम गर्दा पनि त्यसमा सफल हुनु पर्ने मान्यता राख्ने बताउँछिन् । ‘म यो काम गर्छु, त्यसपछि यो बन्छु भनेर कहिल्यै योजना बनाउँदिनँ, काम मात्रै गर्न मन पराउँछु, मेरो कुनै लक्ष्य नै छैन तर काम गरेपछि त्यसमा सफलता भने पाउनु पर्छ भन्ने लक्ष्य हुन्छ,’ उनले आफ्नो अनुभव सुनाइन् ।
आफु जहाँ गएपनि म्यानेज गर्न सक्छु भन्ने कन्फिडेन्ट भएको उनी बताउँछिन् । ‘मैले आफु पछाडिकाहरुलाई पनि म जस्तै तयार पार्छु, सिस्टम तयार गर्न सक्नु पर्छ, सिस्टम बनाएर काम गर्यो भने कुनै समस्या हुँदैन, काम गर्दै जाँदा एकदिन अवश्य नै सफल भइन्छ,’ उनले भनिन् ।
६१ वर्षको उमेरमा पनि उनको अनुहारमा एक किसिमको चार्म छ । काम गर्नु पर्छ भन्ने सक्रियता ओइलाएको देखिँदैन । ‘सबैले रिटायरमेन्ट हुने समय भएन र भनेर सोध्छन्, उनले सुनाइन्, ‘मलाई अझै पनि काम गर्ने चाहना छ, म नेटवर्किङ बनाउन चाहन्छु, हिजो म बैंकमा हुँदा १० लाखको काम गर्ने मान्छे अहिले १० अर्बको काम गर्छन्, ती मान्छेहरुसँग मेरो सम्बन्ध छ, सबैभन्दा ठूलो सम्पत्ति सम्बन्ध हो ।’
उनी निरन्तरको प्रयास र लगाव झुकावले नै सफलता हासिल गर्न सकिने बताउँछिन् । ‘हामीले आफ्नो क्षमता बढाउने हो, महिला भनेर पछि पर्ने अभ्यास धेरैको छ, तर त्यस्तो भाव राख्नु हुँदैन, अल्छि हुनु भएन, एकदिन अवश्य नै सफल भइन्छ, उनले भनिन्, ‘म बैंकको जीएम बन्दा साथीले मेसेज गरेर तिमी पहिलो महिला जीएम भनेको थियो, तर त्यो थाहा नै थिएन, मलाई पोजिसनभन्दा काम प्यारो लाग्छ, काम गरौं, सफलता हासिल गरौं ।’
Copyright © 2024 Bikash Media Pvt. Ltd.