२०७९ फागुन २४ गते १७:२४ मञ्जरी पौडेल
काठमाडौं । काठमाडौंको एक मध्यमवर्गीय परिवारमा जन्मिएकी हुन् पुजन ढुंगेल । घरकी जेठी छोरीको रुपमा जन्म लिएकी ढुंगेल संयुक्त परिवारको परिवेशमा हुर्किइन् । बुबा एनआईडीसीमा जागिरे । आमा शिक्षिका । काठमाडौंकै रैथाने र परिवार नै शिक्षित भएकोले पुजनलाई शिक्षादिक्षाबाट कुनै बञ्चित हुन परेन । पुजनलाई पढ्न प्रोत्साहन र ठूलो भएपछि केही बन्न सानैदेखि प्रोत्साहन गर्नुहुन्थ्यो उनको बुवाआमाले ।
पुजनको स्कूलिङ ललितपुरको सानेपास्थित ज्ञानोदय बालबाटिका स्कूलबाट भयो । जहाँ उनले १० कक्षासम्मको शिक्षा हासिल गरिन् । वि.सं. २०५१ सालमा एसएलसी (हालको एसईई) पास गरिन् । अरुको नजरमा राम्रोमा गनिन्थिन् उनी ।
एसएलसी सकिएपछि पुजनलाई अब के गर्ने ? के पढ्ने ? भन्ने भयो । त्यतिबेलाका आम व्यक्तिको एउटै सपना हुन्थ्यो की डाक्टर बन्ने की त इञ्जिनियर । पुजनले भावी दिनमा डाक्टर बन्ने सपना बुनिन् र एसएलसीपछि उच्चतह अर्थात प्लसटुको शिक्षाको लागि उनले विज्ञान विषय रोजिन् । विज्ञानमा पनि माइक्रो बायोलोजी अर्थात सूक्ष्म जीवविज्ञानमा उनको रुची थियो ।
समय बित्दै गयो । प्लसटुपछि केही गर्नुपर्छ भन्ने जोश उनमा जाग्यो । र, एउटा गैर सरकारी संस्थामा आवद्ध भइन्, बर्ड कन्जरभेसन नेपाल (पंक्षी संरक्षण नेपाल)मा । ‘मलाई खाली समय यत्तिकै बस्न मन लाग्दैनथ्यो, आइएसस्सी सकिएपछि बर्ड कन्जरभेसन नेपालमा आवद्ध भएँ,’ उनले भनिन्- ‘मैले जबको रुपमा होइन स्वेच्छाले काम गरेकी हुँ ।’
उक्त संस्थामा पुजनले ६/७ महिना मात्रै काम गरिन् । त्यसपछि स्नातक (ब्याचलर) पढ्नको लागि उनी काठमाडौंको घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा पुगिन् । र, ब्याचलर अफ साइन्स (बीएससी)मा स्नातक गरिन् ।
अहिलेका युवाहरुमा विदेश जाने हुटहुटी बढी नै छ । त्यस्तै, पुजनलाई पनि त्यतिबेला बाहिर जाने खुब रहर थियो । तर, पछि उनको मुड बदलियो । र, बाहिर जाने योजनाबाट पछि हटिन् ।
वि.सं. २०५७ सालमा पुजनको स्नातकको पढाइ सकियो । स्नातकको पढाइ सकिएपछि उनको विवाहको कुरा आयो । वकिलसँग विवाह गरिन् । सो समयमा व्यवस्थापन संकायमा धेरैको आकर्षण थियो । डाक्टर बन्न विज्ञान विषय रोजेकी पुजनले एकाएक संकाय परिवर्तन गरेर व्यवस्थापन क्षेत्रमा गइन् ।
काठमाडौंको पुतलीसडकस्थित शंकरदेब क्याम्पसमा स्नातकोत्तरका लागि एमबिएसमा भर्ना भइन् । स्नातकोत्तर अध्ययन गर्दै गर्दा पुजनले जब करियरलाई पनि अघि बढाउने सोच बनाइन् । कामका लागि विभिन्न ठाउँमा प्रयास गरिन् । पत्रपत्रिका पढ्ने उनको रुची थियो । समाचार मात्रै होइन, जागिरको लागि विभिन्न कम्पनीले खुलाएका भ्याकेन्सीहरु पनि नछुटाई पढ्थिन् पुजन । र, विभिन्न ठाउँमा आवेदन पनि दिन्थिन् ।
एमबिएसको पढाइ पनि सकियो । जागिरकै लागि पुजनले धेरै चुनौतिको सामना गरिन् । संघर्ष गरिन् । जहाँ खुल्छ, त्यहिँ आवेदन दिइन् । लोकसेवादेखि नेपाल राष्ट्र बैंकसम्म काम गर्ने प्रयास गरिन् । तर, नाम निस्केन ।
‘सबैतिर नाम पनि ननिस्किने, नेपाल राष्ट्र बैंकमा पनि दिएको थिएँ, नाम निस्केन, कतै नाम निस्किहाले पनि आफैलाई चित्त नबुझ्ने, त्यतिबेला सानो बच्चा पनि थियो, बाहिर जान सक्ने अवस्था थिएन, त्यस्तो जागिर गर्ने इच्छा लागेन,’ उनले आफ्नो विगत स्मरण गर्दै भनिन् ।
विभिन्न ठाउँमा जागिरका लागि आवदेन दिने, परीक्षा दिने शिलसिला रोकिएको थिएन । यही शिलसिलामा पुजनले एभरेष्ट बैंकमा पनि आवेदन दिइन् । नाम पनि निस्कियो । अब उनी बैंकर बनिन् । ‘बल्लबल्ल बैंकमा जागिर पाएको, खुशीको सीमा थिएन,’ उनले भनिन् ।
प्लसटु पछि एक संस्थामा आवद्ध रहेकी पुजनको वास्तविक जब करियर भने एभरेष्ट बैंकबाट शुरु भयो । वि.स २०६२ सालमा उनी बैंकमा ‘इन्ट्री लेभल’मा प्रवेश गरिन् । सबै सहकर्मीहरु परिवार जस्तो लाग्थ्यो उनलाई । बैंकमा काम गर्दागर्दै उनले पत्रिकामार्फत् बीमा समिति (अहिलेको बीमा प्राधिकरण)मा भ्याकेन्सी खुलेको थाहा पाइन् ।
‘त्यतिखेर बीमा समिति कस्तो संस्था भन्ने थाहा नै थिएन, संस्था त के नाम नै सुनेको थिइनँ,’ विगत स्मरण गर्दै उनले भनिन्- ‘धेरै जनासँग सल्लाह गर्दा यो पनि एउटा नियामक हो, राष्ट्र बैंक जस्तो हो भन्ने थाहाँ पाएँ, र परीक्षा दिएँ, नाम पनि निस्कियो ।’
बीमा समितिमा नाम निस्किएपछि बल्ल-बल्ल जागिर पाएको एभरेष्ट बैंकसँगको सम्बन्ध एक वर्षमै छुटाउनु पर्ने बाध्यता आयो । अब उनको कामको सुरुवात बीमा समितिमा अधिकृत तहबाट भयो ।
किन छोड्नु भयो बैंकको जागिर ? हामीले प्रश्न गर्यौं । जवाफमा उनले भनिन्, ‘बीमा समिति पनि एउटा नियामक हो, स्कोप छ, बीमा बढ्दो मार्केट हो, र, सोचेँ यहाँ काम गरेर केही गर्न सकिन्छ, वेल स्टाब्लिस्ड ठाउँमा भन्दा ग्रुमिङ्ग क्षेत्रमा राम्रो हुन्छ भन्ने सोचेँ, र, पछि समितिमा काम गर्ने निर्णय गरेँ ।’
यसरी टुट्यो डाक्टर बन्ने इच्छा
पुजनको पारिवारिक अवस्था मध्यम थियो । बुबा एनआईडीसीमा जागिरे । आमा शिक्षिका । घर काठमाडौंमैं । भाडा तिर्नुपर्ने समस्या थिएन । पुजनको दुई जना बहिनीहरु । एउटी बहिनी (प्रिति) । आर्टिटेक्ट इन्जिनियर, जो हाल न्यूओर्कमा बस्छिन् । कान्छी बहिनी (प्रतिभा) डाक्टर छिन् ।
पुजनको पनि डाक्टर बन्ने इच्छा थियो । त्यसैले विज्ञान विषय रोजिन् । कोचिङ्ग कक्षाहरु पढिन् । परीक्षाहरु दिइन् । कतै नाम निकाल्नै गाह्रो त कतै केही समस्या । ‘डाक्टर पढ्न धेरै शुल्क लाग्ने, त्यो बेलामा पैसा पुरै निकालेर एक जनालाई मात्रै पढाउन पनि सम्भव थिएन,’ मुख मलिन बनाउँदै पुजनले भनिन्, ‘त्यसले पनि डाक्टर बन्न बाधा पुग्यो ।’
हाल ढुंगेलको दुई जना छोराहरु छन् । जेठो छोराले प्लस टु सकेर चार्टर्ड एकाउन्टेन्ट (सीए) पढ्दैछन् भने कान्छो छोरा कक्षा ९ मा अध्ययनरत छन् ।
बीमा प्राधिकरणको फर्ष्ट लेडी
एमबीएस पढेकी पुजनले बीमा समिति गएपछि एमपीए र एलएलबी पनि गरिन् । पुजन अहिले बीमा प्राधिकरणको पाँचौं बरियतामा छिन् । बीमा समितिमा प्रवेश गर्दा उनले यो स्थानमा पुग्छु भन्ने सोचेको नै थिइनन् । वि.सं. २०६३ सालमा अधिकृतबाट सहायक निर्देशक भइन् । सहायक निर्देशकबाट उपनिर्देशक र उपनिर्देशकबाट अहिले निर्देशक छिन् ।
वि.सं. २०७६ सालमा अर्थात १३ वर्षको अवधिमा उनी प्राधिकरणको पाँचौं बरियतामा पुगेकी छिन् । यो मात्रै कहाँ हो र ? उनी बीमा पाधिकरणको निर्देशक बन्ने पहिलो महिला हुन् । ‘म सहायक निर्देशकमा आउँदा पनि महिलामा पहिलो नै थिएँ,’ अहिले पनि निर्देशक छु, पहिलो नै हुँ,’ उनले गौरवका साथ भनिन् । त्यसैले पनि उनलाई डाक्टर भन्न नसकेकोमा रिग्रेट फिल हुँदैन ।
‘नयाँ क्षेत्रमा गएर केही योगदान गर्न सकिएला । अध्ययन गरेर केही गर्छु भन्ने एउटा मोटिभेसन थियो ममा र प्रवेश गरेँ । त्योबेलामा यो लेभलसम्म पुग्छु भन्ने सोचमा थिइनँ, व्यक्तिगत रुपमा मेरो करियर ग्रोथमा म सन्तुष्टि नै छु, यो उमेरमा यो पोजिसनमा आउनु नराम्रो होइन भन्ने लाग्छ,’ उनले भनिन् ।
सँगैका साथीहरुलाई बीमा बुझाउन रमाइलो लाग्ने गरेको अनुभव सुनाइन् । ‘हुन त बैंकमै बसिरहेको भएपनि ठूलो पोजिसनमा पुग्थेँ होला, तर यहाँ आएर पनि पश्चाताप महशुस भएको छैन, नयाँ क्षेत्रमा केही गरियो भन्ने लाग्छ, अहिले कतिपय नयाँ निर्देशिकाहरु आउँछ, यसमा हामीले पनि काम गरेका थियौं भन्ने एउटा सन्तुष्टि हुने रहेछ,’ उनले सुनाइन् ।
विगतमा बीमा क्षेत्रमा मान्छेहरुको आकर्षण थिएन । पुजनलाई पनि त्यस्तै लाग्थ्यो । तर, अहिले यहाँ काम गर्न आउने इच्छुकहरुको भीड देख्दा, फर्म भर्न र इन्क्वायरी गर्न आउनेहरुलाई देख्दा उनी मनमनै हर्षित हुन्छिन् । पछिल्लो समय बीमा क्षेत्रको चार्म बढ्दो छ । १४ वर्षमा बीमा क्षेत्रमा प्रवेश हुनेहरुको संख्या बढ्दो क्रममा रहेको बीमा प्राधिकरणको मानव संसाधन विभाग समेत हेरिरहेकी पुजन बताउँछिन् ।
जीवनमा अघि बढ्न मानिसले चुनौतीहरु सामना गर्नु नै पर्छ । पुजनले पनि जागिर पाउनको लागि होस् या जागिर पाएपछि नै किन नहोस् । धेरै नै चुनौतिहरु सामना गरिन् । पुजन बीमा समितिमा आवद्ध भएको १४ वर्ष भयो । व्यक्तिगत रुपमा भने खासै चुनौति सामना नगरेकी उनले विकास नभएको बीमा क्षेत्रलाई चिनाउनु उनको लागि संस्थागत चुनौति थियो ।
‘मान्छेहरुले चिन्दै नचिनेको क्षेत्रमा बीमा गराउन प्रोत्साहन गर्ने, विकसित गराउने भन्ने गाह्रै रहेछ, सर्वसाधारणदेखि सरकारसम्मका सबैलाई बुझाउनु पर्ने, ग्रुमिङ क्षेत्र भएकाले पनि धेरै चुनौति सामना गरियो,’ उनले सुरुवाति दिनहरु स्मरण गर्दै भनिन् ।
अब कार्यकारी निर्देशक
मान्छे एकपछि अर्को सफलता हासिल गर्न चाहन्छ । संघर्षले सफलताका पाइँलाहरु डोर्याउन मद्दत पुग्छ । बीमा प्राधिकरणकी निर्देशक पुजन ढुङ्गेलको अबको लक्ष्य पनि कार्यकारी निर्देशक बन्ने हो । यसको लागि पनि थुप्रै मेहेनत गर्नु पर्ने उनको बुझाइ छ ।
‘यसपछिको माथिल्लो पद कार्यकारी निर्देशक बाहेक अरु नभएको हुनाले पुग्न त पुगिन्छ, तर अब कति समय लाग्छ भन्ने मात्रै हो, र, पनि यसमा आशावादी नै छुँं,’ उनले भनिन् । प्राधिकरणको कार्यकारी निर्देशक बनेर बीमा क्षेत्रमै थप योगदान गर्ने र मान्छेलाई बुझाउन सक्ने उनको योजना छ ।
‘घरमा शिक्षित महिला भयो भने बालबालिका मात्र नभई परिवार नै शिक्षित हुन्छ भन्ने छ, अहिलेको सेरोफेरोमा महिलालाई धेरै नै अवसर छन्, घरमै बसेर पनि काम गर्न सकिने वातावरण आइसकेको छ, अनलाइनबाटै जब, अनलाइनबाटै बिजनेस गर्ने, सेयर कारोबार गर्ने लगायतका धेरै नै विकल्पहरु छन्, आफूले इनोभेटिभ भएर गरियो भने गर्ने ठाउँ धेरै नै छन्,’ उनले भनिन् ।
अहिले पुजन बीमा सम्बन्धी विभिन्न अन्तक्र्रियामा सामेल हुन्छिन् । यो क्रममा पछिल्लो समय बीमाप्रति मान्छेको बुझाई आफूले अपेक्षा भन्दा बढी रहेको सुनाउँछिन् उनी । तर, पनि बीमा शिक्षामा काम गर्न धेरै नै बाँकी रहेको उनी बताउँछिन् ।
नियामकको संस्थामा आवद्ध त्यो पनि उच्च पदमा रहेकी पुजनले कम्पनीहरु नियमनको क्रममा विभिन्न कम्पनीका सीईओहरुसँग अन्तक्र्रिया गरिरहेकी हुन्छिन् । सबैसँग फ्यामिलियरसँगै एक किसिमको शिष्टाचार मेन्टेन गर्छिन् उनी ।
‘हामी बीमा क्षेत्रको नियामक हो, एउटा राम्रो पब्लिक रिलेसन भएको कम्पनीको विरुद्ध लेख्नु पर्दा, निर्देशन दिनु पर्दा, थ्रेटको चुनौति हुने रहेछ,’ उनले थपिन्, ‘हुनत यो हाम्रो कर्तब्य नै हो, लेख्नु त परिहाल्यो, नियामक भएपछि त सहिलाई सही, गलतलाई गलत भन्नु धर्म नै हो, तर पनि हामीले कारवाही गर्छौं भनेर लेखिदिएपछि बजारमा उहाँहरुको छाप नराम्रो पर्छ नै ।’
तर, कानुनले भनेको काम गर्दा आजसम्म कोही कसैसँग डर नलागेको उनी बताउँछिन् । ‘अझै धेरै खुड्किलाहरु उक्लिनु छ, थप सफलता पाउनु छ, त्यसको लागि डेडिकेसन चाहिन्छ, भाग्यले साथ दिएर मात्रै हुन्छ भन्ने सोच पनि छ, तर त्योभन्दा पनि साच्चिकै मेहेनत गर्नुपर्छ जस्तो लाग्छ, कामप्रति डेडिकेटेड भइ कामलाई माया गर्नुपर्छ, त्यसपछि मात्रै सफलता पाइन्छ, सफलता पाएपछि आफूलाई छुट्टै मज्जा आउँछ,’ उनले भनिन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
so proud my siater pujan happy women’s day …
Proud of you pujan