२०७९ चैत २२ गते २१:५६ विकासन्युज
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले आगामी चैत्र २८ र २९ गते हुने ५७औँ वार्षिक साधारण सभामा सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने पहल सुरु गरेका छन् । महासंघको वरिष्ठ उपाध्यक्षमा तीन जना आकांक्षीहरुलाई एकै ठाउँमा राखेर सर्वसम्मत नेतृत्व चयन गर्ने किसिमले पहल सुरु गरेका हुन् । ढकाल आगामि साधारणसभाबाट स्वतः अध्यक्ष बन्दै छन् ।
बुधबार काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयमा वरिष्ठ उपाध्यक्षका तीनजना आकांक्षीहरु उमेशलाल श्रेष्ठ, रामचन्द्र संघई र अञ्जन श्रेष्ठलाई एकै ठाउँमा राखेर ढकालले सर्वसम्मत नेतृत्वको पहल गरेका हुन् ।
वरिष्ठ उपाध्यक्षका उम्मेदवारहरुलाई एकै ठाउँमा राखेर तीन जनालाई मिलेर अगाढि बढ्न आग्रह गरेका छन् ।
‘महासंघलाई सबै उद्योगी व्यवसायीहरुको साझा प्लेटफर्म बनाउनुपर्छ भन्ने मेरो धारणा हो, त्यसैले मैले महासंघमा सकेसम्म सर्वसम्मत नेतृत्व निर्वाचित गर्ने परम्परा बसालौ भन्ने हो, ७ वटै प्रदेशको निर्वाचन सकिएको छ र, सबै प्रदेशमा अधिकांश पदहरुमा सर्वसम्मत नेतृत्व निर्वाचित पनि भएका छन्, यसले महासंघमा राम्रो संस्कारको पनि विकास गरेको छ, यसै शिलशिलामा महासंघको केन्द्रको नेतृत्व पनि सर्वसम्मत हुनुपर्छ भनेर मैले पहल गरेको हो,’ ढकालले भने ।
उनले अहिले मुलुकको अर्थतन्त्र र व्यवसायीहरु समस्यामा रहेको बताउँदै यस्तो अवस्थामा निजी क्षेत्रबीच एकता र सहमतीको झनै ठूलो महत्व रहने बताए । ‘हामी एक भयौं भने मात्र निजी क्षेत्र बलियो हुन्छ,। हाम्रो महत्व बढ्छ, हाम्रा माग सम्बोधन गराउन सकिन्छ, अहिलेको अवस्थामा झन हामी एक हुनुको विकल्प छैन,’ उनले भने ।
उनले निजी क्षेत्रलाई चौतर्फी संकटले घेरिरहेको अवस्थामा व्यवसायीहरु बिभाजन नहुन पनि आग्रह गरेका छन् । एकता र सहकार्यबाट समाधान खाजेर अगाडि बढ्नु पर्न उनको भनाइ छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.