२०७९ चैत २९ गते १०:२४ विकासन्युज
चण्डिराज ढकाल, पूर्व अध्यक्ष नेपाल उद्योग वाणिज्य महासंघ
तपाई उद्योग वाणिज्य महासंघको तेस्रो उपाध्यक्ष भएदेखि सक्रियता एकनाश छ । चुनावी माहोलमा महासंघका अध्यक्ष वा वरिष्ठ उपाध्यक्षको कुनै एक उम्मेदवारलाई खुलेरै सपोर्ट गर्नुहुन्छ । तपाइले समर्थन गरेको उम्मेदवार सधैं जितेका पनि छन् । तपाइले समर्थन गरेको उम्मेदवारले जित्तुको आधार के हो ?
कुनै तात्विक जादु केहीमा पनि छैन । उद्योग वाणिज्य महासंघको नेतृत्व गर्दा उद्योगी व्यवसायीका समसामयिक समस्या, संस्थाको गतिविधि बुझ्न सक्ने उम्मेदवारलाई समर्थन गर्छु । महासंघको हैसियतलाई उभ्याउन सक्छ की सक्दैन भनेर गहन अध्ययन गर्छु । महासंघलाई दरीलो बनाएर राज्य पछिको ठूलो सञ्जाल भएको संस्थाको रुपमा उभ्याउन सक्ने व्यक्ति नेतृत्वमा पुग्नुपर्छ । नेतृत्वमा पुग्ने व्यक्तिले संस्थालाई दरो, सचिवालय सुदृढ र संस्थामा आवद्ध सदस्यहरुको अभिभावकत्व लिन सक्ने क्षमता हुनुपर्छ । विशेषगरी साना मझौला र ठूला उद्योगीको समसामयिक मुद्दालाई उद्योग वाणिज्य महासंघका तर्फबाट सक्रिय उपस्थिति गराउन सक्नुपर्छ ।
राज्य सत्ता, स्थानीय निकाय, सहकार्य गर्ने एजेन्सी, दातृराष्ट्रका विभिन्न निकायसँग सहकार्य गरेर अघि बढ्न सक्ने नेतृत्वले महासंघ चलाउन सक्छ । साथै सम्भावनालाई आन्तरिक पहिचान गरेर पूर्वाधार विकास, रोजगारी सिर्जना गर्ने, उद्योगी व्यवसायीको क्षमता अभिवृद्धि गर्न सक्ने चेम्बरको अभियानलाई शसक्त स्थापित गर्न सक्नुपर्छ । यदि महासंघको नेतृत्व गर्न शसक्त आधार देखेपछि मैले समर्थन गर्छु । मैले समर्थन गरेको नेतृत्वलाई तल्लो तहका उद्योमी व्यवसायीसम्म पस्किने प्रयास गर्छु ।
उद्योगी व्यवसायीहरुको कार्यक्रममा सधैं जाने र आउने गर्छु । देशभरीका उद्योगी व्यवसायीलाई समय समयमा भेट्ने गरेको छु । जिल्ला/नगरका समस्या, स्रोत र आधारलाई अगाडि बढाइरहेको हुन्छु । महासंघलाई दरिलो बनाउन उद्योगी व्यवसायीसँग नजिक हुने गरेको छु । महासंघको हरेक जिम्मेवारी र नेतृत्वको लागि जिम्मेवारीपूणर् ढंगले मेरो भावना, इच्छालाई बुझेर उद्योगी व्यवसायी नेतृत्वायी भूमिकामा पुर्याउन सहयोग गर्छन् । महासंघले उद्योगी व्यवसायीलाई परिचित गराएको छ । महासंघले व्यवसायिक मात्रै नभएर राज्यका विभिन्न निकाय, विभिन्न क्षेत्रमा चिनाएर काम गर्ने वातावरणको स्थिति बनेको छ । महासंघले उद्योगी व्यवसायीलाई एउटा ब्यानर र प्याटर्नको रुपमा सहयोग गर्न मद्दत पुर्याएको छ ।
महासंघमा रहेर उच्च संस्थाका रुपमा चिनाउन सफल भए । संस्थाभित्र बसेर आफ्नो परिचयलाई शसक्त बनाए । यहि क्षेत्रमा रहेर निरन्तर उद्योगी व्यवसायीहरुको भावनालाई सहजता कायम गरे । उद्योगी व्यवसायीहरुको काम गर्नपर्छ भन्ने मनस्थिति बनाएको छु । कतिपय विषयमा चुप्पचाप (साइलेन्ट) बस्छु भन्दा पनि समस्यामा परेका बेला नेतृत्वभन्दा पनि मेरो खोजी गर्नुहुन्छ । महासंघको नेतृत्वले काम गर्न नसकेपछि मलाई सम्झिनु हुन्छ । जिल्लामा कुनै समस्या पर्यो भने फोन गरेर सहयोग माग्नु हुन्छ । म पनि उद्योगी व्यवसायीसँग फोनलाई रेस्पोन्स गरेर संवाद गर्छु । मेरो क्षमताले भ्याएसम्म उहाँहरुका समस्या समाधान गर्न पहल गरेको छु । त्यसैल पनि उद्योगी व्यवसायीहरुसँग म ‘किप इन टच’ बस्छु ।
उद्योग व्यवसाय सञ्चलानमा देखिएका समस्या, वर्तमान आवश्यकता र वस्तुस्थितीसँग जानकारी राख्ने भएकाले उद्योगी व्यवसायीले नेतृत्व चयन गर्दा मेरो अनुरोधलाई आत्मसाथ गर्नुहुन्छ । मेरो अनुरोधलाई स्वीकार गरी परिणाममुखी नतिजा दिनुहुन्छ । म उद्योगी व्यवसायी साथीहरुसँग हिजो, आज र भोलि पनिसँगै हुनेछु ।
तपाईले जिताएका महासंघको नेतृत्व को को हुन् ?
कुश कुमार जोशीबाहेक म पछि अध्यक्ष भएकाहरु सबैलाई मैले निर्वाचनमा विजयी गराउन मद्दत गरेको हुँ । सुरज बैद्य, प्रदिपजंग पाण्डे, पशुपति मुरारका, भवानी राणा, शेखर गोल्छा र चन्द्र ढकाल महासंघको अध्यक्ष बन्नु भयो । यी सबै पात्रहरुले नेतृत्वमा पुग्नका लागि मसँग सहकार्य गर्नुएको हो । उहाँहरुको आफ्नो क्षमता पनि थियो । उहाँहरुले पनि प्रयास गर्नु भएको हो । तर, यी सबैलाई मैले इमानदारिकताका साथ अगाडि बढाउन चाहेको हुँदा आर्शीर्वाद र नेतृत्वमा पुग्ने माहोल बनेको हो । अहिले उमेशलाल श्रेष्ठलाई अगाडि बढाएका छौं । उहाँले पनि १ सय प्रतिशत चुनाव जित्नु हुन्छ ।
उमेशलालले चुनाव जित्ने आधार के छन् ?
पछिल्लो समय उद्योग वाणिज्य महासंघ नेतृत्व विहीन भएका महशुस हुन्छ । महासंघको इतिहासमा अभिभावक नपाएको महशुस अहिले भएको छ । निजी क्षेत्र प्रताडित र तड्पिरहेको छ । केही साथीहरुले आत्मदाह र आत्महत्या गरेका छन् । आन्तरिक र बाह्य चुनौति बढेका छन् । व्यवसाय बन्द गरेर सडकमा आन्दोलन गर्नुपर्ने स्थिति आएको छ । देशको अर्थतन्त्र नाजुक बनेको छ । सबै वर्ग समुदाय अहिलको यो चपेटामा परेको छ । यी समस्यासँग जुध्न सक्ने नेतृत्व अहिलेको आवश्यकता हो । अहिलेको वास्तविकता अध्ययन गर्दा राजनीतिक संस्कार भएको व्यक्ति आवश्यक छ । राजीतिक संस्कार भएको तर राजनीतिक नगर्ने निष्ठावान र प्रतिवद्ध भएर काम गर्नसक्ने व्यक्ति चाहिएको छ । निजी क्षेत्रका तमाम सवाललाई राज्य सत्ता र प्रत्यक्ष परोक्ष सरोकार राख्ने एजेन्सीसँग टेबलमा बसेर तर्कसंगत प्रस्तुत गर्न सक्ने व्यक्ति अहिलेको आवश्यकता हो ।
उमेशलाल श्रेष्ठ कम्युनिष्ट पार्टीका पहिलो महासचिव पुष्पलाल श्रेष्ठ र साहाना प्रधानको छोरा र पहिलो शहिद गंगलाल श्रेष्ठको भतिजो हुनु हुन्छ । उहाँ राजनीतिक परिवारमा जन्मिनु भएको हो । उहाँमा राजनीतिक संस्कार छ तर राजनीति गर्नु हुन्न । यदि उहाँ राजनीतिमा लाग्नु भएको भए प्रधानमन्त्री बन्ने लाइनमा हुनुहुन्थ्यो । उहाँले राजनीति नगरिकन व्यवसाय विस्तार गरेर फर्मास्यूटिकल्समा एक नम्बर उद्योगीका रुपमा स्थापित गर्नु भएको छ । महासंघका हिजोका गतिविधिमा उहाँले आफूलाई प्रस्ट रुपमा प्रस्तुत गर्नु भएको छ । उहाँमा पनि केही अवगुण हुन सक्छन् तर आजको दिनमा उद्योगी व्यवसायीको नेतृत्वमा जुन खाँचो छ, त्यो खाँचोलाई उहाँले केही हल गर्न सक्नु हुन्छ । त्यसैले पनि उमेशजीको जित शुनिश्चित छ । पहिलो चरणमा नै उहाँले ५७/६१ प्रतिशत मत ल्याएर जित्नु हुन्छ ।
महासंघको निर्वाचनमा हुने तपाईको दौडधूप यो अन्तिम हो कि आगामी वर्ष पनि लाग्नु हुन्छ ?
जीवन एउटा पद्धति हो । त्यो पद्धति भित्र सक्रिय जीवन बिताइरहेको अवस्थामा अन्तिम र सेकेण्ड लास्ट भन्न सकिँदैन । हिजोका दिनमा मसँग सहकार्य गरेका र सहभागी भएका सहयोद्धा साथीहरु नेतृत्वमा आउने परिस्थिती बन्यो र मेरो भूमिका महत्वपूणर् हुन्छ भने आगामी चुनावमा पनि सक्रिय हुन्छु । राम्रो नेतृत्वदायी भूमिका निर्वाह गरेर महासंघको हैसियत उच्च बनाउन सक्ने, उद्योगी व्यवसायीहरुको अपेक्षा र भरोशालाई केन्द्र बनाउन सक्ने व्यक्ति नेतृत्वमा आएपछि आनन्दले बस्ने सोच बनाएको छु । त्यसपछि सक्रिय भएर अघि नबढ्ने सोच बनाएको छु ।
महासंघका पूर्व अध्यक्षहरु मौन बसेको पाइन्छ, तपाई सधैं किन सक्रिय लाग्नु हुन्छ ?
पूर्व अध्यक्षहरु सबैजना सक्रिय हुनुहुन्छ । उमेशजीलाको टिममा विनोदजी, सुरज बैद्य सक्रिय हुनु हुन्छ । अन्जनको टिममा महेशलाल प्रधान, आनन्द गुल्मी, कुशजी लाग्नु भएको छ । उहाँहरु निर्वाचनको बेलामा मात्रै सक्रिय हुनुहुन्छ । निर्वाचनको बेलामा मात्रै जन्मकुण्डली पढ्न खोज्नु हुन्छ । तर, मान्छेहरुले जन्मकुण्डी पढ्दैनन् । उद्योगी व्यवसायी साथीहरुसँग निर्वाचन बाहेक अरुबेला सक्रिय हुनुहुन्न । मैले कसैलाई गाली पनि गरेको छैन । तर, उहाँहरु चण्ढि ढकाललाई गाली गरेर भोट माग्नु हुन्छ । चुनावबाहेकका समयमा देशभरीका साथीहरुलाई बोलाएर समस्या बुझ्नु पर्यो, समस्या समाधान गर्न तिर पहल चाल्नुपर्यो, कहिलेकाँही कोही व्यवसायी काठमाडौंमा आउँदा समस्या बुझ्ने प्रयास गर्नुपर्यो । उहाँहरुले उपत्यका बाहिरबाट कोही व्यवसायी आउनु भयो भने भेट नि गर्न मान्नु हुन्न, एक कप चिया/कफी खुवाउनु हुन्न । । निर्वाचनको ५/७ दिन अघि मात्रै ढ्याङ-ढ्याङ आवाज निकाल्नु हुन्छ । म साथीहरुको समस्यामा सधैं उभिने प्रयास गरेको हुन्छु । त्यसैले चुनावको बेलामा उहाँहरुले मेरो अनुरोधलाई स्वीकार पनि गर्नु हुन्छ ।
तपाईको समर्थनमा महासंघको नेतृत्व सम्हालेका व्यक्तिमध्ये धेरैले तपाईकै आलोचना गर्नु हुन्छ, किन ?
कसले भनेको कुरालाई मान्नु हुन्छ ? ४ जना पूर्व अध्यक्षहरुले गाली गरेको सत्य मान्ने की ४ सय उद्योगी व्यवसायीहरुले गरेको समर्थनलाई सत्य मान्ने हो ? मैले समर्थन गर्दा सहि हो र समर्थन नगरेपछि गाली गर्नु हुन्छ । हामीले महासंघको लागि लायक म्यान्डेटलाई समर्थन गर्छौं । फेरी निर्वाचित भइसकेपछि म आफैं बलियो थिए, मेरो आफ्नै क्षमताले जितेको भनेर घमण्ड देखउँछन् । त्यसले कसैलाई पनि फाइदा गर्दैन । म भन्दा पछि अध्यक्ष भएका व्यक्ति धेरै सक्रिय हुनु पथ्र्यो नि । तर, उहाँहरु किन हराउनु भयो ? कहाँ छ उहाँहरुको भूमिका ?
काठमाडौंबाहिर तपाईको प्रभाव बलियो छ । जिल्ला/नगर व्यवसायीहरुले नेताको रुपमा स्वीकार गर्नुहुन्छ । तर, काठमाडौंमा व्यवसायीहरुले महासंघको नेतृत्व अर्थात् ‘किङ मेकर’को रुपमा स्वीकार गर्दैनन्, किन ?
व्यक्तिगत रुपमा कसले के भन्छन् भन्नेतिर म जाँदिन । मलाई ‘किङ मेकर’ पनि बन्नु छैन । मलाई बनाउनु पनि पर्दैन । नेतृत्वमा जान चाहेको व्यक्तिलाई मैले समर्थन गर्यो भने चण्ढि ढकाल ‘किङ मेकर’ वा ‘टाइगर जिन्दा हे’ भन्नु हुन्छ । काठमाडौंका व्यवसायीहरुले पनि मलाई समर्थन गरिरहनु भएको छ । सबै मान्छे गुणैगुणले भरिएको हुँदैन । राजनेता भनिएका नेतृत्व माथि पनि टिकाटिप्पणी भइरहेका हुन्छन् भने म त साधारण व्यक्ति हो । मेरो जिम्मेवारी, व्यवसायीको भावना र वस्तुस्थितिलाई सहयोग गर्न तत्पर रहन्छु । उहाँहरुको समस्या समाधान गर्न बचन दिएको छु भने मैले दिएको बचन पनि पुरा गरेको हुन्छु । म जहिल्यै पनि समय सापेक्ष रुपमा निजी क्षेत्रका सवाललाई स्थापित गर्न सक्ने, राज्यसत्तासँग बसेर लबिङ गर्न सक्ने र नीतिगत अवधारणा, निर्देशिका ल्याउदा निजी क्षेत्रको भावनालाई स्थापित गर्न सक्ने नेतृत्व चाहिन्छ भन्ने व्यक्ति हो ।
सरकारले ल्याउने बजेट सरसर्ती नहेरी महासंघका नेतृत्वको हैसियतले स्वागत गर्छन् । आफैंले बनाएको बजेट जसरी उहाँहरु स्वागत गर्न जानु हुन्छ । दुई दिनपछि बजेटले खतम पार्यो भनेर कराउनु थाल्नु हुन्छ । उहाँहरु ‘सेलिब्रेटी’ बन्न खोज्नुहुन्छ । आफ्नो जिम्मेवारी र भूमिकालाई बिर्सेर ‘सेलिब्रेटी’बन्न थाले । यहि कारण अहिलेका समस्या आएको हो । जिल्ला/नगर, काठमाडौं मात्रै नभएर सबै क्षेत्रका व्यवसायीले मलाई माया गर्नु हुन्छ ।
महासंघ स्वयंसेवक भएर काम गर्ने संस्था हो तर तपाईको सक्रियताले स्वार्थका लागि लागेको भन्नेपनि पनि छन् । तपाईको स्वार्थ के हो ?
मेरो स्वार्थ छ । मैले सपोर्ट गरेको साथी जितोस् भन्ने चाहन्छु । त्यो भन्दा ठूलो स्वार्थ केही छैन । जित्नका लागि प्रतिस्पर्धा वा युद्धमा जानुपर्छ । युद्धमा गएपछि बन्दुकको गोली लाग्छ की भनेर डराउनु हुँदैन । उमेशलाल श्रेष्ठ, दिनेश श्रेष्ठ, हेमराज ढकाल, भरत राज आचार्यले चुनाव जितोस् भन्ने मेरो स्वार्थ हो । टिकाटिप्पणी गर्नेलाई ‘नाच्न नजान्ने आँगन टेडो’ भन्छु ।
मैले समर्थन गरेका चारै जनाले चुनाव जित्नु हुन्छ । तीन जनाले चुनाव जिति सकेका छन् । एशोसिएटका भरत जी, वस्तुगतका हेमराज ढकाल, जिल्ला नगरका दिनेशजीले चुनाव जिति सक्नु भयो । यदि भरतजीले चुनाव हार्नु भयो भने उहाँको आफ्नै कमजोरी हुनेछ । भोटरको कारणभन्दा पनि आफ्नै कारणले हारेको स्वीकार गर्नपर्छ । आगामी दिनमा उहाँले यसलाई सुधार गरेर अघि बढ्नुपर्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.