२०७३ कार्तिक २८ गते १२:५० विकासन्युज
काठमाडौँ ,२८ कात्तिक । उपत्यकामा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी साझा यातायातले बन्द आह्वानको पर्बाह नगरी आफ्नो सेवालाई आइतबार पनि निरन्तरता दिएको छ । बन्दमा सर्वसाधारणलाई सेवा पु¥याउन नियमित जस्तै ११ बसबाट सेवा दिइएको साझा यातायात प्रालिले जनाएको छ । साझाका उपत्यकाका सबै मार्गमा बस निर्बाध रुपमा सञ्चालन भइरहेको साझा यातायातका कामु कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले राससलाई जानकारी दिए ।
नेकपा (माओवादी)ले खाद्य सुरक्षाको माग गर्दै आज बन्दको आह्वान गरेको छ । बन्दले कामकाजी सर्वसाधारण मर्कामा परेका छन् भने उपत्यकामा पातलो सङख्यामा सवारी साधन गुडिरहेका छन् । साझाले विगतका बन्द, हडताल, भूकम्प र नाकाबन्दीका बेला पनि निरन्तर सेवा दिँदै आइरहेको छ । उसले तीन सय ६५ दिनै सेवा दिने घोषणा गरेअनुरुप महत्वपूर्ण चाड दसैँ, तिहार, छठ लगायत बेला पनि सेवा दिने गरेको जनाएको छ ।
नयाँ बस सञ्चालनको तयारी
साझा यातायातले उपत्यकामा थप सेवा विस्तार गर्नका लागि नयाँ ३० बस सञ्चालन गर्ने तयारी गरेको छ । मार्ग इजाजतका लागि वाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयमा निवेदन दिइएको र इजाजत पाउनेबित्तिकै सेवा सुरु गरिने कार्यकारी अधिकृत पाण्डेले बताए ।
उनका अनुसार साझाका नयाँ बस साझाको परिसरभित्रै छन् । साझाले हाल ४६ बस मार्फत सेवा दिँदै आएको छ । तीमध्ये आठ वटा लामो दूरीमा चल्छन् । गत दसैँदेखि साझाले गोरखा, लुम्बिनी, वीरगन्ज र भैरहवामा साझाले सेवा दिँदै आएको छ । रासस
Copyright © 2024 Bikash Media Pvt. Ltd.