२०७३ कार्तिक २९ गते १३:३५ विकासन्युज
काठमाडौँ, २९ कात्तिक । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले सरकारले नेपाली काँग्रेसकी नेत्री एवम् पूर्व परराष्ट्र मन्त्री सुजाता कोइरालालाई राज्यकोषबाट रु ५० लाख सहयोग दिइएकोमा संसदमा विरोध जनाएको छ ।
व्यवस्थापिका–संसद्को सोमबारको बैठकको विशेष समयमा बोल्दै एमालेका सांसद प्रकाश ज्वालाले कार्य्विधि नै नबनाई मनलाग्दी तबरले राज्यकोषबाट रकम वितरण गरिएकाले त्यसले जनतामा नराम्रो सन्देश गएको बताए ।
उनले भने – “जनता सिटामोल नपाएर मरिरहेका बेला पहुँचवाला व्यक्तिलाई रकम दिने विषय एकदमै नकारात्मक छ । मापदण्ड नै नबनाई रकम बाँडिनु पूर्णतः गलत छ ।’’
वर्तमान सरकार गठन भएलगत्तै पूर्व राष्ट्रपति डा.रामवरण यादवलाई ६० लाख रुपैयाँ बाँडिएको, उनका सहयोगीलाई समेत रकम र भत्ता प्रदान गरिएको तर रोल्पाकी एक महिला उपचार रकमको अभावमा भैरहवामा निधन हुनु कसरी तालमेल भयो भन्दै सांसद ज्वालाले आपत्ति जनाए ।
उपचार रकम नै दिनुपर्ने भए व्यवस्थित कार्य्विधि बनाएरमात्रै दिन र मनलाग्दी तबरले राज्यकोषको रकम नबाँड्न उनले सरकारको ध्यानाकर्षण गराए ।
यस्तै राप्रपा नेपालका सांसद दिलनाथ गिरीले पनि पहुँचका आधारमा राज्यकोषको रकम वितरण गर्ने प्रवृत्ति गलत भएको भन्दै स्वास्थ्यमन्त्रीले सदनलाई स्पष्ट पार्नुपर्नेमा जोड दिए ।
उनले स्वास्थ्यमन्त्रीले कार्यविधि ल्याउन लागेको भनेर प्रचार गराउने तर आफ्नै पार्टीका नेतालाई रकम वितरण गर्ने प्रवृत्ति पूर्णतः गलत भएको धारणा राखे ।
राष्ट्रिय जनमोर्चाकी सांसद मीना पुनले उपचारको अभावमा अस्पतालबाट हामफालेर मर्नुपर्ने, रोल्पाकी महिला उपचारको अभावमा मृत्युवरण गर्नुपर्ने तर पूर्वमन्त्रीजस्ता व्यक्तिलाई दबाबका आधारमा राज्यकोषबाट रकम दिने प्रवृत्ति गैरकानुनी र समानताको हकविपरीत रहेको बताइन् ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.