२०८० असार ३ गते १४:४२ विकासन्युज
काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था, नेपाल (ईप्पान) विभाजनको दिशामा गएको छ । जेठ ३२ गते भएको निर्वाचनमा उम्मेदवार बन्नबाट रोकिएका र विभिन्न चरणमा ईप्पानको निर्वाचनमा पराजित भएका उर्जा उत्पादकहरुले नयाँ संस्था खोल्ने तयारी थालेका छन् ।
गत साता सम्पन्न ईप्पानको निर्वाचनमा अध्यक्ष पदका आकांक्षी किरण मल्लको अन्तिम समयमा उम्मेदवारी खारेज भएको थियो । निर्वाचन मण्डलको उक्त निणर्यसँगै मल्ल र उनको समूहबाट उम्मेदवारी दर्ता गरेका केही व्यवसायीहरु संस्थापन समूहसँग आक्रोशित बनेका थिए ।
मल्लले निर्वाचनको अभियानमा आफूलाई सहयोग गर्ने व्यवसायीहरुलाई धन्यवाद दिन शनिवार सोल्टी होटलमा आयोजना गरेको रात्री भोजमा व्यवसायीहरुले ईप्पानको विकल्पमा नयाँ संस्था खोल्ने उद्घोष गरेका छन् । किरण मल्ल, गोरे शेर्पा, सूर्य प्रसाद अधिकारी, गोपाल निउरे, कृष्ण भण्डारी, लाककृष्ण केसी, कदम केसी लगायत व्यवसायीहरुले ईप्पानमा राजनीतिकरण धेरै भएको, ईप्पानले व्यवसायिका समस्या बोल्न छोडेको आरोप लगाए ।
उनीहरुले ईप्पानको विकल्पमा सबै उर्जा व्यवसायीलाई समेट्ने गरी उर्जा उत्पादक महासंघ बनाउने सम्मको घोषणा गरे । जलविद्युत उत्पादकहरुको मुख्य संस्था ईप्पान रहेपनि क्लिन इनर्जीको उत्पादन तथा व्यापार गर्ने ५ वटा संस्था दर्ता रहेको जानकारहरु बताउँछन् ।
मल्लले भने साधारणसभाबाट बनेको विधान संशोधन समितिमार्फत विधान संशोधन गराएर सबै व्यवसायीहरुलाई ईप्पानमा समेट्न पहिला जोड दिने बताए । यस्तो प्रयास सफल नभएमा नयाँ संस्था दर्ता गर्ने बताए ।
ईप्पानको साधारणसभाबाट भानु पोखरेल र हुमाकान्त चौलागाई रहेको विधान संशोधन समिति गठन भएको छ । त्यसमा कार्यसमितिबाट १ जना र विज्ञहरुबाट २ जना सदस्य थपेर ५ जनाको समिति बनाउने भनिएको छ । उक्त समिति गठन हुनुलाई मल्ल समूहले महत्वपूर्ण उपलब्धि मानेका छन् ।
समितिले ६ महिनाभित्र विधान संशोधनको लागि सुझाव दिने र त्यसलाई साधारणसभामा प्रस्तुत गर्ने योजना रहेको ईप्पानका नवनिर्वाचित अध्यक्ष गणेश कार्कीले बताए । असन्तुष्ट पक्षको माग अनुसार नै विधान संशोधन समिति गठन भएकोले सबै सदस्यहरुको सुझावलाई समेटेर विधान संशोधन हुने उनले बताए ।
संस्था दर्ता गर्न सजिलो भएको तर सदस्यहरुलाई संगठित गर्न र प्रभावकारी रुपमा सेवा दिन कठिन भएकाले नयाँ संस्था दर्ता हुने बित्तिकै त्यो प्रभावकारी नबन्ने पनि उनले बताए । ‘संस्था त अहिले धेरै छन्, तर ती संस्थाको संगठन कस्तो छ र प्रभावकारिता के छ भनेर पनि हेर्नुपर्छ,’ उनले भने ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.
PIINNLEASE OPEN MORE HYDRO SANG TO GIVE GOOD SUGGESTION TO NEPAL GOVT
INDIA WILL BUY ALL 10000MW IN TEN YEARS..