२०७३ मंसिर २ गते २०:३४ विकासन्युज
काठमाडौं, २ मंसिर । काठमाडौ र ललितपुरमा स्वास्थ्य मन्त्रालयको टोलीले चार दिन गरेको अनुगमनबाट अहिले सम्म ३० ओटा क्लिनीकहरु अवैध देखिएकाले तालाबन्दी गरेको छ । अनुगमन तथा मुल्यांकन महाशाखाका उपसचिव भवनाथ कोईरालाको नेतृत्वमा ललितपुरमा खटिएको टोलीले ७ ओटामा र व्यवस्थापन महाशाखाका उपस्वास्थ्य प्रशासक डा रामराज पन्थीको नेतृत्वमा काठमाडौमा खटिएको टोलीले ३ ओटामा तालाबन्दी गरिदिएको हो ।
ललितपुरको मानभवनमा रहेको रोयल आयुर्वेद प्राली, बञ्जारा आयुर्वेद क्लिनीक एण्ड फर्मा, शास्वत आयुर्वेद, आयुष्या पञ्चकर्मा हेल्थ होम एण्ड रिसर्च सेण्टर, कुमारीपाटीमा रहेको स्माईल प्लस डेण्टल केयर, बेटर स्माईल द डेण्टल केयर र एलाईट डेण्टल हस्पीटल प्रालीमा तालाबन्दी गरिएको उपसचिव कोईरालाले जानकारी दिए ।
ललितपुरमा बिहीबार कुल ११ ओटामा अनुगमन गरिएकोमा अरु तीन ओटालाई २४ घण्टे अल्टीमेटम सहितको पुर्जी दिइएको छ । अनुगमन गरेका मध्ये एउटामा मात्रै आधारभुत मापदण्डहरु पुरा भएको पाइएको कोईरालाले बताए । त्यस्तै काठमाडौको गंगोबुमा कुल १८ ओटामा अनुगमन गरिएकोमा तीन ओटामा तालाबन्दी भएको छ ।
अल स्माईल डेण्टल होम, एलाईट स्वास्थ्य क्लिनीक र अकुप्रेसर हेल्थ केयरमा तालाबन्दी गरिएको अनुगमन टोलीको नेतृत्व गरेका डा पन्थीले जानकारी दिए । दुवै टोलीले अनुगमनका क्रममा क्लिनीक तथा फार्मेसीहरुको दर्ता कागजपत्र ठिक अवस्थामा रहेको वा नरहेको बारेमा अनुगमन गरेको थियो ।
स्वास्थ्य मन्त्री गगनकुमार थापाको विषेश चासोमा अनुगमनमा खटिएको टोलीहरुको अनुगमन जारी रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयलाई संवन्धीत जिल्ला जनस्वास्थ्य कार्यालयहरुबाट प्राप्त विवरणहरुका अनुसार काठमाडौमा ४१५ ओटा, ललितपुरमा १७१ ओटा र भक्तपुरमा २१ ओटा अस्पताल, क्लिनीक र पोलिक्लिनीक दर्ता भएका छन् ।
बिहीबारदेखि बाँके, मोरङ्ग लगायतका जिल्लाहरुमा पनि अनुगमन सुरु भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले अहिले जारी अनुगमन दुईहप्ता सम्म संचालन गर्ने, उजुरी तथा गुनासोका आधार छड्के जाँच गर्ने, स्थानीय स्तरमा स्वमसेवक परिचालन गर्ने तयारी पनि गरिरहेको छ । कुनै निजि स्वास्थ्य संस्था स्विकृति र नविकरण नगरी मापदण्ड पुरा नभई सञ्चालन भएको थाहा पाएमा मन्त्रालयको चिकित्सा महाशाखामा उजुरी दिएर सहयोग गर्न मन्त्रालयले सवैलाई आह्वान गरेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.