‘क्लाउड ब्लास्ट हुँदा केही हाईड्रो काम नलाग्ने स्थितीमा छन्’

  २०८० असार ८ गते १६:३६     विकासन्युज

नेपालको पूर्वी भेगमा असार १ र २ गते आएको बाढीले डेढ दर्जन जलविद्युत आयोजनामा क्षति पुर्याएको छ । कोशी प्रदेशका संखुवासभा, ताप्लेजुङ र पाँचथर जिल्लामा निर्माणाधिन तथा निर्माण सम्पन्न भएका जलविद्युत आयोजनामा खर्बौं रुपैयाँ बराबरको क्षति पुर्याएको प्रारम्भिक अनुमान छ । साथै, बाढीका कारण मानवीय क्षति पनि ठूलो भएको छ । पूर्वी नेपालमा बाढीका कारण कति क्षति भयो भनेर एकिन तथ्याङ्क आउन भने बाँकी रहेको छ । यहि विषयमा केन्द्रित भएर अपर हेवाखोला हाइड्रोपावर कम्पनीका प्रबन्ध निर्देशक डेडराज खड्कासँग गरिएको कुराकानीको अंश :

असार १ र २ गतेको बाढीले पूर्वी नेपालका जलविद्युत आयोजनामा कति क्षति पुर्यायो ?

पूर्व नेपालमा बाढीका कारण कति क्षति भयो एकिन तथ्याङ्क आएको छैन । डेढ दर्जन बढी आयोजनामा क्षति भएको अनुमान गरिएको छ । आयोजनाहरुमा समान प्रकृतिको क्षति छैन । कुनैमा बढी क्षति भएको छ भने कुनै आयोजनामा कम क्षति भएको छ । खोला किनारा नजिक पावर हाउस राखिएका हाइड्रोमा बढी क्षति भएको छ भने अलिक टाढा पावर हाउस भएका आयोजनामा कम क्षति भएको देखिन्छ ।

उपर हेवा खोला प्रोजेक्ट ८.७५ मेगावाट क्षमताको हो । यस आयोजनाको इण्टेक हेडबक्समा असर गरेको छ । ठूलो बाढी आएको हुँदा सबै भत्काएर लगेको छ । ठूल्ठूला ढुंगाहरु ल्याएर पुरेको छ । कनेक्टिङ च्यानलको ठाउँमा कनेक्टिङ पाइप जडान गरिएको थियो । कनेक्टिङ पाइप पनि भाँचेको छ । दुई वटा साना खोलालाई मिसाउन क्रसिङ्ग ब्रिज बनाएर पानी ल्याइएको थियो । एउटा खोलालाई ढुंगाले हानेर पुल क्षतविक्षत बनाएको छ भने अर्काे पुलको जरै देखि उप्काएर लगेको छ । पावर हाउस जाने बाटो पनि छैन । पावर हाउसको प्रोटेक्सन पुरै सखाप पारेको भएपनि पावर हाउस भने सुरक्षित नै छ ।

अहिलेसम्म कति जति क्षति भएको अनुमान गर्नु भएको छ ?

कुन आयोजनाको कति क्षति भएको छ भन्ने एकदुई दिनमा सबै तथ्याङ्क आउँछ । अपर हेवाखोलामा भने २ वटा पुलसहित अन्य क्षतिको आँकलन गर्दा ४० करोड रुपैयाँ बराबरको क्षति भएको छ । यो स्टेमेट पूर्ण होइन । अन्य घाटाको हिसाव अलग्गै छ । यो प्रोजेक्टको कूल लागत १ अर्ब ४२ करोड रुपैयाँ हो । जसको एकतिहाई जति क्षति गरेको छ ।

यो नोक्सानी सबै कम्पनीले बेहोर्नु पर्छ ?

हामीले आयोजनाको बीमा गरेका हुन्छौं । बीमा कम्पनीले कति बेहोर्नु पर्छ भन्ने एकिन तथ्याङ्क आउन बाँकी छ । बीमा कम्पनीबाट पनि स्थलगत अवलोकन गर्न आउनु भएको छ । केही रकम बीमा कम्पनीले बेहोर्छ । नपुगेको हामीले थप्नु पर्छ । बीमा पोलिसी अनुसार हामीले कति रकम पाउने हो र कति दिने भनेर क्षतिको विवरण अनुसार आउँछ । यस्तै जोखिम कम गर्नका लागि बीमा गरिएको हो ।

हामीले प्रिमियम तिरिरहेका हुन्छौं । यदि कुनै बाढी पहिरो नआए वा घटना नघटेमा बीमा कम्पनीहरुलाई फाइदामा हुन्छ । यस्तै प्रकारका क्षति भयो भने बीमा कम्पनीलाई पनि घाटा हुन्छ । तर, बीमा कम्पनीलाई त्यति धेरै असर गर्दैन । किनकी उहाँहरुले पनि रिइन्स्योरेन्स गरेका हुन्छन् ।

संखुवासभामा कति वटा हाइड्रोपावरमा क्षति पुर्यायो ?

संखुवासभामा हेवा खोला, पिलुवा खोला र सवा खोला नदी बेशिनमा बनेका अपर हेवा खोला ८.५ मेगावाट, हेवा खोला ४.५ मेगावाट, सुपर हेवा खोला ५ मेगावाट, अपर पिलुवा खोला ४ मेगावाट, डाउन पिलुवा ९.९ मेगावाट, पिलुवा खोला ५ मेगावाट र सवा खोला ४ मेगावाट लगायतका आयोजनाहरूमा क्षति पुर्याएको छ । जसमध्ये नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत कम्पनीहरुमा पनि क्षति भएको छ ।

सखुवासभा, ताप्लेजुङ र पाँचथरको एउटै रेञ्जको मिल्के जलजले डाँडो छ । त्यहि डाँडोको वरीपरि वर्षा भयो । संखुवासभामा बग्ने पानी यतातिर र ताप्लेजुङ, पाँचथरतिर बग्ने पानी उतापट्टि क्षति गर्याे । त्यो दिन अत्यधिक वर्षा भएको देखिन्छ । एकैदिनमा १३२ मिलिमिटर पानी परेको रेकर्ड छ । यो क्षेत्रमा बढी पानी परेका कारण धेरै क्षति भएको हो । पक्कि पुल, झोलङ्गे पुल बगाएको छ । किसानहरुको खेतवारीहरु, पाकेको धानवाली बगाएको छ । खोलावरीपरिका जग्गा जमीन बगर बनाएको छ । हिजो ३०/४० मिटरको क्षेत्र भएको खोलाले दायाँवायाँ काटेर २ सय मिटरको बनेको छ ।

हामीले यस्तै अफ्ठ्यारो पर्न सक्छ भनेर बीमा गरेको हो । त्यसैले बीमा कम्पनीले पोलिसीमा जे उल्लेख छ उनीहरुले बेहोर्नु पर्छ । अहिले ठूलो क्षति भएको छ । हामीले आयोजनाको १२/१४ वर्षसम्म ऋण तिर्न समय लाग्छ । १५ वर्षपछि १० गुणा रोयल्टी र ट्याक्स बढेर जान्छ । ३० वर्ष पछि आयोजना राज्यलाई हस्तन्तरण गर्नु पर्छ । त्यसैले सरकारले पनि जिम्मेवारी र दायित्व लिनु पर्छ । किनभने हामीले ब्यक्तिगत फाइदाका लागि मात्रै लगानी गरेका होइनौं । राज्यको हितका लागि काम गरेका हुन्छौं । किनभने भोलिका दिनमा अर्बाैं रुपैयाँ बराबरका प्राजेक्टहरु राज्यलाई जिम्मा लगाउनु पर्छ । हामीलाई अफ्ठ्यारो परेको बेला वा प्रोजेक्टहरु कसरी दीगो बनाउने भनेर सरकारले पनि आफ्नो तर्फबाट दायित्व निर्वाह गर्नु पर्छ । राज्यले पुनकर्जाको सुविधा, ब्याजमा अनुदान र प्रोजेक्ट बनाउने समयवाधि थप गर्ने काम राज्यले गर्नु पर्छ ।

हाईड्रोपावरमा किन धेरै क्षति हुन्छ ? सामान्य क्षति हुनु स्वभाविक हो तर, शतप्रतिशत हुँदा निर्माण गर्दाको कमजोरी भएर हो ?

देशभरीका सबै खोलाहरुबाट ८३ हजार मेगावाट विजुली उत्पादन गर्ने सकिने हामीले भन्दै आएका छौं । हाइड्रोपावर बनाउन हामीले खोलामै जानु पर्छ । हाम्रो नेपाललाई न्यू माउन्टेन भनेर चिनिएको छ । न्यू माउन्टेन भनेको पछि बनेका पहाड हुन् । पछि बनेका पहाडहरु कमजोर हुन्छन् भन्ने अनुमान छ । अमेरिकाको रक्की पर्वत वा कडाचट्टान भएको पहाड जस्तो नेपालका पहाड छैनन् । कमजोर खालको चट्टानले बनेको भूगोल हो ।

खोलाहरुमा हाइड्रोपावर बनाउने काम आफैँमा चुनौतिपूर्ण छ । बनाउँदा खेरी पनि चुनौति नै हुन्छ । आयोजना निर्माण सम्पन्न भएपछि झनै चुनौतिपूर्ण हुँदो रहेछ । यदि जलविद्युत आयोजना बनाउँदै नबनाउने हो भने स्रोत साधनको उपयोग पनि हुँदैन । हामीले हाइड्रोपावर नबनाएको भए १८/२० घण्टाको लोडसेडिङ अन्त्य हुँदैनथ्यो । हामीले जोखिम मोलेर विभिन्न समस्याहरुसँग जुधेर हाइड्रोपावर बनाएर नै अहिले नेपालमा विजुली धेरै भयो भन्ने अवस्थामा पुग्यौं । निजी क्षेत्रले जोखिम बोक्यो हामीले आयोजना बनाएर क्षति हुन पुगेको होइन । हाम्रो भूगोल, खोलाहरुको नेचर, पानी पर्ने तरिका, जलवायु परिवर्तनले ल्याएको समस्या हो । । तर, हामीलाई गाह्रो परेको बेलामा सहयोग पनि हुनु पर्याे नी ।

सेप्टेम्बरबाट पानी परेको थिएन । मौषम विज्ञान विभागको सूचना अनुसार यस वर्ष ३५ देखि ५० प्रतिशत मात्रै वर्षा हुन्छ भनेको छ । तर, यो क्षेत्रमा एकैदिनमा १३२ मिलिमिटर वर्षा भइदियो । यस्तो अवस्थालाई बादल फाटेको (क्लाउड ब्लास्ट) भनिन्छ । एकै ठाउँमा भाँडोले पानी खन्याए जस्तो भयो । बादल फाटेपछि सामान्य अवस्था रहेन ।

एकैचोटी पानी खन्याए जस्तै वर्षा भएपछि पहिरो गयो । पहिरो गएपछि खोला थुनियो । एकैछिन पछि थुनिएको खोला एकैचोटी ब्लास्ट भएर ढुंगा माटो, लेदो, रुख विरुवा लगायतको मिश्रण भएर बग्न थाल्यो । जति तल आयो त्यति नै धेरै बाढीको मात्रा बढ्यो । १० मिटर उचाई भएर खोलामा लेदो बगेको थियो । त्यसैले धेरै क्षति गरेको हो । बादल फाटेर पानी पर्ने अभ्यास विगत केही वर्षदेखि भइरहेको छ । यसअघि गत वर्ष मेलम्चीमा पनि यस्तै भएको थियो । यसपटके ताप्लेजुङ, पाँचथर र संखुवासभाको रेञ्जमा बादल फाटेर पानी परेको हो । सरदर १०/२० मिलिमिटर पानी पर्नु पर्ने हो तर, १ घण्टामा १३२ मिलिमिटर पर्याे ।

हामी प्रकृतिसँग जुध्न सक्दैनौं तर, जोखिम कम हुने गरी पुर्वाधार निर्माण किन गर्न सकेनौं ? शत प्रतिशत क्षति गर्दा निर्माण प्रक्रियामा प्रश्न उठ्छ नी ?

सबै प्रोजेक्टमा एकनाशको क्षति भएको छैन । प्रोजेक्ट अनुसार फरक फरक क्षतिको आँकलन गरिएको छ । कुनै प्रोजेक्टहरुमा शतप्रतिशत क्षति भएकै हो । हामीले बनाएका प्रोजेक्टहरु ५ देखि २० मेगावाटसम्मका छन् । यसमा हाम्रो कमजोरी वा मानविय कमजोरी हुन्छ । तर, हामीले जति बलियो आयोजना भनायौं भनेपनि प्रकृतिसँग जुध्न भने कठिन हुन्छ । अहिलेको समस्या मानवीय क्षमताभन्दा बाहिरको हो । यदि यसमा हाम्रो मात्रै दोष् देखाउने हो भने अब देखि कसैले पनि हाइड्रोपावर नबाए हुन्छ । जोखिम बहन गर्न सक्ने गरी नै आयोजना निर्माण गरेका हुन्छौं । १ सय वर्षको भविष्य मापन गरेर बनाइएको हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.