२०८० असार ११ गते ७:४८ विकासन्युज
काठमाडौं । ललितपुरका एक व्यक्ति ३० लाख रुपैयाँ सापटी लिएर १ करोड २६ लाख रुपैयाँ बुझाउँदा पनि ऋण चुक्ता नभएपछि अहिले प्रहरीको शरणमा पुगेका छन् । ती पीडितको उजुरीका आधारमा यसरी अनुचित लेनदेन (मिटरब्याज) मा संलग्न रहेको आरोपमा प्रहरीले ललितपुर महानगरपालिका २६ घर भई हाल नरिपोट बस्ने ४६ वर्षीय ज्ञानेन्द्र महर्जनलाई पक्राउ गरेको छ ।
उनलाई आइतबार ललितपुर जिल्ला अदालतबाट ७ दिनको म्याद लिएर आपराधिक लाभ तथा अनुचित लेनदेन गरेको आरोपमा अनुसन्धान थालिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता प्रहरी उपरीक्षक नवराज कार्कीले जानकारी दिए ।
एसपी कार्कीका अनुसार नरेन्द्रले ललितपुरकै मनोज महर्जनलाई २०७५ साल पुस २४ गते ३० लाख सापटी दिई वैदेशिक रोजगारको कागज बनाएका थिए । मनोज महर्जनले पटकपटक गरी १ करोड २६ लाख लिएर पनि अझै रकम तिर्न बाँकी भएको बताएपछि साँवाभन्दा बढी लिन नहुने, अनुचित लेनदेन गर्न नहुने कसुरमा किटानी जाहेरी परेको सोही आधारमा ज्ञानेन्द्रलाई पक्राउ गरिएको हो ।
उनको घरमा खानतलासी गर्दा ७ करोड २८ लाख ७७ हजार रुपैयाँको विभिन्न व्यक्तिको नाममा रहेका २३ वटा तमसुक बरामद गरिएको कार्कीले बताए । ती तमसुक केही वडामा समेत प्रमाणित गरेको र केही म्याद नाघेका फेला परेको छ ।
यस्तै १ करोड ३४ लाख उल्लेख भएको ३२ थान विभिन्न बैंकका चेक तथा सहकारीका चेक बरामद गरिएको प्रहरीले जनाएको छ । यस्तै उनको साथाट ६ थान चेकबुक तथा लालपुर्जासमेत बरामद गरिएको छ । सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ । –
Copyright © 2024 Bikash Media Pvt. Ltd.