मूल्य बढेपछि भारतका किसान गोलभेँडा बेचेर नै करोडपति बन्दै

  २०८० असार ३१ गते १०:४३     विकासन्युज

एजेन्सी । गोलभेँडाको मूल्यमा अत्याधिक वृद्धि भएपछि भारतका किसानहरु गोलभेँडा बेचेर नै करोडपति बन्ने भएका छन् । पुणे नारायणगंजका किसान तुकाराम भागोजीले एक महिनामा १३ हजार क्रेट गोलभेँडा बेचेर डेढ करोड भारतीय रुपैयाँ आम्दानी गर्न सफल भएका छन् ।

तुकारामको आफ्नै १८ एकड जमिन रहेको छ, जसमध्ये उनले १२ एकडमा गोलभेँडा खेती गरेका छन्। पछिल्लो महिनामा उनले एकहजार देखि १८ सय भारतीय रुपैयाँसम्मको मूल्यमा प्रतिक्रेट गोलभेँडा बिक्री गरेका थिए ।

सोमबार र मंगलबार चंडीगढको बजारमा गोलभेँडाको मूल्य ३५० रुपैयाँ प्रतिकिलो पुगेको थियो । शनिबारसम्म पनि त्यहाँ गोलभेँडाको मूल्य दुई सय भन्दा धेरै रहेको थियो । भारतमा अहिले गोलभेँडामा कायम भएको मूल्य केही वर्ष यताकै उच्च मूल्य हो ।

शुक्रबार नै दिल्लीमा गोलभेँडा २२० भारतीय रुपैयाँमा बिक्री भएको थियो । आज भने सो मूल्यमा भारी गिरावट आएको छ । केही ठाउँमा मूल्य कमी भएपनि यतिबेला भारतको सहरी क्षेत्रमा गोलभेँडामा सामान्यतया तेब्बर भन्दा धेरै मूल्य वृद्धि भएको देखिएको छ । हरेक वर्षायाममा भारतमा गोलभेँडाको मूल्य वृद्धि हुने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.