पशुपतिनाथ मन्दिरमा बिहानैदेखि भक्तजनको भीड (फोटोफिचर)

  २०८० साउन १ गते १३:५९     विकासन्युज

काठमाडौं । सौरमासअनुसार साउनको पहिलो सोमबार बिहानैदेखि पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।

 

साउने सोमबारका लागि आज बिहान ४ बजेदेखि नै पशुपतिनाथ मन्दिरका चारै ढोका भक्तजनका लागि खुला गरिएको थियो ।

बिहान ३ बजेदेखि नै भक्तजनले पशुपतिनाथ मन्दिरमा पूजा, आराधना एवं दर्शन सुरु गरेका पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख गौरीशङ्कर पराजुलीले जानकारी दिए ।

उनका अनुसार पशुपतिनाथ मन्दिरमा विशेषगरी साउनको सोमबारको व्रत बसेका महिला भक्तजनको उपस्थिति बाक्लो छ । हरियो र रातो पहिरनमा सजिएका महिला भक्तजनले पशुपति क्षेत्र ढाकेका देखिन्छन् ।

 

विभिन्न धार्मिक समूहले साउने सोमबारका अवसरमा पशुपति क्षेत्रमा निःशुल्क भोजन, तथा पानी वितरण गरिरहेका छन् ।

 

सौरमासअनुसार आजको सोमबार शुद्ध मानिने भएकाले सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथलाई अर्पण गर्ने भक्तजनको लर्को लागेको छ ।

भगवान् शिवले शुद्ध जल रुचाउने भएकाले वाग्मती शिरो भाग सुन्दरीजलबाट शुद्ध जल ल्याएर पशुपतिनाथमा चढाउने भक्तजनको भीड लागेको हो ।

साउन २ गतेदेखि अधिकमास लाग्ने भएकाले अर्को सोमबार व्रत गर्नु हुने वा नहुनेमा धर्मशास्त्रीबीच मतान्तर देखिएको छ ।

कति भक्तजनले भने चान्द्रमासअनुसारको पहिलो सोमबार अर्थात् गत सोमबारदेखि नै व्रत सुरु गरेका छन् । सौरमासअनुसार यो वर्षको साउनमा पाँच वटा सोमबार परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.