२०८० साउन ४ गते १६:५८ विकासन्युज
काठमाडौं । चौधरी ग्रुपअन्तर्गत रहेको सीजी एग्रोटेकले विश्वको फ्ल्यागसीपफ्रीजोन डीएमसीसी र दुबई प्राधिकरणसँग कमोडिटी ट्रेडकालागि सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । उक्त सम्झौताले कृषि क्षेत्रमा दक्षिण एसियाका राष्ट्रहरुसँग द्विपक्षीय व्यापार बढाउन गरिएको हो ।
हालै सम्पन्न एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक वरुण चौधरी र डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
यस सहकार्यले डीएमसी र सीजीएग्रोटेकबीच बलियो सम्बन्ध स्थापना गर्नुका साथै डीएमसीसीका सदस्य कम्पनीहरूका लागि व्यापार, लगानी र बजार पहुँच बढाउन समेत सहयोग पुग्ने कम्पनीले जनाएको छ । यसबाहेक, यस साझेदारीले ज्ञान र सूचनाको आदान प्रदानलाई बढावा दिनेछ भने विशेष गरी कफी, चिया र महको निर्यातमा रहेका अवसर तथा अफ्ठ्याराहरूको सम्बोधन गर्न मद्दत गर्नेछ ।
यस सम्झौताप्रति उत्साह व्यक्त गर्दै सीजीएग्रोटेकका प्रवन्ध निर्देशक चौधरीले डीएमसीसीसँगको साझेदारीले नेपाल-युएईबीच रहेको कृषि व्यापार सम्बन्ध अझ सुदृढ र बलियो हुने विश्वास व्यक्त गरे । ‘डीएमसीसीसँग रहेको २३ हजार सदस्य कम्पनीहरूको व्यापक नेटवर्कको लाभ उठाउँदै र पारस्परिक रूपमा लाभदायक अवसरहरूको अन्वेषणले द्विपक्षीय व्यापारलाई अझ व्यापक बनाउनका लागि हाम्रो क्षमतामा महत्वपूर्ण प्रभाव पार्नेछ,’ चौधरीले भने ।
डीएमसीसीका चिफ अपरेटिङ अफिसर फेरयाल अहमदीका अनुसार हालका वर्षहरूमा दक्षिण एसियामा कृषि वस्तुको आयातमा उल्लेखनीय वृद्धि भएको छ र यो वृद्धिदर जारी रहने देखिएको छ । साथै, खाद्य सुरक्षामा आएको जागरुकताका कारण विश्वव्यापी रूपमा कृषि वस्तुहरूको माग अझ बढ्ने उनले जनाएका छन् । ‘यो साझेदारीको माध्यमबाट डीएमसीसीलाई यी व्यापारिक अवसरहरूको मूल्याङ्कन गर्न मद्दत पुग्नेछ,’ उनले भने ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.