छायाँमा पर्दै भेट्रान सीईओहरू, धेरै भए गुमनाम

  २०८० साउन ८ गते १५:१२     सन्तोष रोकाया

काठमाडौं । बैंकिङ जागिर नचाहने व्यक्ती समाजमा सायदै होलान् । आकर्षक तलब, चिटिक्क लवाई, ठूल्ठूला उद्योगी व्यवसायीहरुसँग उठ्बस् । र, अन्य धेरै सेवा सुविधाकै कारण धेरैको रुची र रोजाइ बन्छ बैंकिङ क्षेत्र । युवाहरुले आकर्षक पेशाको रुपमा बैंकिङ क्षेत्रलाई रोज्छन् । बैंकको नेतृत्व तह अर्थात् प्रमुुख कार्यकारी अधिकृत (सीईओ) बन्ने सपना साकार पार्न अधिकांश बैंकरहरु रातदिन काम गर्छन् । बैंकले दिएको ‘टार्गेट मिट’ गर्न ठूलो दौडधूप गर्छन् । बैैंकमै काम गर्ने इच्छा बोकेर रातदिन तयारी गर्ने युवायुवतीहरुको जमात पनि कम छैन ।

तर, सबैको रोजाइ एउटै कहाँ हुन्छ र ? त्यो दौडधूप, त्यो सकस, त्यो अत्यास र त्यो तनाब चटक्कै छोडेर बैंकिङमा जमेका, रमेका र भिजेका भेट्रान अनुभवी बैंकरहरु सदाका लागि बैंकिङ क्षेत्रबाट गुमनाम बनेका छन् । वार्षिक करोड कमाएर समाजमा पृथक किसिमको पोर्टफोलियो र प्रोफाइल बनाएका ती भेट्रान बैंकरहरु आकर्षकको क्षेत्र छोडेर कतिपय निजी व्यवसायमा लागेका छन् भने कतिपय विदेश वा कयौं व्यक्तीहरु राजनीतिमा पनि होमिएका छन् । आज हामीले बैंकिङ क्षेत्रमा लामो समय नेतृत्व गरेर बाहिरिएका बैंकका पूर्व सीईओहरुको बारेमा सामग्री तयार पारेका छौं ।

अजय घिमिरे

तत्कालीन भिवोर विकास बैंकका प्रमुख कार्यकारी अधिृकत अजय घिमिरे एक फरक शैलीको बैंकिङ गर्न रुचाउँथे । घरजग्गा कारोवार बुम भएको बेला उनले सो बैंक सुरु गरेका थिए । भिवोरले बैकिङ्गसहित घरजग्गाको कारोवार गर्ने महत्वाकांक्षी योजना बनाएको थियो । रविभवनको ४५ रोपनी जग्गा एक अर्ब ३७ करोड विक्री प्रकरणमा घिमिरे समस्यामा परेका थिए । जग्गा बिक्री गर्दा भिवोरले मध्यस्थता गरेवापत सहदेव कक्षपतीलाई पाँच करोड रुपैयाँ ‘फि’ दिएकाे थियाे । राष्ट्र बैंकले यो रकम बैंकका सञ्चालकहरुबाट असुल गर्न निर्देशन दिएपछि घिमिरे समस्यामा परेका हुन् । पछि बैंकमा पनि समस्या सिर्जना भयो । सो समस्याले बैंक माथि उठ्न सकेन । विडम्वना, बैंक पनि विलय भयो र घिमिरे पनि बैंकिङबाट सदाका लागि विदा भए ।

पृथ्वी बहादुर पाँडे

नेपाली बैंक स्थापनामा अग्रणी रुपमा नाम आउँछ पृथ्वी बहादुर पाँडेको । हिमालयन बैंक स्थापनामा उनको ठूलो योगदान छ । उनले नेपाली बैंकिङ क्षेत्रमा काम गरेको साढे चार दशक भइसकेको छ । नेपाल राष्ट्र बैंकबाट जागिर सुरु गरेका पाँडेले पछि आफैले बैंक खोले र त्यसको नेतृत्व गरे । लामो समय बैंकको व्यवस्थापनको नेतृत्व गरेका उनी अहिले नेपाल इनभेष्टमेन्ट मेगा बैंकको अध्यक्ष छन् । बैंकिङमा पाँडेलाई नचिन्ने सायदै होलान् । तर, पछिल्लो समय उनी पहिलेको तुलनामा कम सक्रिय छन् । उनी अहिले निजी व्यवसायमा पनि सक्रिय भएका छन् ।

जनकराज शर्मा पौड्याल

सनराइज बैंकका पूर्व सीईओ हुन् जनकराज शर्मा पौड्याल । शर्मा सनराइजभन्दा अघि ग्लोबल आइएईमा कार्यरत थिए । ग्लोबलमा चार वर्षको लागि नियुक्त भएका उनी आफ्नो कार्यकाल नसकिँदै राजीनामा दिएर बैंकबाट निस्केका थिए । शर्मासँग नबिल, एनआइसी एसिया र लक्ष्मी बैंकमा समेत काम गरेको अनुभव छ । अहिले उनी बैंकिङ क्षेत्र बाहिर छन् ।

अनिल ज्ञवाली

नबिल र ग्लोबल आइएमई बैंकको सीईओ बनिसकेका ज्ञवालीले नेपाली बैंकिङ क्षेत्रमा साढे तीन दशक काम गरे । पूर्वाधार विकास बैंकमा पनि सीईओ भएर काम गरिसकेका उनी हाल सिटिजन्स बैंकको सञ्चालक समितिमा छन् । उनले विदेशी बैंकमा पनि काम गरेको अनुभव छ । उनी कर्मचारीबाट अहिले बैंकका मालिक बनेका छन् ।

सशिन जोशी

स्ट्याण्डर्ड चार्टर्ड बैंकबाट बैंकिङ करिअर सुरु गरेका जोशीले पनि नेपाली बैंकिङ क्षेत्रमा लामो समयसम्म काम गरे । उनले एनआईसी एसिया बैंकमा ११ वर्षसम्म नेतृत्व गरे । नबिल बैंकमा सीईओको कार्यकाल पूरा नहुँदै छोडे । व्यवस्थापनमा दख्खल राख्ने जोशी हाल जावलाखेल ग्रुप अफ इन्डष्ट्रिजको कार्यकारी निर्देशकको रुपमा काम गरिरहेका छन् । उनलाई पनि धेरैले एक अनुुभवी बैंकरका रुपमा चिन्छन् ।

राधेश पन्त

तत्कालीन बैंक अफ काठमाण्डूको प्रबन्ध संचालक, कुमारी बैंकको प्रमुख कार्यकारी अधिकृत भइसकेका अर्का भेट्रान बैंकर हुन् राधेश पन्त । सरकारी निकाय लगानी बोर्डको समेत प्रमुख कार्यकारी अधिकृत भएर बैंकिङ क्षेत्रबाट बाहिरिएका उनी पनि पछि बैंकको सञ्चालक बने । तत्कालीन बैंक अफ काठमाडूको संचालक समिति सदस्य समेत रहेका उनी बिओके ग्लोबल आइएमई बैंकमा मर्ज भइसकेपछि पनि सञ्चालकै रुपमा कार्यरत छन् ।

सुरेन्द्र भण्डारी

१२ वर्ष कुमारी बैंकको सीईओ भएर काम गरेका भण्डारी पनि एक कुशल बैंकरका रुपमा चिनिन्थे । उनले सिद्धार्थ बैंकमा दुई कार्यकाल नेतृत्व गरेपछि पुनः उनी कुमारी बैंकमै सीईओका रुपमा काम गरे । कुमारी बैंक नै उनको लागि बैंकिङ क्षेत्र बिदाईको अन्तिम संस्था बन्यो ।

शभ्भुनाथ गौतम

सिद्धार्थ बैंकको सीईओ रहेका उनी एक कुशल बैंकरका रुपमा चिनिन्थे । उनले सिद्धार्थ बैंकलाई एउटा लेभलसम्म पुर्याउन राम्रो नेतृत्व गरे । उनीसँग नबिल बैंकमा काम गरेको अनुभव पनि छ । उनी पनि अहिले बैंकिङ क्षेत्र बाहिर छन् ।

लक्ष्मण रिसाल

एनआईसी एसियामा दुई कार्यकाल सीईओ भएर काम गरेका लम्साल एक अनुशासित बैंकरको छवि बनाएका थिए । बैंकिङ छोडे पनि उनी अहिले गोल्डस्टार जुत्ताको सीईओ भएर काम गरिरहेका छन् । उनी पनि व्यवस्थापनमा दख्खलता राख्ने सीईओका रुपमा परिचित थिए ।

किशोर महर्जन

हिमालयन बैंकको महाप्रबन्धक भएर काम गरिसकेका महर्जनसँग तत्कालीन सनराइज र तत्कालीन सिभिल बैंकमा पनि सीईओका रुपमा काम गरेको अनुभव छ । उनले सनराइज बैंकको संस्थापक सीईओ भएर काम गरे । तत्कालीन सिभिल बैंक स्थापनामा पनि उनले ठूलो भूमीका खेले र सोही बैंकको सीईओ पनि बने । एउटा भेट्रान बैंकरको छवि बनाएका उनलाई नेवार समुदायले आदर सम्मान गर्ने गरेको छ । उनकै सक्रियतामा स्टार हस्पिटल स्थापना भएको हो । अहिले उनले सोही अस्पतालको नेतृत्व गरिरहेका छन् ।

सुमन जोशी

स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रडक्ट जोशी लक्ष्मी बैंकमा दुई कार्यकाल सीईओ भएर काम गरे । उनी बैंकिङ क्षेत्रमा तीन दशक बढी समय काम गरेर बाहिरिए । अहिले उनी आफ्नै व्यवसाय गरिरहेका छन् ।

सुरेन्द्र प्रधान

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएका सुरेन्द्र प्रधान सनराइज बैंकको प्रमुख कार्यकारी अधिकृत भएर पनि काम गरे । सनराइज बैंकमा एक कार्यकाल पूरा गरेपछि उनी बैंकिङ क्षेत्रबाट बाहिरिए । सनराइज बैंक स्थापना गर्दा उनै प्रधान राष्ट्र बैंकको नियमन विभागको प्रमुुख थिए । उनी अहिले बैंकिङ क्षेत्रमा प्रत्येक्ष रुपमा जोडिएका छैनन् ।

डा. विनोद आत्रेय

नेपाल बैंकको सीईओ भएर काम गरेका डा. आत्रेय एक अनुभवी बैंकरका रुपमा परिचित थिए । उनले लामो समय राष्ट्र बैंकमा पनि काम गरे । त्योसँगै उनले नेपाल पूर्वाधार विकास बैंकमा पनि काम गरेका छन् भने इमर्जिङ नेपालको सीईओ भएर पनि काम गरिसकेका छन् । उनी अझै पनि प्रतयक्ष अप्रत्यक्ष रुपमा बैंकिङ क्षेत्रसँग रहेर काम गरिरहेका छन् । उनी हाल बैंकिङ फाइनान्स एण्ड इन्स्योरेनस इन्स्टिच्युटको प्रबन्ध निर्देशकका रुपमा काम गरिरहेका छन् ।

नरेन्द्र भट्टराई

चार्टर्ड एकाउन्टेन्ट भट्टराई तत्कालीन नेपाल बंगलादेश (एनबी) बैंकको प्रमुख कार्यकारी अधिकृत थिए । नेपाल बंगलादेश बैंकमा समस्यामा परेपछि राष्ट्र बैंकले बैंकको व्यवस्थापन आफ्नो कब्जामा लियो । सो बेला भट्टराई नै सीईओका रुपमा काम गरिरहेका थिए । त्यसपछि उनी बैंकिङ क्षेत्रमा देखिएनन् । उनी बैंकिङ क्षेत्रबाट बाहिरिएको डेढ दशक बढी समय भइसकेको छ । उनी अहिले सीए फर्म सञ्चालन गरिरहेको बुझिएको छ ।

सुमन न्यौपाने

तत्कालीन ग्लोबल बैंकको सीईओ भएर काम गरेका न्यौपानेले सनराइज बैंकको महाप्रबन्धकका रुपमा पनि काम गरिसकेका छन् । उनले साढे दुई वर्ष ग्लोबल बैंकको सीईओका रुपमा काम गरेका थिए । उनी पछि विवादमा परेपछि बैंक नै छोडे र सदाका लागि बैंकिङ क्षेत्रबाटै गुमनाम भए । न्यौपाने अहिले आफ्नै ब्यवसायमा सक्रिय छन् ।

भुवन दाहाल

सानिमा बैंकको प्रमुख कार्यकारी अधिृकत (सीईओ) का रुपमा काम गरेका दाहालसँग नबिल बैंकमा दुई दशक लामो समय काम गरेको अनुभव छ । सरकारी सेवामा काम गरिसकेका उनले पछि बैंकिङ रोजे र सो क्षेत्रमा तीन दशक बढी समय काम गरे । उनले नेपाल बैंकर्स संघको पनि नेतृत्व गरे । अहिले उनी फाइनान्सियल लिट्रेसी नेपाल संस्था स्थापना गरेर काम गरिरहेका छन् भने लेखनमा पनि व्यस्त छन् ।

अनिल केशरी शाह

अनिल केशरी शाह बैंकिङ क्षेत्रका सेलिब्रेटी नै हुन् । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रडक्ट उनी नबिल बैंकको सीईओ भएर बैंकिङ क्षेत्रबाट नै बाहिरिए उनले मेगा बैंकको सीईओ भएर पनि काम गरे । उनी बैंकिङ क्षेत्रबाट कहिल्यै नफर्किने गरी राजनीतिमा लागिसकेका छन् । उनी हालै मात्र राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेर प्रशिक्षण विभागको जिम्मेवारी सम्हालिरहेका छन् ।

राजनसिंह भण्डारी

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकको जिम्मेवारीबाट बाहिरिएपछि भण्डारी सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृत बने । उनले सो बैंकमा दुई कार्यकाल काम गरे । बैंकिङ क्षेत्रको व्यवस्थापन टीमबाट बाहिरिए पनि उनी सञ्चालक समूहमा भने काम गरिरहेका छन् । उनी हाल सिटिजन्स बैंकको अध्यक्ष छन् ।

उपेन्द्र पौड्याल

लामो समय बैंकिङ क्षेत्रमा व्यवस्थापन सम्हालेका पौडेल हाल नबिल बैंकको सञ्चालक समितिको अध्यक्षका रुपमा काम गरिरहेका छन् । उनले १६ वर्ष एनएमबि बैंकको कार्यकारी प्रमुख भएर काम गरे । स्ट्याण्डर्ड चार्टर्ड बैंकको प्रडक्ट उनले नेपाल बैंकर्स संघको पनि नेतृत्व गरे । हाल उनी नेपाल व्यवस्थापन संघको अध्यक्षका रुपमा पनि काम गरिरहेका छन् ।

सुधिर खत्री

तत्कालीन ग्राण्ड बैंकको प्रमुख कार्यकारी अधिकृतका रुपमा डेढ दशक काम गरेका खत्री ग्राण्ड बैंकको अवशानपछि बैंकिङ क्षेत्रबाटै हराए । उनले बैंकिङ छाडेर केही समय अमेरिका बसे । अहिले उनी नेपालमै व्यवसाय गरेर बसिरहेका छन् ।

कमल ज्ञवाली

तत्कालीन किष्ट बैंकका सीईओ ज्ञवाली महत्वाकांक्षी बैंकरका रुपमा परिचित थिए । हाल उनी बैंकिङ कसुर अभियोगमा जेलमा छन् । बैंकिङ क्षेत्रमा तीन दशक बढी समय काम गरेका उनले एकताका बैंकिङ क्षेत्रमा राज नै गरेका थिए भन्दा फरक नपर्ला । सुरुमा नाम, त्यसपछि बदनाम कमाएका ज्ञवाली र किष्ट बैंक परिपुरक जस्तै थिए । । तर, अहिले उनलाई धेरैले बिर्सिसकेका छन् ।

अजय श्रेष्ठ

तत्कालीन बैंक अफ काठमाण्डूको सीईओ श्रेष्ठले सो बैंकमा दुई कार्यकाल काम गरे । उनीसँग तीन दशक बढी बैंकिङ क्षेत्रमा काम गरेको अनुभव छ । बिओकेअघि श्रेष्ठले २ वर्ष एनएमबि बैकमा काम गरेका थिए । उनले त्यसअघि १५ बर्ष स्ट्यान्डर्ड चार्टर्ड बैंकमा काम गरे । उनी बैंकिङ कसुर अभियोगमा जेलमा समेत बसे । उनले अदालतबाट सफाई पनि पाइसकेका छन् ।

५५ वर्षदेखि निरन्तर बैंकिङमा  

बिक्रम सम्बत् २०२५ सालमा बैंकिङ क्षेत्रमा प्रवेश गरेका नारायणदास मानन्धर अहिले पनि बैंकिङ क्षेत्रमै सक्रिय छन् । उनी अहिले प्राइम कमर्सियल बैंकको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा छन् । उनले सो बैंकमा चार पटक सीईओका रुपमा काम गरिसकेका छन् । बैंकिङ क्षेत्रमा ५५ वर्षभन्दा बढी समय बिताइसकेका मानन्धर अन्य बैंकका सीईओहरुको तुलनामा बढी अनुुभवी मानिन्छन् । कृषि विकासको स्थापनादेखि काम गरेका मानन्धरले राष्ट्रिय वाणिज्य बैंक, लुम्बिनी बैंक र नेपाल बंगलादेश बैंकमा पनि काम गरिसकेका छन् । नेपाल राष्ट्र बैंकले बैंकका सीईओले दुुई कार्यकाल बढी समय काम गर्न नपाउने व्यवस्था गरेपछि उनी अदालतसम्म समेत पुुगेका थिए । पछि सर्वोच्च अदालतले उनलाई काम गर्न दिन अन्तरिम आदेश दिएको थियो । त्यसयता उनी प्राइम कमर्सियल बैंकको सीईओका रुपमा काम गरिरहेका छन् ।

कृष्ण प्रसाद शर्मा

राष्ट्रिय वाणिज्य बैंकको सीईओ भएर काम गरेका शर्मा पनि अहिले व्यवस्थापन समूहबाट सञ्चालक समूहमा प्रवेश गरिसकेका छन् । उनले ३३ वर्ष लामो समय बैंकिङमा काम गरेर अहिले ग्लोबल आइएमई बैंकको सञ्चालकका रुपमा काम गरिरहेका छन् । यसअघि उनी नबिल र नेपाल इन्भेष्टमेन्ट बैंकका सञ्चालक थिए ।

अनिल उपाध्याय

कृषि विकास बैंकको सीईओको रुपमा काम गरेका उपाध्याय केही समयअघि मात्रै बैंकबाट बाहिरिएका हुन् । नेपाल बैंकर्स संघको अध्यक्षको रुपमा समेत काम गरिसकेका उनी अहिले एउटा निजी कम्पनीको व्यवस्थापनको नेतृत्व गरिरहेका छन् ।

अनलराज भट्टराई

तत्कालीन सानिमा विकास बैंक र कमर्ज एण्ड ट्रष्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको रुपमा काम गरिसकेका भट्टराई अहिले बैंकिङमा सक्रिय छैनन् । कमर्ज एण्ड ट्रष्ट बैंक ग्लोबल आइएमइ बैंकमा मर्ज भएपछि उनी बैंकिङ क्षेत्रबाट बाहिरिएका थिए । उनी अहिले नेपाल उद्योग परिसंघ (सिएनआई) मा बैंकिङ विज्ञको रुपमा काम गरिरहेका छन् ।

जनार्दन आचार्य

राष्ट्रिय वाणिज्य बैंकमा सीईओका रुपमा काम गरिसकेका आचार्य पनि अहिले बैंकिङ क्षेत्र बाहिर छन् ।

उदयकृष्ण उपाध्याय

कुमारी बैंकको सीईओका रुपमा काम गरिसकेका उपाध्याय सीईओ हुँदा नै उनको एउटा काण्ड बाहिरिएको थियो । सीईओ बहाल हुँदै काण्ड बाहिरिएपछि उनले बैंक छोड्नु परेको थियो । त्यसपछि उनी युनाइटेड इन्स्योरेन्सको अध्यक्ष पनि बने । सो घटनापछि उनी बैंकिङमा फर्किएनन् ।

विजय पन्त

पन्त तत्कालीन जनता बैंकका सीईओ हुन् । उनले साढे दुई दशक बैंकिङ क्षेत्रमा काम गरे । अहिले उनी मर्कन्टाइलमा कार्यरत छन् ।

रमेश कुमार भट्टराई

तत्कालीन जनता बैंकका सीईओ भट्टराई पनि बैंकिङ क्षेत्रबाट पनि हराएका छन् । उनी विजय पन्तको बर्हिगमनपछि बैंकको सीईओ बनेका थिए । उनी कर्मचारी सञ्चय कोषको पूर्व प्रशासक पनि हुन् ।

मनोज गोयल

तत्कालीन बैंक अफ काठमाण्डूको सीईओका रुपमा काम गरिसकेका गोयल पनि अहिले बैंकिङ क्षेत्रमा छैनन् । उनी तत्कालीन क्लिन इनर्जी डेभलपमेन्ट बैंकका सीइओ पनि बने । सो बैंक पछि एनएमबि बैंकमा गाभियो ।

सिद्धान्तराज पाण्डे

तत्कालीन एस डेभलपमेन्ट बैंकका सीइओ सिद्धान्तराज पाण्डे पनि चचिर्त बैंकर हुन् । अहिले उनी पनि गुमनाम छन् । एस बैंक पछि नेपाल इन्भेष्टमेन्ट बैंकमा गाभिएको थियो । उनी पनि बैंकिङ क्षेत्रबाट सदाका लागि बाहिरिएका छन् ।

कुमार लम्साल

सानिमा, प्रभु र जनता बैंकको सीईओ भएर काम गरिसकेका लम्साल पनि बैंकिङ क्षेत्रमा लामो अनुभव भएका बैंकरका रुपमा चिनिन्छन् । उनी अहिले नेपाल बैंकिङ इन्सिच्युटको प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत छन् ।

देवेन्द्रप्रताप शाह

कृषि विकास बैंक र नेपाल बैंकको सीईओका रुपमा काम गरिसकेका शाह एक अनुभवी बैंकरका रुपमा चिनिन्छन् । उनले बीमा प्राधिकरणको अध्यक्ष भएर पनि काम गरिसकेका छन् । उनी साहित्यकार पनि हुन् भने उनी अहिले उमेरका कारण बजारमा देखिँदैनन् ।

अनुपमा खुञ्जेली

मेगा बैंकको सीईओ भएर काम गरिसकेकी खुञ्जेली पनि एक सफल बैंकर हुन् । नेपालको पहिलो महिला सीईओ समेत रहेकी उनी एक कार्यकाल नबित्दै मेगा बैंकबाट बिदा भइन् । करिब तीन दशक लामो समय बैंकिङ क्षेत्रमा बिताएकी खुञ्जेलीले तत्कालीन ग्रिनलेज बैंकबाट बैंकिङ करिअर सुरु गरेकी हुन् ।

पर्शुराम श्रेत्री कुँवर

नेपाली बैंकिङ क्षेत्रमा लामो समय काम गर्ने व्यक्तीमध्ये कुँवर पनि पर्छन् । कुँवरले तीनवटा बैंकमा सीईओको रुपमा काम गरे । बैंकिङ क्षेत्रमा ३५ वर्ष बिताइसकेका उनी पछिल्लो समय बैंकिङमा छैनन् । उनको अन्तिम संस्था नै ग्लोबल आइएमई बैंक बन्यो । तत्कालीन ग्रिनलेज बैंक (हालको स्ट्यान्डर्ड चार्टर्ड)बाट बैंकिङ्ग करिअर सुरु गरेका उनले जनता बैंक र ग्लोबल आईएमई बैंकको नेतृत्व गरे । नेपालको बैंकिङ इतिहासमा ग्लोबल आईएमई बैंक र जनता बैंकको मर्जर सबैभन्दा ठूलो हो । जसको मर्जर गर्न कुँवरको भूमीका पनि महत्वपूर्ण रह्यो । अहिले उनी बैंकिङमा सक्रिय नभएपनि विभिन्न बैंकिङ सम्बन्धि तालिममा भने भेटिने गरेका छन् । उनी हाल इ–सेवाको अध्यक्ष बनेर काम गरिरहेका छन् ।

शोभनदेव पन्त

शोभनदेव पन्त पनि एक सफल बैंकरका रुपमा परिचित थिए । तत्कालीन नेपाल अरब बैंक (हालको नबिल बैंक) बाट बैंकिङ करिअर सुरु गरेका पन्तले नबिल बैंकको उच्च व्यवस्थापनमा रहेर लामो समय काम गरे । तत्कालीन नेपाल बंगलादेश बैंकको सीईओ भएर काम गरिसकेका उनले लुम्बिनी बैंकको नेतृत्व गरे । समस्यामा रहेको लुम्बिनी बैंकलाई स्वस्थ बैंक बनाउन उनले ठूलो भूमीका खेलेका थिए । त्यसपछि तत्कालीन बैंक अफ काठमाण्डूमा अजय श्रेष्ठको कार्यकाल सकिएपछि उनी नै सो बैंकको सीईओ बने । बैंक अफ काठमाण्डूमा एक कार्यकाल सकाउँदै उनी ३६ वर्षको बैंकिङ अनुभव बिट मार्दै यो क्षेत्रबाटै बाहिरिए ।

गणेश कुमार श्रेष्ठ

नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि श्रेष्ठले पनि तत्कालीन सेञ्चुरी बैंकको सीईओ भएर काम गरे । एक कार्यकाल सीईओ भएपछि उनी पनि बैंकिङबाट बाहिरिए । अहिले सेञ्चुरी बैंक प्रभु बैंकका विलय भइसकेको छ ।

लिलाप्रकाश सिटौला

सिटौला पनि नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश प्राप्त कर्मचारी हुन् । राष्ट्र बैंकबाट अवकाश पाएपछि उनी कृषि विकास बैंकको सीईओ बने । उनले सो बैंकमा आफ्नो एक कार्यकाल सकाउँदै बैंकिङ क्षेत्रबाटै बाहिरिए । अहिले उनी प्रभु बैंकको अध्यक्षका रुपमा कार्यरत छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.