२०८० साउन ११ गते १६:२१ सन्तोष रोकाया
काठमाडौं । तपाईं कामलाई सर्वोपरी ठान्नुहुन्छ वा किस्मतलाई ? मिहेनतलाई महान मान्नुहुन्छ वा भाग्यलाई ? यो विषय आफैमा अनुत्तरित छ । कतिपय मिहेनत गर्दा गर्दै थाक्छन् र भाग्यलाई सराप्छन् । काम नगरेर भाग्यको भरमा चल्नेहरु पनि त कहाँ नभएको हो र समाजमा । अभावको जिन्दगी जिउनु धेरैलाई अत्यास लाग्छ, कतिपयलाई त्यसमै आनन्द लाग्छ त कयौं मान्छेहरुले अभावमै रमाउँछन् । अभावलाई संघर्ष ठान्दै मन थुमथुम्याउँछन् । कतिपय अभाव नहुँदा नहुँदै पनि त्यसमै जीन्दगी जिउन रुचाउँछन् । यो सब मान्छेको मन न हो ।
तर, संघर्ष त गर्नै पर्छ । एउटा व्यक्ति पेन्टर, पत्रकार, लेखक, राजनीतिज्ञ, शिक्षक र बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुने कुरा तपाईंले कल्पना गर्न सक्नुहुन्छ ? अहँ, हामीले सहजै स्वीकार्दैनौं यो विषयलाई । किनकी हामीलाई दुई/चार वर्ष संघर्ष गरेर थाक्ने बानी परिसकेको छ । एउटा क्षेत्रमा असफल हुने बित्तिकै अर्थात् त्यो क्षेत्र मन नलाग्ने बित्तिकै म सकिएँ, म बर्बाद भएँ, अब अगाडि बढ्ने कुनै बाटो छैन भनेर भाग्यलाई सराप्दै बस्ने बानीले थिचोलिसकेको छ हामीलाई ।
सपनाभित्रको त्यो सकस लक्ष्य भेट्टाउने मान्छेले मात्रै महसुस गर्न सक्छ । हामीले एउटा पेशा अँगाल्दा पनि त्यति धेरै थाक्छौं र बरालिन्छौं भने पाँच वटा पेशा अगाँलेर सफलताको स्वाद चाखेका सिटिजन्स बैंक इन्टरनेश्नलका सीईओ गणेशराज पोखरेल कति थाके होलान् ? कति सोचे होलान् ? उनले सपना पुरा गर्न कति सकसहरु भोगे होलान् ? हो, आज हामी तिनै पोखरेलको जीवन कहानी पस्किँदैछौं ।
हुन त गणेशराज पोखरेलको परिवारमा कुनै अभाव थिएन । बर्दियाको जमिनदार नै थियो उनको परिवार । राजनीतिक पृष्ठभूमीको परिवार भएकोले पनि जिल्लामा सबैले चिन्थे । बाजे काँग्रेस पार्टीको जिल्ला अध्यक्ष । राजनीतिक पृष्ठभूमीमा हुर्केका पोखरेललाई आफ्नै खुट्टामा उभिनु पर्छ भन्ने मानसिकता सानैदेखि थियो ।
उनी आफ्नो विगत स्मरण गर्दै भन्छन्, ‘राजनीतिक पृष्ठभूमीको परिवार भएकोले पनि घरमा नयाँ–नयाँ मान्छेहरु आइरहनुहुन्थ्यो, त्यो माहोल देख्दै हुर्कें, बुबाले राजनीतिभन्दा पढ्नु पर्छ भनेपछि पढाइमा ध्यान दिएँ, म संघर्षमा विश्वास गर्छु ।’
५ हजार बोकेर काठमाडौं
वि.स २०२६ सालमा बदिर्याको गुलरियामा जन्मेका पोखरेलको स्कूले जीवन गाउँमै बित्यो । उनले महाकवी देवकोटा माध्यामिक विद्यालयबाट विद्यालय तहको अध्ययन पुरा गरे । उनले आइकम (हालको प्लस टु) नेपालगञ्जबाटै पास गरे । थप अध्ययन गर्नु पर्छ भन्ने मानसिकताका साथ उनी काठमाडौं छिरे ।
बर्दियाको एउटा जमिनदार परिवार । त्यतिबेला आफ्नो परिवारको ६ बिघा जमिन भएको पोखरेल सुनाउँछन् । तर, उनी काठमाडौं आउँदा ५ हजार बोकेर आए । ‘मलाई आफ्नै पौरखमा रमाउनु पर्छ भन्ने लाग्छ, आफैले मिहेनत गरेर खर्च गर्नु पर्छ जस्तो लाग्छ, हुन त धेरै पैसा लिएर काठमाडौं आउन नसक्ने थिइनँ, तर पाँच हजार बोकेर काठमाडौं आएँ, आफैले संघर्ष गरें, अहिले खुसी लाग्छ, संघर्ष पछिको सफलतामा आत्म–सन्तुष्टि मिल्छ,’ पोखरेलले आफ्नो जीवन कहानी सुनाउँदै भने ।
पोखरेलले काठमाडौंको शंकरदेब कलेजमा बिकममा भर्ना गरे । औसत विद्यार्थीको रुपमा चिनिने पोखरेलको सरलता र अनुशासनको भने शिक्षकहरुले पनि खुब प्रशंसा गर्थे । ‘म विद्यालयमा औसत विद्यार्थी थिएँ, गणितमा भने तेज विद्यार्थी हो, म पढाइमा भन्दा पनि खेलकुदमा चासो राख्थें, फुटबल राम्रो खेल्थें, अहिले पनि दैनिक बिहान २ वटा गेम ब्याडमिन्टन खेल्छु,’ सीईओ पोखरेल भन्छन् ।
पोखरेलले शंकरदेबबाट नै एमबिए पास गरे । सीईओ पोखरेललाई चार्टर्ड एकाउन्टेन्सी (सीए) पढ्ने इच्छा थियो । तर, बाटो अन्तै मोडियो । उनी पढाइ सँगसँगै लेखनमा पनि लागे । ‘मैले घरपरिवारसँग सीए पढ्ने प्रस्ताव गरेँ, मेरो भिनाजु पुरुषोत्तम दाहालले तिम्रो भविष्य नेपाल मै राम्रो छ, सीए पढेपनि के नै हुने हो र भन्नु भयो, बुवालाई पनि उहाँले कन्भिन्स गराउनु भयो, त्यसपछि सीए पढिनँ,’ उनले विगत स्मरण गर्दै भने ।
उनले दुई विषयमा स्नातकोत्तर गरे । उनले काठमाडौं विश्वविद्यालयबाट फाइनान्समा एमबिए पास गरेका छन् भने त्रिभुवन विश्वविद्यालयबाट मार्केटिङ विषयमा एमबिए पूरा गरेका छन् ।
विद्यार्थी नेतादेखि हिरासतसम्म
घरपरिवार राजनीतिक पृष्ठभूमी भएकोले पनि उनलाई राजनीतिले छोइसकेको थियो । बाजे काँग्रेस पार्टीसँग आवद्ध थिए । विस्तारै उनी पनि विभिन्न सभा सम्मेलनमा भाग लिन थाले । नेपालगञ्जमा विद्यार्थी राजनीति गरे ।
वि.स २०४६ सालभन्दा अगाडि उनी नेपाल विद्यार्थी संघमा आवद्ध थिए । त्यतिखेर उनी विद्यार्थी संघको जिल्ला उपसभापति भए । देशमा पञ्चायत व्यवस्था थियो । उनी विद्यार्थी राजनीतिमा सक्रिय भए । आन्दोलन आम हड्तालको अग्रमोर्चामा उनी देखिन्थे ।
‘बुझेर वा नबुझेर संगठनमा आवद्ध भएको थिएँ, प्रतिबन्धित अवस्थामा म जिल्ला उपसभापति थिएँ, त्यतिखेर सक्रिय भएर पनि होला प्रहरीले पक्राउ गर्यो, एक साता हिरासतमा पनि बस्नु पर्यो, संस्थामा राजनीति हुनु हुँदैन भनेर मान्यता राख्छु,’ उनले विद्यार्थी राजनीति स्मरण गर्दै भने ।
चित्रकारपछि पत्रकार
देशमा पञ्चायत विरुद्दका आन्दोलनले उग्ररुप लिइरहेको थियो । पञ्चायत विरुद्दका नाराहरु घन्किरहेका थिए । उनी सक्रिय राजनीतिबाट केही निष्कृत भइसकेका थिए । मिहेनती स्वभावका पोखरेल पेन्टिङ्गमा पनि रुची राख्थे ।
त्यतिबेला अहिलेको जस्तो कम्युटरले लेख्ने अवस्था थिएन । हस्त लिखित वस्तुहरु आन्दोलन र चुनावमा प्रयोग हुन्थे । सोही समय पोखरेलले पनि विभिन्न रंङहरुको तस्वीर, ब्यानर तथा चित्रहरु बनाएर राम्रै पैसा कमाएको सुनाउँछन् ।
‘वि.स २०४८ सालको चुनावमा मैले धेरै कमाएँ, त्यो बेला पहिलो पटक चुनाव भएको थियो, चुनावमा ब्यानरमा सिल्भर कलरले लेख्नुपथ्र्याे, फलानो पार्टीको कर्मठ उम्मेदवारलाई अत्याधिक मतले विजयी गराऔं, लगायतका शब्दहरु ब्यानरमा लेख्नु पथ्र्यो, एउटा ब्यानर लेखेको ५० रुपैयाँ पाइन्थ्यो, त्यो पैसाले ६२५ रुपैयाँमा क्याल्कुलेटर किनेको अहिलेसम्म याद छ, आफ्नो पढाइ खर्च आफै जुटाउँथे,’ उनले भने ।
उनी राम्रो चित्र पनि बनाउँछन् । त्यतिखेर उनले बनाएका धेरै चित्रहरु चर्चित पनि बने । उनले त्यतिबेलाको राजा तथा नेताहरुको तस्वीरहरु चित्रमार्फत् जस्ताको त्यस्तै उतार्थे । उनी भन्छन्, ‘चित्रकला पनि मेरो रुचीको विषय हो ।’
काठमाडौं प्रवेश गरेपछि पोखरेल पत्रकार बने । २०४६ सालदेखि पत्रकारिता गरेका उनले तीन वर्ष बढी समय पत्रकार भएर काम गरे । राष्ट्र पुकार साप्ताहिकमा लेख लेख्थे । र, एउटा अर्को रेडियोमा पनि उनले काम गरे ।
स्वीडेनको गोथेनवर्ग विश्वविद्यालयमा तीन सातासम्म मास मिडिया र डेमोक्रेसी विषय पढेपछि आफु पत्रकार बनेको उनी सुनाउँछन् । मध्यपश्चिमाञ्चलबाट छनोट भएर पढ्न गएको उनी बताउँछन् । उनलाई अहिले पत्रकारिता पेशा अँगालिरहेको भए पनि हुने भन्ने महसुस हुन्छ ।
‘पत्रकारिता गर्दा धेरै जनाको अन्तर्वार्ता लिएँ, विनोद चौधरी, शैलजा आचार्य लगायत सयौं जनाको मैले अन्तर्वार्ता लिएको छु, पत्रकारिता गरेर नै मेरो लेखनशैली राम्रो भएको हो, धेरै मान्छेहरुसँग चिनजान पनि भयो,’ उनी त्यतिखेरको पत्रकारिताको अनुभव सुनाउँदै उनी भन्छन्, ‘त्यतिखेर धेरै गाह्रो थियो, प्रेसमा अक्षर टाइप गर्नुपथ्र्याे, पत्रिकामा एउटा लेख लेख्दा १५ सय रुपैयाँ आउँथ्यो ।’
वि.स २०५० सालमा उनले पत्रकारिता छोडे । पत्रकारिताले उनको लेखनशैली राम्रै भइसकेको थियो । अब उनलाई किताब लेख्ने हुटहुटी आयो । त्यही बिचमा तीन वटा पुस्तक लेखेको उनी बताउँछन् । ‘राप्ती पश्चिमको प्रजातान्त्रिक आन्दोलन, ‘नयाँ मुलुकमा प्रजातान्त्रिक आन्दोलन’ उनले लेखेका पुस्तक हुन् ।
पार्टटाइमरदेखि प्रिन्सिपलसम्म
पत्रकारिता छोडेपछि पोखरेलको बाटो अध्यापनतर्फ मोडियो । उनले काठमाडौंका केही कलेजहरुमा स्ट्राटेजिक म्यानेजमेन्ट, मार्केटिङ म्यानेजमेन्ट पढाउन थाले । अध्यापनका दिनहरु बित्दै गए । उनी काठमाडौंको म्यानेजमेन्ट डेभलपमेन्ट क्याम्पसको प्रमुख पनि बने ।
उनले म्यानेजमेन्ट एसोसिएसन अफ नेपाल (म्यान) मा पनि १४ वर्ष काम गरे । उनले पढाएको र व्यवस्थापन सम्हालेको डेढ दशक भइसकेको थियो ।
‘पत्रकारिता छोडेपछि २०५० सालमा म्यानेजमेन्ट एसोसिएसन अफ नेपालमा काम गर्न थालेँ, सुरुमा एकाउन्ट अफिसर थिएँ, ६ महिनामा नै डाइरेक्टर भएँ, काम गर्दै गर्दा पढाइ पनि अघि बढाएँ, सातै दिन काम गर्थें, क्याम्पस प्रमुख हुँदा पनि सातै दिन अफिस जान्थे, ठूलो मिहेनत गरेर म्यानलाई एउटा उचाइमा पुर्याइयो,’ उनी भन्छन्, ‘म मिहेनत गर्न रुचाउँछु, दत्तचित्तले काम गर्ने बानी अहिले पनि निरन्तर छ ।’
अध्यापन गर्दै गर्दा उनले नेपाल विद्युत प्राधिकरण, नेपाल टेलिकम लगायतका संस्थाहरुमा गएर पढाउने तथा तालिम दिने काम पनि गरे । सोही समय वि.स २०५५ सालमा उनले विवाह गरे । उनले धनगढीबाट विवाह गरेका हुन् । उनका अहिले दुइटा बच्चाहरु छन् । छोरा न्यूयोर्कमा काम गर्छन् । छोरी उनीसँगै नेपालमा छिन् ।
त्यसपछि जुर्यो सीईओ बन्ने अवसर
क्याम्पस प्रमुख हुँदा नै उनलाई सिटिजन्स बैंकमा काम गर्ने अवसर आयो । वि.स २०६४ सालमा सिटिजन्स बैंकको स्थापना भएपछि उनी क्याम्पस प्रमुख छोडेर बैंकमा सिनियर म्यानेजर भएर गए । पर्शुराम कुँवरले २०६५ सालमा बैंक छाडे । पोखरेल दोस्रो वरियतामा पुगे ।
रातदिन मिहेनत गर्ने बानी सानैदेखि भएको उनी सुनाउँछन् । ‘मलाई क्याम्पसमा काम गर्दा पनि एचआरमा बढी ज्ञान थियो, बैंकमा काम गर्ने आग्रहपछि बैंकमा काम गर्न सुरु गरेको हुँ, धेरैले मेरो व्यवहार देखेर राजदूत हुन्छ भन्थे, तर सीईओ बनेँ,’ उनले भने ।
उनको कामलाई बैंक सञ्चालकले रुचायो । स्थापनाकालदेखि नै सिटिजन्स बैंकमा काम गरिरहेका उनले २०७५ सालमा सीईओको जिम्मेवारी पाए । अहिले उनको सीईओको रुपमा दोस्रो कार्यकाल चल्दैछ । ‘म अहिले पनि १६/१७ घण्टा काम गर्छु, मलाई पढ्न खुब आनन्द लाग्छ, म धेरै पढ्छु, म बैंकमा नआएको भए सम्भवतः अमेरिकाबाट पिएचडी गरिसक्थें,’ उनले सुनाउँदै भने ‘तर अहिले जे गरिरहेको छु, यसमा पूर्ण सन्तुष्ट छु ।’
उनको रुची सीए पढ्ने थियो । तर, उनलाई सीए नपढेकोमा कुनै पश्चाताप नभएको उनी बताउँछन् ।
त्यो दिनचर्या र यो जीवनशैली
५४ वर्ष पुगेका गणेशराज पोखरेलले अभावमा जिन्दगीमात्रै जिएनन्, शुखसयलको दिन पनि अनभुव गरे । तर, उनको व्यवहारमा भने कुनै परिवर्तन आएन । उनले २३ वर्षसम्म काठमाडौंमा बिताएको कोठे जिन्दगी र करोड कमाउने बैंकको सीईओ भएर पनि साधारण जीवनशैली रोजे ।
उनी सुरुमा काठमाडौं आएपछि रातोपुलमा १० वर्ष भाडामा बसे । त्यसपछि मैतीदेवी र बानेश्वरमा १२/१३ वर्ष भाडामै दिन गुजारे । अहिले भैसेपाटीमा आफ्नै घर छ । तर, उनलार्ई बदिर्याको गुलरियामा बिताएको त्यो शैशवकाल र मैतीदेवी, बानेश्वर र रातोपुलमा बिताएको कोठे जिन्दगी नै आनन्दित लाग्ने गरेको सुनाउँछन् ।
‘जीवनमा धेरै हण्डर खाएँ, पैसा कमाउने, घुम्न पाए हुन्थ्यो, यो/त्यो खान पाए हुन्थ्यो भन्ने अपेक्षा छैन, म साधारण जीवनशैली रुचाउँछु, आजका दिनमा पनि मलाई आलु टमाटरको बाक्लो झोल र भुजामा एक चम्चा घ्यू हालेर दियो भने जीवनमा त्यो जति मिठो अरु केही लाग्दैन, दुनियाँभरका आइटम खान पनि जान्दिनँ, पत्रकारिता गर्दा सबै पार्टीले होटलमा कार्यक्रम गर्थे, तर, मलाई कहिल्यै पनि त्यसले आकर्षित गरेन, लुगा लगाउँदा पनि साधारण कपडा नै प्रयोग गर्छु., साधारण जीवनशैली नै मेरो विशेषता हो,’ सीईओ पोखरेल भन्छन् ।
पोखरेल अझै पनि अध्ययन गर्न चाहन्छन् । उनलाई अमेरिकाको कुनै विश्वविद्यालयबाट एक वर्षे म्यानेजमेन्ट कोेर्ष पढ्न मन छ । ‘मैले जागिर गरेको ३४ वर्षभन्दा बढी समय भइसक्यो, अब धेरै दौडधूप गर्ने इच्छा छैन, आफुले गरेको संघर्षको फलप्रति म सन्तुष्ट छु, अब छोराछोरीले देशका लागि केही काम गर्दिए भने म खुसी हुनेछु, उनीहरुले पढेको कुरालाई देशका लागि प्रयोग गरे भने म खुसी हुन्थें, उनले भने,‘ सीईओको कार्यकाल सकिएपछि गृह जिल्लामै गएर बस्ने मन छ ।’
उनी अब नयाँ युवाहरुलाई बैंकमा अवसर दिनु पर्ने बताउँछन् । सीईओ पोखरेल युवाहरुलाई बैंकमा आउन आग्रह गर्छन् । क्षमता देखाउन सक्नेलाई बैंकिङमा राम्रो अवसर भएको उनी सुनाउँछन् । ‘म बटम अफ एप्रोचमा विश्वास राख्छु, विदेश जानु पर्दैन, स्वदेशमै राम्रो करिअर बनाउन सकिन्छ, मिहेनत गरेर अघि बढ्नेलाई बैंक भर्सटाइल छ,’ उनी भन्छन्, ‘म टीममा विश्सास गर्छु ।’
भुल्नै नसकिने ती पल
कतिपय घटनाहरु मान्छेको मानसपटलमा घुमिरहन्छन् । मनबाट नमेटिने घाउ बनिदिन्छन् केही घटनाहरु । सीईओ पोखरेलको जीवनमा पनि त्यस्ता अविस्मरणीय घटना भए ।
सिटिजन्स बैंकको सीईओ बनेपछि उनी ठूलो दुर्घटनामा परे । भाग्यवस्, उनी बाँचे । ‘भर्खर सीईओ बनेको थिएँ, सीईआ बनेपछि शाखा कार्यालय भिजिट गर्न पथलिया पुगेको थिएँ, शाखा भिजिट सकेर खाना खान जाँदा स्पीडमा रहेको गाडी दुर्घटनामा पर्यो, सँगै रहेका साथीहरु बहोस भए तर म ढोका फोडेर बाहिर निस्केँ, पछि सबैको अप्रेसन भयो, भाग्यवस बाँच्न सफल भैयो,’ त्यो दिन स्मरण गर्दै पोखरेलले भने ।
उनी दुर्घटनामा परेको केही समयपछि पोखरेलकी आमाको मृत्यु भयो । तर, उनले आमालाई भेट्न सकेनन् । गत चैतमा उनको बुबाको पनि निधन भयो । यी पलहरु उनका लागि निकै पीडादायी बनेर मानसपटलमा घुमिरहेका छन् । तर, सीईओ गणेशराज पोखरेलको जीवनमा घटित घटना र उतार चढावहरु संघर्ष गर्ने हर कोहीको लागि पनि प्रेरणादायी हुनसक्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.
Appreciated
GOOD N HARD WORKING MAN.