एक सहकारीले भन्यो – ‘ललितपुरका राकेश शाक्यसँग होसियार रहनु’

  २०८० साउन १४ गते ८:५८     विकासन्युज

काठमाडौं । मानसरोवर कृषि सहकारी संस्थाले ललितपुरका राकेश शाक्यसँग होसियार रहन आग्रह गरेको छ । सहकारी संस्थाले पूर्व कर्मचारी ललितपुर महानगरपालिका ११ का राकेश शाक्यसँग होसियार रहन आग्रह गरेको हो ।

शाक्य गैरकानुनी क्रियाकलाप र जानाजान ठगीमा संलग्न रहेकाले मानसरोवर कृषि सहकारीको कुनै कागजपत्र, चेकबुक वा मुद्दती बचत रसिद ल्याएर कारोबार गर्न खोजेको खण्डमा कारोबार नगर्न आग्रह गरेको हो ।

सहकारीका अनुसार ललितपुर महानगरपालिका ११ घर भई हाल गोदावरी नगरपालिका १० बस्ने शाक्य वि.सं. २०७६ साउन १ गतेका दिन प्रबन्धक पदमा नियुक्त भए । उनले वि.सं. २०७७ भदौ १ गतेदेखि स्वेच्छाले संस्थाको जागिर छाडेका थिए ।

संस्था छाडेर जाँदा आफ्नो जिम्मेवारीमा संस्थाको चलअचल सम्पत्ति बुझाई, हरहिसाब फरफारक गरेर जानुपर्ने हो । तर, उल्टै कृषि विकास बैंकको चापागाउँ शाखामा रहेको यस संस्थाको बैंक खातामा दस्तखत चल्ने सञ्चालकहरुले दस्तखत गरिसकेको चेक नं. १२९८४७०१ चोरेर लगी ४६ लाख ५० हजार रुपैयाँको चेक काटेर त्यसलाई बाउन्स गराए । त्यस्तै, उनले संस्था सञ्चालक समितिका सदस्यहरुलाई कालोसूचीमा राख्न सम्बन्धित निकायमा निवेदन समेत दर्ता गराए ।

खाता सञ्चालनमा प्रयोग हुने दस्तखत वि.सं. २०७७ असोज ३० गते नै परिवर्तन भइसकेको थियो । तर, शाक्यले वि.सं. २०७९ चैत १३ गतेको मितिमा चेक काटेर त्यसलाई बाउन्स गराएर संस्थालाई बदनाम गराउने, दुःख दिने र आफूले गैरकानुनी लाभ लिने नियत रहेको संस्थाको आरोप लगाएको छ ।

त्यसैले शाक्यले आगामी दिनमा पनि यस्ता गैरकानुनी क्रियाकलाप गर्न सक्ने भएकाले संस्थासँग कारोबार गरिरहेका बैंक तथा वित्तीय संस्था, सहकारी संघ र संस्थाका सेयर सदस्यहरुलाई सजग रहन आग्रह गरेको हो ।

साथै, संस्थासँग लिएको ऋणको साँवा ब्याज भुक्तानी गर्न र हिनामिना गरेको रकमको हिसाब एक हप्ताभित्र बुझाउन भनेको छ । अन्यथा संस्थालाई पुर्याएको हानिनोक्सानी उपर कानुनी कारवाही अघि बढाउने सहकारीले चेतनावनी दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.