२०८० साउन १७ गते ८:१९ विकासन्युज
काठमाडौं । मकवानपुरको हेटौँडा औद्योगिक क्षेत्रमा अहिले दैनिक १०५ वटा विभिन्न प्रकारका उद्योग सञ्चालित छन् । उक्त औद्योगिक क्षेत्रमा स्थापना भएको हेटौँडा कपडा उद्योगसहित ९ वटा उद्योग आर्थिक सङ्कटको कारणबाट केही वर्षअघिदेखि बन्द रहेको हेटौँडा औद्योगिक क्षेत्रले जनाएको छ ।
सो क्षेत्रको परिसरभित्र विभिन्न प्रकारका गरी १९ वटा उद्योग निर्माणाधीन अवस्थामा रहेका छन् । ती उद्योगमध्ये ७ वटा उद्योगले आगामी चैत मसान्तभित्रै आ–आफ्नो उत्पादन सुरु गर्ने लक्ष्यका साथ निर्माण कार्यलाई तीव्रता दिएको औद्योगिक क्षेत्र व्यवस्थापनले जनाएको छ ।
यसैगरी, सो औद्योगिक क्षेत्रमा अहिले खाद्य उद्योग, युनाइटेड ब्रुअरी (पेय पदार्थ), गोर्खा ब्रुअरी कम्पनी, एसियन पेन्ट्स, पशु आहारा दाना उद्योग, कार्टुन उद्योग प्रमुख रहेका छन् ।
यस्तै, उक्त परिसरमा सरकारको स्वामित्वमा रहेको हेटौँडा दुग्ध वितरण आयोजना, प्रदेश खाद्य तथा गुण नियन्त्रण कार्यालय, प्रदेश बीउबिजन कम्पनी, प्रदेश माटो परीक्षण कार्यालय, इलाका प्रहरी कार्यालय र नेपाल बैंक लिमिटेड हेटौँडा शाखालगायतको कम्पनी सञ्चालनमा रहँदै आएको हेटौँडा औद्योगिक क्षेत्रका प्रबन्धक भोजराज विनाडीले जानकारी दिए ।
हाल औद्योगिक क्षेत्रमा सञ्चालित विभिन्न उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब ११ हजार जनाले रोजगारीको अवसर प्राप्त गरेका छन् ।
उनले नेपाल सरकारद्वारा स्थापना गरिएको हेटौँडाको मयुरधापमा स्थापित नयाँ औद्योगिक क्षेत्रमा चालु आर्थिक वर्ष २०८०÷८१ भित्रै नयाँ उद्योग स्थापना गर्ने क्रममा सम्बन्धित उद्योग व्यवस्थापनको मागबमोजिम जग्गा उपलब्ध गराउनेतर्फ प्रक्रिया सुरु भइरहेको बताए ।
तत्कालीन श्री ५ को सरकारले विसं २०२० साल मङ्सिरमा हेटौँडामा औद्योगिक क्षेत्रको स्थापना गरेको थियो । हाल उक्त औद्योगिक क्षेत्रभित्र करिब ९५५ रोपनी जग्गा नयाँ उद्योग स्थापनाका लागि राखिएको र नयाँ उद्योगले जग्गा प्राप्तिको लागि निवेदन दिँदै आएको पनि प्रबन्धक विनाडी जानकारी दिए । रासस
Copyright © 2025 Bikash Media Pvt. Ltd.