उचित मूल्य नपाएपछि कृषकले सुन्तला टिपेनन्, प्रतिकिलो १० देखि ३५ रुपैयाँ मात्र

  २०७३ मंसिर १३ गते १५:५९     विकासन्युज

पाल्पा, १३ मङ्सिर । सुन्तलाको उचित मूल्य नपाएपछि यहाँका किसान चिन्तित बनेका छन् । बजार मूल्य राम्रो नभएपछि उनीहरुले बोटबाट सुन्तला टिपेका छैनन् । साना सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो १० रुपैयाँ र ठूला सुन्तलाका दानाको थोक मूल्य प्रतिकिलो ३५ रुपैयाँमा कारोबार हुने भएपछि जिल्लाको पश्चिमी भेगका किसानले सुन्तला नटिपेका हुन् । तर उपभोक्ताले भने ८० देखि ९० रुपैयाँ प्रतिकिलो सुन्तला किनेर खान बाध्य छन् । suntala

प्रतिकिलो ३५ रुपैयाँमा नै सुन्तला ढुवानी गर्नुपर्ने भएपछि बिचौलियाले बढी नाफा खाने तर आफूहरुलाई उत्पादन मूल्यसमेत उठाउन समस्या भएको ती किसान बताउँछन् । तानसेनदेखि पश्चिमका गाविसबाट झन्डै रु पाँच करोडभन्दा बढीको सुन्तला रुपन्देही जिल्लामा समेत निर्यात हुदै आएकामा यसवर्ष ढुवानी मूल्य बढेको भन्दै मुनाफा नदिँदा सुन्तला नै नटिपेको मुझुङ गाविस–४ का राजु कार्कीले बताए ।

मुझुङ गाविसबाट गत वर्ष ३३ लाख रुपैयाँ, छहरा गाविसबाट मात्र एक करोडभन्दा बढीको सुन्तला रुपन्देही जिल्लामा निर्यात भएको थियो । सुन्तलाबाट एक लाखभन्दा बढी आम्दानी गर्ने किसान बढेपछि यो गाउँका अधिकांशले वैदेशिक रोजगारबाट फर्केर सुन्तलाखेती थालेको कार्कीको भनाइ छ । गाउँबाट प्रत्येक वर्ष ७० देखि ८० टनसम्म सुन्तला बिक्री वितरण गर्दै आएका किसान अहिले सुन्तलाको मूल्य नपाउँदा समस्यामा परेका हुन् ।

तीनसय बोटका सुन्तलाले कार्कीको बगैँचा पहेँलपुर बनाएको छ । यसपालि सुन्तला धेरै फलेर हाँगा नै नुगेका छन् । पाँच सात वर्षमा नै सुन्तलाबाट प्रत्येक वर्ष डेढ दुई लाख आम्दानी हुन थालेकाले वृद्ध आमाबुबासँग घरमा बसेर सुन्तला, तरकारीखेती गर्दै आएको उनले बताए ।

अर्का कृषक रामबहादुर कार्की भएका ३५ वटा बोटका सुन्तलाबाट आम्दानी कम हुने हो कि भनेर चिन्तित हुनुहुन्छ । यस्तै छहरा, पालुङमैनादी, सोमादी, भुवनपोखरी, कुसुमखोला, खस्यौली, भैरवस्थानलगायतका किसानले राम्रो मूल्य नपाएपछि अझै सुन्तला टिपेका छैनन ।

छहरा गाविस–५ अम्लाबासका पारशमणि पोखरेलका अनुसार सुन्तलाको मूल्य अझै राम्रो हुने आशामा किसानले सुन्तला नटिपेका हुन् । पाकेको सुन्तला बढी समयसम्म बोटमा राख्दा अर्को वर्ष कम फल्ने चिन्तासमेत उनीहरुमा छ । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.