२०८० भदौ १० गते १६:१८ विकासन्युज
काठमाडौं । नेपालका सबै विश्वविद्यालयले एउटै शैक्षिक क्यालेन्डर लागु गराउने गरी विश्वविद्यालय अनुदान आयोगले शैक्षिक क्यालेन्डर तयार गरेको छ । उक्त क्यालेन्डर लागु गराउन आयोगले अन्तिम गृहकार्य गरिरहेको बताएको छ ।
नेपालका विश्वविद्यालयमा समयमा परीक्षा नहुने र नतिजा पनि नआउने हुँदा विद्यार्थी हैरान छन् । विश्वविद्यालयहरुको शैक्षिक क्यालेन्डर अस्तव्यस्त हुँदा दिक्दार बनेका विद्यार्थी नेपालमा नपढी विदेशिन थालेको भन्दै अनुदान आयोगको अग्रसरतामा शैक्षिक क्यालेन्डर तयार गरिएको हो ।
विश्वविद्यालय अनुदान आयोगका उपनिर्देशक देवेन्द्र खनालकाअनुसार आयोगले क्यालेन्डर निर्माण गरेर स्वीकृतिका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा पेस गरेको छ । मन्त्रालयले स्वीकृत गरेपछि सार्वजनिक गरेर क्यालेन्डर कार्यान्वयनमा ल्याउने उनले बताए ।
आयोगले तयार गरेको शैक्षिक क्यालेन्डरमा विश्वविद्यालयहरुले विद्यार्थी भर्नादेखि परीक्षाफल कहिले प्रकाशन गर्नुपर्ने भन्नेसम्मका विषयहरु समावेश गरिएका छन् ।
क्यालेन्डरअनुसार विश्वविद्यालयहरुले स्नातक तहमा भदौ महिनाभित्र भर्ना आवेदन गर्नुपर्ने, प्रवेश परीक्षा असोज महिना भित्र, भर्ना कात्तिक दोस्रो हप्ताभित्र र पठनपाठन मंसिर पहिलो हप्ता भित्रमा सुरू गर्नु पर्ने हुन्छ । त्यस्तै, क्यालेन्डरअनुसार स्नातकोत्तर तहमा भर्ना आह्वान मंसिर अन्तिमभित्र र भर्ना सुरू पुस तेस्रो हप्ताभित्र गर्नु पर्ने हुन्छ ।
क्यालेन्डरमा विश्वविद्यालयहरुले गर्नुपर्ने आन्तरिक पठनपाठन र आन्तरिक मूल्यांकनको लागि पनि समयसीमा तोकिएको छ । सरकारले घोषणा गर्न सक्ने सार्वजनिक विदालाई क्यालेन्डरमा समायोजन गर्दै जाने आयोगले तयार गरेको क्यालेन्डरमा उल्लेख छ ।
आयोगका उपनिर्देशक रावलका अनुसार क्यालेन्डर सबै विश्वविद्यालयका पदाधिकारीहरुसँग बसेर तयार गरिएको हुँदा पूर्ण रुपमा लागू हुने अनुदान आयोगले अपेक्षा गरेकाे छ। आयोगले तयार गरेको क्यालेन्डर लागू हुन सकेमा नेपालको उच्च शिक्षामा लामो समयदेखि देखिएको समय तालिकाको वेथिति अन्त्य हुने र नयाँ शैक्षिक वातावरण तयार हुने अपेक्षा गरिएको छ ।
यस्तो छ विश्वविद्यालयले तयार गरेको शैक्षिक क्यालेन्डर
Copyright © 2025 Bikash Media Pvt. Ltd.