इन्जिनियरिङको शुल्क घटाउन माग गर्दै भिसी कार्यालय अगाडि नेविसंघको होम
२०८० भदौ १३ गते ११:२८ विकासन्युज
काठमाडाैं । सत्तारुढ दल कांग्रेस निकट विद्यार्थी सङ्गठन नेपाल विद्यार्थी सङ्घले इन्जिनियरिङतर्फको स्नातक तह अध्ययनका लागि अस्वाभाविक रूपमा शुल्क बढाइएको भन्दै विरोध गर्दै आएको छ ।
बुधबार नेपाल विद्यार्थी सङ्घले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले गरेको शुल्क वृद्धिबिरुद्ध र अनशनरत नेविसंघ नेता सुलभ चापागाईंको जीवन रक्षाका लागि त्रिभुवन विश्वविद्यालयको भिसी कार्यालय अगाडि होम हालेर साङ्केतिक विरोध जनाएको हो ।
विरोध कार्यक्रममा बोल्दै नेविसंघका केन्द्रीय सदस्य मात्रिका तिमिल्सिनाले नेपाल विद्यार्थी सङ्घले इन्जिनियरिङको आइटी सेक्टरको फीलाई घटाउनुपर्छ भनेर सन्देशमूलक आन्दोलन गरेको बताए । उनले केही दिन यता नेविसंघले पुलचोक क्याम्पस, प्रधानमन्त्रीको सरकारी निवास लगायतका विभिन्न ठाउँमा शुल्क वृद्धि घटाउन माग गर्दै विरोध प्रदर्शन गरिरहेको बताए ।
उनले त्रिभुवन विश्वविद्यालयको भिसीलाई विद्यार्थीको पक्षमा सकारात्मक रूपमा लाग्न पनि चेतनास्वरुप होम हालिएको बताए । त्रिभुवन विश्वविद्यालयको इन्जिनियरिङ अध्ययन संस्थानले गत भदौ ४ गते सूचना प्रकाशित गरी स्नातक तहअन्तर्गत बी.ई.बी.आर्क अध्ययनका लागि शुल्क वृद्धि भएको जानकारी गराएको थियो ।