वाणिज्य बैंकका सहायक कम्पनीलाई टक्कर दिँदै मुक्तिनाथ क्यापिटल

  २०८० असोज ३ गते १०:५९     विकासन्युज

काठमाडौं । २०७४ सालमा भिबोर विकास बैंक र लुम्बिनी फाइनान्स मर्ज भए । दुई संस्था एक आपसमा मर्ज भएपछि भिबोर विकास बैंकको सहायक कम्पनी भिबोर क्यापिटललाई मुक्तिनाथ विकास बैंकले खरिद गर्याे । बैंकले वि.सं. २०७६ आषाढ ३१ गते साविकको भिबोर क्यापिटलको ५८.७५ प्रतिशत सेयर खरिद गरी मुक्तिनाथ क्यापिटलको नामबाट कारोबार गर्न थाल्यो ।

मुक्तिनाथ क्यापिटलको नामबाट मर्चेन्ट बैंकिङ्ग कारोबार गर्न थालेको ४ वर्ष मात्रै भएको छ । तर, बजारमा मुक्तिनाथ क्यापिटलको उपस्थिती हेर्दा अन्य मर्चेन्ट बैंकलाई टक्कर दिइरहेको बताइन्छ । मुक्तिनाथ क्यापिटल (साविक भिबोर क्यापिटल)कम्पनी रजिष्ट्रारको कार्यालयमा वि.सं. २०६६ माघमा दर्ता भएको थियो भने नेपाल धितोपत्र बोर्डबाट वि.सं. २०६७ साउनदेखि मर्चेन्ट बैकिङ्ग व्यवसाय गर्न इजाजतपत्र पाएको थियो ।

कम्पनीले हाल निष्काशन तथा बिक्री प्रबन्धक, धितोपत्र प्रत्याभूतिकर्ता, सेयर रजिष्ट्रार, लगानी व्यवस्थापक तथा निक्षेप सदस्य सम्बन्धी कार्य गरिरहेको छ । कम्पनीका सेयरधनीहरुको हक हितको संरक्षण तथा सम्बद्र्धन गर्ने र लगानीकर्ताहरुलाई धितोपत्र व्यवसायीको रुपमा गुणस्तरीय तथा भरपर्दो सेवा उपलब्ध गराउने कम्पनीको मुख्य उद्देश्य रहेको क्यापिटलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) कबिन्द्रध्वज जोशीले बताए ।

लगानीकर्ताहरुको पूँजी बजार तर्फको विश्वसनियता अभिवृद्धि गर्न आवश्यक कार्य संचालन गर्ने, पूँजी बजारसँग सम्बन्धित सेवाको विकास तथा विस्तार गर्न आवश्यक सहयोग र समन्वय गर्ने, उपलब्ध सीप, श्रम तथा पूँजीलाई उचित परिचालन गरी ग्रामीण तथा शहरी क्षेत्रमा पूँजी बजारसँग सम्बद्ध सुविधाहरु उपलब्ध गराउन आवश्यक वित्तीय साधन, प्राविधिक तथा व्यवस्थापकीय परामर्श सेवा, तालिम तथा प्रविधि उपलब्ध गराई देशको पूँजी बजारको समग्र विकासका लागि सक्रिय रुपमा संलग्न भई सहयोग पुर्याउने उद्देश्य रहेको सीईओ जोशीको भनाइ छ ।

‘नेपाल धितोपत्र बोर्ड (सेबोन)ले मर्चेन्ट बैंकहरुलाई पूँजी वृद्धि गर्न निर्देशन दियो, ७ करोड पूँजीबाट एकैपटक २० करोड पुर्याउन निर्देशन दिएपछि संस्थापकले बहुमत सेयर मुक्तिनाथ विकास बैंकलाई बिक्री गर्याे,’ उनले भने, ‘मुख्य सेयर बैंकले खरिद गरेर सहायक कम्पनीको रुपमा काम गरिरहेको छ, मुक्तिनाथ क्यापिटलको रुपमा परिणत भएपछि इस्यू म्यानेजर, सेयर रजिष्ट्रार, अण्डरराईटिङ्ग, पोर्टफोलियो म्यानेजमेन्ट र डीपीको काम गरिरहेको छ ।’

म्युचुअल फण्ड निष्काशन गर्दै

क्यापिटलले लामो समयपछि म्युचुअल फण्ड अर्थात् सामूहिक लगानी कोष योजना ल्याउने तयारी गरिरहेको सीईओ जोशी बताउँछन् । उनका अनुसार लाइसेन्सको प्रक्रिया सकिएकाले यहि वर्ष भित्र म्युचुअल फण्ड जारि गर्ने योजना रहेको उनको भनाइ छ ।

‘यो वर्षभित्रै म्युचुअल फण्ड निष्काशन गर्ने तयारी छ, कोष प्रबर्द्धकका रुपमा मुक्तिनाथ विकास बैंकबाट अनुमति पत्र आइसकेको छ, कोष सुपरिवेक्षक पनि नियुक्त गरिसकेका छौं । साथै, मुक्तिनाथ क्यापिटललाई पनि कोष व्यवस्थापक र डिपोजिटरको लाइसेन्स लिएर नयाँ स्किम लञ्च गर्ने तयारीमा छौं,’ उनले भने ।

क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्काशन तथा बिक्री खुला गर्नेछ । फण्डको अवधि १० वर्ष रहेको छ भने सो फण्ड बन्दमुखी योजना हो ।

‘हामी पछि आएको कम्पनी हो, ग्राहकलाई नयाँ–नयाँ प्रडक्ट दिन निरन्तर क्रियाशील भइहेका छौं, यसको लागि बैंकले पनि पूर्ण सपोर्ट गरिरहेको छ,’ सीईओ जोशीले भने ।

धितोपत्र बोर्डमा ३१ वटा कम्पनीले मर्चेन्ट बैंकिङ्ग सम्बन्धी कारोबार गर्न अनुमति पाएका छन् । तर, अधिकांश कम्पनीको बजारमा उपस्थिती हेर्ने हो भने शुन्य जस्तै देखिन्छ । केही मर्चेन्ट बैंकहरुले मात्रै बजारमा एकछत्र राज गरेको देखिन्छ । जसमध्ये अधिकांश कम्पनी वाणिज्य बैंकका सहायक कम्पनी हुन् । तर, तिनै वाणिज्य बैंकका सहायक कम्पनीलाई टक्कर दिइरहेको छ, मुक्तिनाथ क्यापिटलले ।

‘सेबोनले सबैलाई काम गर्न अनुमति दिएको छ, बजारमा कम्पनी धेरै हुँदा प्रतिस्पर्धा पनि बढी हुन्छ, साथै, नयाँ व्यवसायको दायरा पनि बढ्दै गएको छ, विगतमा पोर्टफोलियो म्यानेमेन्ट, म्युचुअल फण्ड थिएन, अहिले स्थापित भइसके,’ सीईओ जोशीले भने, ‘भेञ्चर क्यापिटल र प्राइभेट इक्विटी, स्पेसलाइज्ड इन्भेष्टमेन्ट फण्ड खुला गगर्ने तयारी भइरहेको छ, प्रतिस्पर्धासँगै व्यवसायका दायरा पनि बढेका छन् ।’

जब प्रतिस्पर्धा हुन्छ तब ग्राहकहरुले पनि उत्कृष्ट र सर्वसुलभ सेवा पाउने सीईओ जोशीको भनाइ छ । विकास बैंकहरुको सहायक कम्पनीको रुपमा पहिला स्थापना भएको मुक्तिनाथ क्यापिटल हो । ग्राहकको सेवा सुविधालाई उच्च प्राथमिकतामा राखेर सेवा दिने भएकाले अन्य कम्पनीभन्दा मुक्तिनाथ फरक रहेको उनले बताए ।

मुक्तिनाथ क्यापिटलका रणनीति

गुणस्तरिय सेवामा मक्तिनाथ क्यापिटललाई पहिलो कम्पनीका रुपमा उभ्याउने लक्ष्य रहेको सीईओ जोशीले बताए । पछिल्ला केही वर्षयता क्यापिटलले आक्रामक रुपमा आफ्नो व्यवसाय गरिरहेको उनको भनाइ छ ।

‘वितग ३ वर्षदेखि आक्रामक रुपमा व्यवसाय गरिरहेका छौं, बजारमा प्रतिस्पर्धी सेवा दिन जहिले पनि तत्पर रहन्छौं, ग्राहकहरुलाई पहिलो प्राथमिकतामा राखेर सेवा दिने हाो उद्देश्य छ,’ उनले भने, ‘साना लगानीकर्तालाई सेयर बजारमा आकर्षित गर्ने उद्देश्य छ, सामुहीक लगानी कोष बिक्री हुन गाह्रो भइरहेको छ, सकेसम्म म्युचुअल फण्डको माध्यमबाट साना लगानीकर्तालाई पूँजी बजारमा ल्याउँछौं ।’

क्यापिटलका सेवा

क्यापिटलले निष्काशन तथा बिक्री प्रबन्धकका काम गरिरहेको छ । साथै, नयाँ कम्पनीको आईपीओ निष्काशन र पुराना कम्पनीको हकप्रद सेयर बिक्रीमा क्यापिटलले जोड दिईरहेको छ । यस्तै, सेयर रजिष्ट्रार सम्बन्धी सेवा, लगानी व्यवस्थापन, सेयर प्रत्याभूति, संस्थापक परामर्शदाता सेवा र सामूहिक लगानी कोषको सेवा दिइरहेको सीईओ जोशीले बताए । साथै क्यापिटलले पछिल्लो समय आजीवन डिम्याट खाता सञ्चालन गरिरहेको उनको भनाइ छ ।

उनका अनुसार मुक्तिनाथ क्यापिटलमा १ लाख ३० हजारबढीले डीपी खाता खोलका छन् । साथै, क्यापिटलले १५० जनाभन्दा बढीको ७० करोड रुपैयाँ बढीको लगानी व्यवस्थापनको काम गरिरहेको बताएको छ । क्यापिटलमा २५ जना कर्मचारी कार्यरत रहेका छन् ।