विद्यालय बन्द गरे काठमाडौं महानगरले कारबाही गर्ने, विभागलाई दियो यस्तो निर्देशन

  २०८० असोज ३ गते १४:२६     विकासन्युज

काठमाडौं । काठमाडौं महानगरपालिकाले विद्यालय बन्द गर्ने प्रधानाध्यापक र शिक्षकलाई कारबाही गर्ने भएको छ । महानगरले शिक्षक आन्दोलनका नाममा शिक्षकहरुले विद्यालय बन्द गरेमा प्रधानाध्यापकसहित शिक्षकलाई पनि कारबाही गर्ने निर्णय गरेको हो ।

सरकारले संसद सचिवालयमा दर्ता गरेको विद्यालय शिक्षा विधेयकको बिरोधमा काठमाडौंको माईतीघरमा शिक्षकहरुले प्रदर्शन गरिरहेका बेला महानगरले उक्त निर्णय गरेको हो ।

त्यसका लागि काठमाडौं महानगरपालिकाले शिक्षा विभागलाई आवश्यक अनुगमन गरेर कारबाही गर्न निर्देशन दिइसकेको पनि महानगर स्रोतले बताएको छ । स्रोतका अनुसार यदि विद्यालय बन्द गरेर विद्यार्थीहरुको पठनपाठनमा अवरोध पुगेको देखिएमा महानगरको शिक्षा ऐन अनुसार कारबाही गर्ने तयारी गरेको छ ।

महानगरले यसअघि पनि विद्यालय शान्ति क्षेत्र भएकाले शिक्षक कर्मचारीहरूलाई बन्द हडतालमा उत्रिएको खण्डमा सेवाबाट बर्खास्त गर्नेसम्मको चेतावनी दिँदै आएको थियो ।

नेपाल शिक्षक महासंघको अगुवाइमा भएको बुधबारको आन्दोलनमा देशभरका शिक्षकहरु माईतीघरमा भेला भएका छन् । संसदमा दर्ता भएको शिक्षा विधेयकमा महासङ्घले विभिन्न १८ बुँदे असहमति प्रकट गरेको छ । जसमा सरुवा बढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसहितका माग छन् । सो माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ ।

उनीहरुले विद्यालय शिक्षक कर्मचारीमाथिको ज्यादती बन्द गर, शिक्षामा कुल बजेटको २० प्रतिशत लगानी गर, शिक्षामन्त्री राजीनामा दे, कक्षा १२ सम्मको पूर्ण निःशुल्क शिक्षाको व्यवस्था गर्, १० वर्षमा आवधिक बढुवाको ग्यारेन्टी गर्, राहत र उच्च मावि दरबन्दी स्वीकृत गर्, शिक्षा विधेयक संशोधन गर् लगायतका नारा लेखिएका प्लेकार्ड बोकेर विरोध जनाएका हुन् ।