२०८० असोज ४ गते १६:२६ विकासन्युज
काठमाडौं । एनएमबि बैंकले ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’को शुभारम्भ गरेको छ । बैंकले बिहीबार एक कार्यक्रमको आयोजना गरी ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ सञ्चालनमा ल्याएको हो ।
हवाई सेवा कम्पनी बुद्ध एयरसँगको सहकार्यमा बैंकले सो कार्ड सञ्चालनमा ल्याएको जनाएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत (सीइओ) सुनिल केसी र बुद्ध एयरका अध्यक्ष विरेन्द्र बहादुर बस्नेतले संयुक्त रुपमा उक्त कार्डको उद्घाटन गरेका हुन् ।
पर्यटन क्षेत्रको विकासमा टेवा पुर्याउने उद्देश्यले कार्ड सञ्चालनमा ल्याएको सीईओ केसीले बताए । उनका अनुसार यदि प्लेन छुट्यो भने अथवा ढिला हुने भयो भने कार्डहोल्डरहरुले निःशुल्क टिकट रद्द गर्न सक्ने व्यवस्था रहेको छ ।
साथै, एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ बाहक ग्राहकहरुले बुद्ध एयरमार्फत् आन्तरिक यात्रा गर्दा थप ५ केजी थप सामान निःशूल्क लिन पाउने छन् । बैंकले लञ्च गरेको उक्त कार्ड जुनसुकै एटिएममा पनि निःशुल्क चलाउन पाउने छन् ।
हाल एनएमबि बैंकको कार्ड प्रयोग गरिरहेका ग्राहकहरुले पनि परिवर्तन गरी ‘एनएमबि बुद्ध भिसा डेबिट कार्ड’ लिन सक्ने व्यवस्था गरिएको बैंकले जनाएको छ ।
को–ब्रान्डेड डेबिट कार्डबाहक ग्राहकहरुले काठमाडौं उपत्यकाभित्र रहेका बुद्ध एयरका काउन्टर एयरपोर्ट, सिनामंगल र जावलाखेलबाट हवाई टिकट खरिद गर्दा हवाई भाडामा १० प्रतिशत छुट पाउने छन् ।
एनएमबि बुद्ध भिसा डेबिट कार्ड प्रयोेग गर्ने ग्राहकहरुलाई शत प्रतिशत भाडा (१ सय प्रतिशत क्यास ब्याक) फिर्ता गर्नु कार्डको मुख्य विशेषता रहेको बैंकले जनाएको छ ।
बुद्ध एयरका अध्यक्ष बस्नेतले एनएमबी बैंकसँगको सहकार्य २६ वर्षअघिदेखी रहेको बताए । चाइनाबाट नेपालमा पैसा ट्रान्सफर गर्न वीच्याटको पनि सुविधा रहेको उनको भनाइ छ । एनएमबि बैंकसँगको सहकार्यले आन्तरिक पर्यटनमा वृद्धि हुने अपेक्षा रहेको उनले बताए ।
बैंकले हाल देशभरी २०१ शखा कार्यालय, १४६ एटिएम मेशिन र १२ एक्सटेन्सन काउन्टरमार्फत् बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.