‘सडक खुलेको आठ वर्ष भइसकेको छ, अहिलेसम्म जस्ताको त्यस्तै छ, पैदल हिँड्न पनि गाह्रो हुने सडकमा गाडी कसरी गुड्छन् ?’, कुँवरले भने, ‘बर्खाको तीन/चार महिना त गाडीनै चल्दैनन्, बाटो अप्ठ्यारो हुँदा गाडी भाडा र सामान ढुवानी गर्दा महँगो रकम तिर्नुपरेको छ । बुर्तिबाङ बजारबाहेक अन्य ठाउँबाट सामान ल्याउनसक्ने अवस्था छैन, सडक छिटो बने बजारबाट ल्याउने सामानको मूल्य सस्तो हुने थियो ।’
ढोरपाटन नगरपालिका–९ का पूर्णबहादुर सुनारले काम नगर्ने निर्माण कम्पनीलाई राज्यले कारबाही गर्न नसक्दा आफूहरुले समस्या खेप्नु परेको बताए । बाह्रै महिना ढोरपाटन घुम्नका लागि आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका भन्दै सडकका कारण दोस्रो पटक नआउने उनको भनाइ थियो ।
बुर्तिबाङदेखि ढोरपाटन देउरालीसम्मको सडक समयमा सम्पन्न भए स्थानीय र पर्यटकलाई सहज हुने सुनारले बताए । सडकका कारण ढोरपाटनमा उत्पादन भएका स्याउ र आलुको बजारीकरणमा समेत समस्या हुने गरेको उनको भनाइ थियो ।
‘यो बाटो खुलेदेखि यहाँ धेरै पटक दुर्घटना भयो, बाटो साँघुरो छ, मान्छेलाई गाडी चड्नै पर्छ, यति ठूलो आयोजनामा किन सरकारले ध्यान नदिए होला ?, हामी धेरै मारमा परेका छौँ, सडक छेउमा रहेको घरमा हिउँदमा धुलो र बर्खामा हिलोले हैरानै बनाउँछ’, सुनारले भने, ‘धेरै किसानले ढोरपाटनमा आलु, स्याउ र सिमी उत्पादन गर्छन्, बजार ल्याउन बोकेर सकिदैन, गाडीमा ल्याउँदा मूल्यभन्दा बढी भाडा तिर्नुपर्ने हुन्छ । बाटो पिच हुन्थ्यो भने एक घण्टामै बुर्तिबाङदेखि ढोरपाटन पुगिन्थ्यो, भाडा पनि सस्तो हुन्थ्यो, बाहिरबाट घुम्न आउने पर्यटकलाई पनि सहज हुने थियो ।’
सडकले बागलुङको निसीखोला र बडिगाड गाउँपालिका तथा ढोरपाटन नगरपालिका गरी तीन पालिका जोडेको छ । बागलुङ बजारदेखि बुर्तिबाङसम्म मध्यपहाडी लोकमार्गको सडकले सहज बनाइ दिए पनि बुर्तिबाङदेखि ढोरपाटन खण्डमा यात्रा गर्न निकै कष्टकर हुने गरेको स्थानीयको भनाइ थियो ।
सरकारले सडक स्तरोन्नतिका लागि रकम विनियोजन गरेको आयोजनाका इञ्जिनियर आचार्यले बताए । गतवर्ष कार्तिकमा बुर्तिबाङ बजारदेखि ढोरपाटन नगरपालिका–९ फल्लेघरसम्म २२ किलोमिटर सडक स्तरोन्नतिका २३ करोडमा ३० महिनामा सक्ने गर्ने गरी सम्झौता भएको उनले जानकारी दिए ।
सडक चौडा गर्ने, नाली निर्माण गर्ने र ग्राभेलिङका लागि निर्माण कम्पनीलाई जिम्मा दिइएको आचार्यको भनाइ थियो । उनका अनुसार निर्माण कम्पनीले केही महिना काममा ढिलाइ गरे पनि अहिले तीव्रता दिइरहेको छ । सडकको ट्र्याक आर्थिक वर्ष २०७२/७३ मा खुलेको उनले जानकारी दिए ।
निर्माण कम्पनीको म्याद अझै एक वर्षसम्म रहेको भन्दै नियमित काम गरे आगामी वर्षसम्म सम्पन्न हुने इञ्जिनियर आचार्यले बताए । निर्माण कम्पनीले पनि समयावधिभित्रै काम सक्ने प्रतिबद्धता जनाएको उनको भनाइ थियो ।
‘हरेक वर्ष यस आयोजनाका लागि बजेट घटिरहेको छ । गत वर्ष ४० करोड विनियोजन भएकामा यसवर्ष १७ करोड मात्रै विनियोजन भएको छ । यति बजेटले कहाँ–कहाँ काम गर्ने ?, अप्ठ्यारा ठाउँमा सजिलो बनाउने काम भइरहेको छ,’ इञ्जिनियर आचार्यले भने, ‘अहिलेसम्म २२ किलोमिटर सडक कालोपत्र भएको छ । बागलुङ खण्डमा भएको कालोपत्र मध्यपहाडी लोकमार्गले गरेको छ ।’ लोकमार्ग र हाम्रो आयोजना एकै ठाउँमा पर्छ । उनले पाँच किलोमिटर कपिलवस्तु, १३ किलोमिटर अर्घाखाँची र चार किलोमिटर बागलुङमा कालोपत्र भएको जानकारी दिए । रासस