२०८० असोज १७ गते ११:०९ विकासन्युज
काठमाडौं । नेपालीहरुको महान पर्व दशैं आउन अब आधा महिना मात्रै बाँकी छ । शहरमा रहेका मानिसहरुले गाउँ फर्कने तरखर गरिरहेका छन् । तर, यातायात व्यवसायीले अग्रिम बुकिङ खोल्न नमान्दा अग्रिम टिकट बुकिङ खुल्न सकेको छैन ।
यातायात व्यवसायीले भाडा बढाएपछि मात्रै दशैंका लागि अग्रिम बुकिङ खोल्नु पर्ने अडान राख्दै आएका छन् । यातायात व्यवस्था विभागसँग व्यवसायीहरुले अहिले बैंकको ब्याजदर बढेकोले भाडा पनि बढ्नु पर्ने र त्यसपछि मात्रै अग्रिम टिकट बुकिङ खोल्नु पर्ने बताइरहेका छन् ।
यातायात व्यवसायी राष्ट्रिय महासंघका उपाध्यक्ष सरोज सिटौलाले अहिले नै अग्रिम टिकट खोल्ने विषयमा कुनै निर्णय नभएको बताए । उनका अनुसार विभागसँग अनौपचारिक छलफल भइरहेपनि निचोड आउन सकेको छैन ।
‘हामीले विभागसँग छलफल गरिरहेका छौं, यो महिनाको अन्तिमतिर खोल्न सकिन्छ कि भन्ने हो, तर सडकको अवस्था नाजुक छ, हामीले सरकारसँग सडक सुधारका लागि माग राखेका छौं, सरकारले जति छिटो सडक सुधार गर्यो, त्यति चाँडै नै अग्रिम टिकट बुकिङ खुल्छ,’ उनले भने ।
विभागले दशैंको एक साताअघि अग्रिम बुकिङ खोल्ने तयारी गरेको बुझिएको छ । प्रत्येक वर्ष चैतमा भाडा समायोजन गर्ने विषयमा सरकारले निर्णय गरे पनि त्यसलाई कार्यान्वयन नगरिएको व्यवसायीकाे भनाइ छ । अहिले सो विषय कार्यान्वयन गर्नु पर्ने माग उनीहरूकाे छ ।
यातायात व्यवस्था विभागका अनुसार पेट्रोलियम पदार्थको मूल्य ५ प्रतिशतभन्दा बढीले वृद्धि भए वा घटे वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार स्वचालित रूपमा भाडा बढ्ने-घट्ने व्यवस्था छ । यसअनुसार गत साउन ३१ मा अन्तरप्रदेश भाडा समायोजन भइसकेको छ ।
सिटौलाका अनुसार मंगलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र यातायात व्यवसायीबीच भेटवार्ता पनि भएको थियो । सो छलफलमा पनि आफुहरुले सडक सुधारको माग राखेको उनको भनाइ छ ।
विभाग भने चाडपर्वको समयमा भाडा बढाउन तयार देखिएको छैन । विभागका अनुसार साउनमा समायोजन भइसकेकोले अहिले भाडा बढाउन आवश्यक देखिँदैन ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.