२०८० असोज १९ गते १०:४६ विकासन्युज
मानिसको शरिरमा लाग्ने धेरै प्रकारका रोगहरुमध्ये पछिल्लो समयमा मिर्गौला रोगीहरुको संख्या दिनप्रतिदिन बढ्दै गएको छ । प्रारम्भिक सजगता अपनाउँदा मिर्गौला सम्बन्धी धेरै रोगहरु नलाग्ने र लागिसकेपछि पनि प्रारम्भिक चरणमा उपचार गर्दा सहज, सस्तो र निको हुने सम्भावना धेरै हुने विशेषज्ञहरुको भनाइ छ । मिर्गौला रोग लाग्नु अगाडिका सावधानी र लागिसकेपछिको गर्नुपर्ने सही जानकारी प्राप्त गर्न नसक्दा धेरै बिरामीहरुले अनावश्यक समस्या झेल्नुपरेको पनि देखिन्छ । प्रस्तुत छ, मिर्गौला सम्बन्धी रोग र खासगरी रोग लागिसकेपछिको अवस्थाका बारेमा सुमेरु अस्पताल धापाखेल ललितपुरका वरिष्ठ कन्सल्टेन्ट, युरोलोजिस्ट तथा मिर्गौला प्रत्यारोपण सर्जन डा. विजयमान प्रधान कटवालसँग गरिएको कुराकानीको सम्पादित अंश :
पछिल्लो समयमा मिर्गौला रोगीहरुको संख्या बढ्दै गएको देखिन्छ, सामान्यतया मिर्गौलामा देखिने समस्यालाई प्रारम्भिक रुपमा कसरी बुझ्न सकिन्छ ?
मिर्गौलाको समस्या भन्ने वित्तिकै हामीले मिर्गौला फेल भएको विषयलाई मात्रै बुझ्ने समस्या देखिन्छ । त्यो होइन, त्यो भनेको मिर्गौला रोगको अन्तिम अवस्था हो ।
समस्या भन्ने वित्तिकै मिर्गौलामा हुने क्यान्सर, मिर्गौलामा हुने पत्थरी, मिर्गौलामा हुने टिवी, मिर्गौलामा हुने साधारण संक्रमण र मिर्गौलामा हुने वंशानुगत डिसअर्डर पनि मिर्गौलामा हुने समस्याहरु हुन् । मिर्गौलामा धेरै प्रकारको रोगहरु लाग्ने गर्छ । त्यसको भिन्दाभिन्दै सिन्ड्रमहरु हुन्छ । हामीले अन्य रोगहरुको उपचार गर्ने प्रकृयामा पनि अल्ट्रासाउन्ड गर्दा मिर्गौलामा लागेका रोगहरुको बारेमा थाहा पाउन सक्छौं । कहिलेकाहीँ पत्थरी लुकेर बसेको हुनसक्छ । टिबी भयो भने पिसाबमा रगत आउने, पिप आउने तथा पिसाब पोल्ने हुनसक्छ ।
क्यान्सर भएको छ भने पिसाबमा रगत आउनसक्छ, छाम्दाखेरी डल्लोजस्तो हुने साइडमा ठूलो हुन्छ । पत्थरी भयो भने पत्थरी पिसाबको नलीमा आएर अड्केर सहनै नसक्नेगरी दुख्ने पनि हुन्छ । साथै वंशानुगत समस्याले पनि मिर्गौलामा समस्या देखिन सक्छ ।
केही तथ्यांकहरुले विकसित मुलुकमा प्रौढ अवस्थामा मात्रै धेरै मानिसहरुलाई मिर्गौला रोग लाग्ने देखाएको छ भने नेपालमा युवा अवस्थामा नै त्यस्ता रोगीको संख्या बढी देखिएको छ, तपाईंहरुले यसलाई कसरी हेरिरहनुभएको छ ?
विकसित मुलुकहरुमा मानिसहरुले आफ्नो नियमित स्वास्थ्य जाँच गर्छन् । जसको खर्च बीमाले कभर गर्छ । वर्ष-वर्ष दिनमा अनिवार्य रुपमा सबैले स्वास्थ्य जाँच गर्ने गर्छन् । तर, नेपालमा भने साधारण स्वास्थ्य जाँच गर्न जाँदा पनि हाम्रो पैसा खर्च गर्नुपर्ने हुन्छ । हाम्रो पुरै शरिरको जाँच गर्दा १५/२० हजार रुपैयाँ खर्च हुन्छ । साधारण नेपाली परिवारमा यो खर्च गरेर स्वास्थ्य जाँच गर्ने विषयमा समस्या पनि छ ।
रोग लागिसकेपछि डाक्टरकोमा जाने कारणले गर्दा पनि रोगलाई निको गराउन गाह्रो हुन्छ, तर शुरुवाती अवस्थामा पत्ता लगाउन सकियो भने रोगलाई नियन्त्रण गर्न सकिन्छ । कुनैपनि रोग वर्षमा एक पटक पत्ता लाग्नु र ४/५ वर्षमा एकपटक पत्ता लाग्नुमा फरक हुन्छ । ढिलो पत्ता लाग्दा रोग निको नै नहुने अवस्थामा पुगिसकेको हुन्छ ।
मिर्गौलाको रोग यस्तो हुन्छ की हामीलाई लागेको नै थाहा हुँदैन । हाम्रो मिर्गौला ७० प्रतिशत नबिग्रने बेलासम्म रोग लागेको थाहा नै हुँदैन । त्यतिबेलासम्म खानाको रुची भइरहेको हुन्छ, पिसाब राम्रोसँग आइरहेको हुन्छ । त्यसपछि ७०/८० प्रतिशत बिग्रेपछि मात्रै भोक कम लाग्ने, पिसाब कम आउने जस्तो समस्या देखिन थाल्छ ।
मिर्गौला रोग लागिसकेपछि उपचार गर्ने कार्य महंगो र बोझिलो देखिन्छ, मिर्गौलालाई रोगबाट नै बचाउन जीवनशैली र खानपानमा आधारभूत कस्तो ख्याल राख्दा सम्भव छ ?
यो कारणले पत्थरी बन्छ भन्ने छैन, सामान्यतया गर्मी ठाउँमा बस्ने र पसिना धेरै आउने मानिसले पानी कम पिउने गर्छ भने त्यो मान्छेलाई पत्थरी बढी भएको देखिन्छ । मिर्गौला सामान्य भएको मानिसले पानी र झोलिलो पदार्थ २४ घण्टामा ३ देखि ४ लिटर खायो भने मिर्गौलाको धेरै रोगबाट बच्न सकिन्छ ।
त्यसपछि, रक्तचाप वा मधुमेहको कारणले मिर्गौला धेरै बिग्रेको देखिन्छ । हामीले रक्तचाप र मधुमेहलाई नियन्त्रणमा राख्न सक्यौं भने पनि मिर्गौला फेल हुने समस्याबाट बच्न सकिन्छ । अर्को समस्या पिसाबबाट प्रोटिन लस हुने हुन्छ, अन्य मेडिकल रोगहरु हुन्छन्, जसलाई लागेको शुरु अवस्थाबाटै थाहा पाउन सकियो भने निको बनाउन सकिन्छ ।
हामीसँग भएका दुइवटा मिर्गौला एकैपटक फेल हुन्छन् की हामीले दुईवटै बिग्रेपछि मात्रै थाहा पाउँछौं ?
यदि पत्थरीको कारण मिर्गौलामा समस्या भएको छ भने जुन मिर्गौलामा पत्थरी भएको छ त्यसलाई उपचार गरेमा निको हुन्छ । तर, पत्थरी दुईवटै मिर्गौलामा भयो भने समस्या हुन्छ । यस्तो समस्या निकै कमलाई हुन्छ । केही विरामीहरु दुईवटै मिर्गौलामा पत्थरी भएर बिग्रेपछि आएको पनि देखिन्छ ।
अन्य कारणले बिग्रने भनेको शरिरमा रगतमा फोहोर भएर दुईवटै मिर्गौलाले एकैपटक छान्नुपर्ने अवस्थामा साधारण भाषामा भन्दा मिर्गौलाको फिल्टरका प्वालहरु टालिदै गएर फोहोर नछानिने अवस्थामा मिर्गौला फेल हुनसक्छ । मधमेह र उच्च रक्तचाप छ भनेपनि विस्तारै–विस्तारै दुवै मिर्गौलाहरु एकैपटक बिग्रदै जाने अवस्था हुन्छ ।
हामीले हेर्दापनि समस्या भनेको मिर्गौला फेल भएकाहरुको मात्रै देखिरहेका हुन्छौं, किनभने अन्य सामान्य रोग लागेको अवस्थालाई महत्व दिइँदैन । मिर्गौलाको निको नहुने रोग लाग्ने भनेकै फेल हुने हो ।
क्यान्सर भयो भने कि उपचार हुन्छ, कि रोगीको मृत्यु हुन्छ । त्यस्तै मिर्गौला फेल हुने भनेको क्रोनिक रोग हो । जुन लागिसकेपछि गर्ने उपचारमा सबैलाई थाहा हुन्छ । मिर्गौलाको रोग लागिसकेपछि फेल हुने भनेको ५ देखि १० प्रतिशत मात्रै रहेको देखिन्छ ।
मिर्गौला बिग्रिसकेपछि वा फेल भइसकेपछि कुन उपचार पद्दती प्रयोग गर्दा उपयुक्त हुन्छ ?
मिर्गौला फेल भइसकेपछि तुरुन्तै बाँच्ने उपाय भनेको डाइलासिस हो, जुन अस्थायी उपचार हो । यो भनेको कृत्रिम प्रकृयाद्वारा रगत छान्ने हो । तर, स्थायी समाधान भनेको प्रत्यारोपण नै हो । यदि प्रत्यारोपण गर्ने हो भने साधारण मान्छे जस्तै जिउन सकिन्छ । त्यसैले उत्तम विकल्प भनेको मिर्गौलाको प्रत्यारोपण नै हो ।
डाइलोसिस भनेको पनि दुई प्रकारको हुन्छ । पेरिटोरियल डाइलासिस जुन पेटबाट गर्न सकिन्छ, अर्को हेमोडाइलोसिस हुन्छ, जुन रगत छान्ने काम गरिन्छ । हेमोडाइलोसिस अस्पताल आएर मात्रै गर्न सकिन्छ, जुन सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको छ । हप्ताको दुई पटक गर्नुपर्ने हुन्छ ।
पेरिटोरियल डाइलासिस भनेको मिर्गौलाले २४ सै घण्टा काम गरेजस्तै आठ-आठ घण्टामा घरमा आँफै बसेर गर्न मिल्छ । यो रगतमा नभएर पेटमा गर्ने हो । यसमा प्रयोग हुने पानी पनि सरकारले निःशुल्क रुपमा उपलब्ध गराएको छ । यो डाइलासिस गर्दा बिरामीले स्वयं आफैले आफ्नो काम गर्दै गर्न सक्छ । साथै उसलाई पानी र खाना खान पनि समस्या हुँदैन । तर, रगतबाट गर्ने डाइलासिसमा पानी खान मिल्दैन
यी दुईवटा डाइलासिस मध्ये पेरिटोरियल डाइलासिस बिरामी र उसको परिवारको लागि सहज देखिन्छ । साथै हेमोडाइलासिस गरेको बिरामी भन्दा पेरिटोरियल गरेको बिरामी हेर्दापनि बढी स्वस्थ देखिन्छ ।
तपाईं मिर्गौला प्रत्यारोपणको क्षेत्रमा काम गर्नुभएको सफल चिकित्सक पनि हुनुहुन्छ, मिर्गौला रोगी र आफन्तहरुले प्रत्यारोपणको विषयमालाई कसरी बुझ्नुपर्छ ? सामान्यतया विद्यमान कानूनअनुसार प्रत्यारोपणको लागि कसरी अगाडि बढ्न सकिन्छ भन्ने सल्लाह दिनुहुन्छ ?
संसारभरी नै अंग किनबेच गर्न पाईंदैन । सरकारले बनाएको कानून एकदम ठिक छ । त्यसैले आफ्नो परिवारका सदस्यबीचमा समस्याको आधारमा एकले अर्कोलाई दिने गर्दा किनबेच हुने सम्भावना हुँदैन । कहिलेकाहीँ एउटै परिवारभित्रका सदस्यमध्ये एकले अर्कोलाई मिर्गौला दिन खोज्दा पनि नमिल्न सक्छ । त्यसैले त्यस्तो अवस्थामा समस्या भएका दुई परिवारबीचमा साटासाट गर्न सकिन्छ । त्यो भनेको आफ्नै परिवारको सदस्यालाई दिएको बराबर नै भयो ।
रगतको ग्रुप नमिलेपछि आफ्नो परिवारको सदस्यलाई दिन मिल्दैन र त्यस्तै रगतको ग्रुप नमिलेपछि अर्को परिवारको सदस्यले पनि उसको परिवारको सदस्यलाई दिन नमिलिरहेको हुन्छ । तर, त्यस्तो अवस्थामा एक अर्को परिवारका सदस्य बीचमा मिल्दा साटासाट गर्न सकिन्छ । नेपालमा नै यस्तो अभ्यास सयौं भइसकेको छ ।
मिर्गौला प्रत्यारोपण गरिसकेपछिको नियमित औषधि सेवन र स्वस्थ रहने विषय कत्तिको खर्चिलो र सहज छ ?
हो । पैसा नै छैन भने प्रत्यारोपण गरेर मात्रै हुँदैन । पैसा कमाउन सकिने स्थिति हुनुपर्छ । प्रत्यारोपण गरेको शुरुमा महिनाको ३० देखि ४० हजार रुपैयाँसम्म औषधिको लागि खर्च हुन्छ । जुन ३/४ महिनासम्म खर्च हुन्छ ।
अप्रेसन गरिसकेपछि सरकारले पनि दुई लाख दिन्छ । केही पछि सँधैका लागि महिनाको १० देखि १५ हजार औषधिको लागि छुट्याउनै पर्छ । तर, प्रत्यारोपण गरिसकेपछि काम गरेर पैसा कमाउन पनि सकिन्छ भने सरकारले पनि उपचारको लागि महिनाको पाँच हजार दिने व्यवस्था पनि गरेको छ । जसले गर्दा खर्च गर्न गाह्रो नहुन पनि सक्छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.