२०८० असोज २२ गते १५:४० विकासन्युज
काठमाडौं । अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले ‘कालो अक्षर, रातो अक्षर’ नामक नाटक प्रदर्शन गरिरहेको छ । अनेरास्ववियुले असोज १७ देखि २७ सम्म काठमाडौंको बत्तिसपुतलीस्थित शिल्पी थिएटरमा नाटक प्रदर्शन गरिरहेको हो ।
नाटकमा शिक्षामा भइरहेको निजीकरण र शैक्षिक माफियाहरूको चलखेलको विषय समेटिएको छ । वर्तमान शिक्षा प्रणालीका समस्या, त्यसमा विद्यार्थी नेताहरुले गरिरहेको आन्दोलन र त्यो आन्दोलनलाई असफल पार्न शिक्षा माफिया र राजनीतिक दलका उच्च पदस्थ नेताहरुको साँटगाँठका विषय प्रष्ट गर्न खोजिएको छ । आन्दोलनबाट कुनै पार नलागेपछि कामको खोजीमा भौतारिँदै विदेशिने विद्यार्थीको मार्मिक कथावस्तु पनि नाटकमा देखाइएको छ ।
नाटकका लेखक आरके रोमसले देशको वर्तमान शिक्षा प्रणालीमा भइरहेको बेथिती, त्यसमा विद्यार्थीहरुले उठाएको आवाज र विद्यार्थीको आवाजलाई दबाउन खोज्ने पात्र र प्रवृतिको विषय नाटकमा देखाउन खोजिएको बताए ।
उनले विद्यार्थीहरुले देशमा जति नै क्रान्ती तथा आन्दोलन गरेपनि त्यो आन्दोलन तुहाउन अनेकौं प्रयासहरु हुने र अन्नतः विद्यार्थी निराश हुँदै आफ्नो भविश्य खोज्दै विदेशिन बाध्य हुने वर्तमान परिपाटीलाई जस्ताको त्यस्तै नाटकमा देखाउने प्रयास गरिएको धारणा राखे । कुनै र कसैमाथि कुनै पूर्वाग्रह नराखेर नाटक मञ्चन भएको उनको भनाइ छ ।
नाटकमा केही विद्यार्थीहरु शिक्षा माफियाकै साँटगाँठमा लागेर बिचमै क्रान्ति छोडेको विषयवस्तु पनि देखाइएको छ । तर, केही विद्यार्थीहरु भने आफ्नो कर्ममा नियमित लागेको देख्न सकिन्छ ।
अधिकांश राजनीतिक दलका नेताहरुले पनि नाटक हेरिरहेका छन् । उनीहरुले पनि ‘कालो अक्षर, रातो अक्षर’ नाटक वर्तमान शिक्षा प्रणालीको ऐना रहेको प्रतिक्रिया दिने गरेका छन् ।
नाटकमा लेखन आर के रोमस , परिकल्पना समिक बडाल र निर्देश दिलीप खड्का र सह–निर्देशक खिलकुमार राईको रहेको छ । नाटकमा अनुप न्यौपाने, दिपेश काफ्ले, बालकृष्ण रिजाल, मिलन कार्की, योगिन राई, रेनु नाथ योगी, रमिला मोक्तान, संगिता थापा, सञ्जिब राई, सुजैन सिलवाल, सुदिप खड्का र शान्ता मोक्तानलाई कलाकारको भूमिकामा देख्न सकिन्छ ।
Copyright © 2025 Bikash Media Pvt. Ltd.