२०७३ मंसिर २१ गते ११:५९ विकासन्युज
काठमाडौं, २१ मंसिर । सुनचाँदी व्यवसायीहरुले सुनको गर–गहना बनाउँदा ज्यालामा मात्र होइन, जर्तीमा पनि खुला रुपले लिन पाउने माग राखेका छन् । प्रतिस्पर्धी बजारमा उपभोक्ताले आफूले चाहेको व्यवसायीसँग गर–गहना किन्न सक्ने भएकाले उनीहरुले यस्तो माग राखेका हुन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका नव अध्यक्ष मोहनकुमार सुनारले सरकारले पारित गर्ने तयारी गरिरहेको निर्देशिकामा गहना निर्माण गरे वापत ज्याला खुला रुपले लिन पाउने व्यवस्था गर्न लागिए पनि जर्ती भने पाँच प्रतिशतसम्ममात्र राख्न पाउने व्यवस्था सरकारले गर्न लागेको छ ।
उनीहरुले बढी बुट्टा भएका गहनामा बढी जर्ती जाने भएकाले गहनाको मोडेल अनुसार जर्ती काट्न पाउनुपर्ने माग राखेका हुन् । ‘हामी उपभोक्तालाई शतप्रतिशत शुद्ध र गुणस्तरीय अर्थात हलमार्क अंकित २४ क्यारेटका गहना दिन्छौ,’ सुनारले भने ‘ज्याला र जर्तीमा सरकारले अंकुश लगाउन पाउँदैन । ‘हामीले हाम्रो व्यवसाय सहज ढंगबाट सञ्चालन गर्ने वातावरण मिलाउने काम सरकारको हो, आठ÷नौ प्रतिशत जर्ती राखेर त काम अप्ठ्यारो पर्छ,’ उनले थपे ।
हाल नेपालमा वर्षमा अर्बौको सुनचाँदी कारोबार हुने गरेको छ । तर, पनि व्यवसायीहरुले यी आयातित कच्चा पदार्थमा आधारित व्यवसायमा मूल्य अभिवृद्धि गरेर विक्री गर्न सक्ने प्रशस्त मार्गहरु हुँदा हुँदै पनि परम्परागत शैलीमै अल्झिरहेको छ ।
नेपालमा सुनचाँदीमा कार्यरत कालिगढमा भारतीय कालिगढको रहेको छ । नेपालभित्र दक्ष जनशत्तिको अभावका कारण वार्षिक १ अर्ब रुपैयाँ वाहिरी रहेको महासंघका वरिष्ठ उपाध्यक्ष माणिक रत्न शाक्यले बताए । नेपालमै यस सम्बन्धी तालिम दिनका लागि करिब ४ वर्षअघि ‘नेगोसिडा’ स्थापना गरिएपछि नेपालमै सुनचाँदीमा निर्माण गर्ने दक्ष कालिकढ उत्पादन हुन थालेको उनले बताए । ‘नेगोसिडा स्थापनापछि ७० प्रतिशत रहेको भारतीय कालिगढको बचस्व घटेर ५० प्रतिशतमा सीमित भएको उनले बताए । यो व्यवसायमा हाल डेढ लाखले रोजगारी पाइरहेका छन् भने १० लाख आवद्ध रहेका छन् । ‘केही समय अघि चीनबाट नेपालमा गर–गहना निर्माण गर्नका लागि केही प्राविधिक कालिगढ आएपनि उनीहरुले नेपाली बजारको माग अनुसार गहना निर्माण गर्न नसक्दा फर्किएको शाक्यले बताए ।
सुनचाँदी व्यवसायी महसंघमा नयाँ नेतृत्व
नेपाल सुनचाँदी व्यवसायी महासंघमा नयाँ नेतृत्व आएको छ । महासंघको चौथो वार्षिक साधारण सभा एवम् दोस्रो अधिवेशनले महासंघका वरिष्ठ उपाध्यक्ष विश्वकर्मालाई निर्विरोध अध्यक्षमा नयाँ नेतृत्व चयन गरेको हो । महासंघको चौथो साधारणसभावाट महासंघको अध्यक्षमा मोहनकुमार विश्वकर्मा निर्र्वािचत भएका छन् । उनी विगत तीन दशकदेखि महासंघ केन्द्रमा आवद्ध थिए । समग्र सुनचाँदी व्यवसाय हितको लागि प्रतिवद्ध भएर महासंघको लक्ष्य र उद्देश्य अनुरुप काम गर्ने उनले बताए । ‘सुनचाँदी व्यवसायको खरिद विक्री कारोबारमा देखिएको समस्या समाधान गर्नु मेरो लक्ष्य हुनेछ,’ उनले भने ।
यसैगरी, महासंघको वरिष्ठ उपाध्यक्षमा माणिकरत्न शाक्य र महासचिवमा धर्मसुन्दर बज्राचार्य निर्विरोध निर्र्वािचत भएका छन् । त्यसैगरी, महासंघको उपाध्यक्षमा अर्जुन रसाइली, दीयसरत्न शाक्य, प्रेमकुमार सुनार, मोहनकाजी शाक्य र ज्ञानुराज शाक्य निर्विरोध भएका छन् । यस्तै, सचिवमा किरणभाइ बज्राचार्य, कोषध्यक्षमा महेन्द्ररत्न शाक्य र सहकोषध्यक्षमा किसन मास्के र अन्य सदस्यहरूसमेत निर्विरोध निर्र्वािचत भएका छन् । महासंघमा ३५ सदस्यीय कार्यसमिति बनेको छ ।
Copyright © 2024 Bikash Media Pvt. Ltd.